तेस्रोे लहरको संकेत, एक सातामै चार गुणा बढ्यो कोरोना संक्रमणदर।

माघको पहिलो हप्ताबाट अग्रपंक्तिमा काम गर्ने र ६० वर्षभन्दा माथिकालाई ‘बुस्टर डोज’ दिइने

[ डिबी शर्मा ] 

काठमाडौं:= नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढ्दै गएको छ । पछिल्लो दुई दिनमा मात्रै देशभर करिब दुई हजार जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । शनिबार र शुक्रबार गरी एक हजार ९१२ जनामा कोभिड संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार शनिबार ९४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । १३ हजार २६४ जनामा परीक्षण गर्दा ९४४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शनिबार २९७ जना कोरोना संक्रमणमुक्त भएका छन् । शुक्रबार र शनिबार कुनै कोरोना संक्रमितको मृत्यु भने भएन । शुक्रबार ९६४ जनामा संक्रमण पुष्टि भएको थियो । बिहीबार ५४०, बुधबार ४३५ र मंगलबार ३९३ जनामा संक्रमण पुष्टि भएको थियो ।

आइतबार कोरोना संक्रमण हुनेको संख्या २१६ मात्रै थियो । पछिल्लो एकसाताको यो तथ्यांकले पनि नेपालमा कोरोना संक्रमण बढ्दै गएको देखाउँछ । पुस २० गतेसम्म दुई सय माथि रहेको संक्रमितको संख्या एकसता पनि नबित्दै हजार नजिक पुगेको हो । कोरोनाको बढ्दो ग्राफले संक्रमणदर क्रमशः बढ्दै जाने संकेत गर्दछ । संक्रमणदर बढ्दै गएसँगै कोरोनाको तेस्रो लहर सुरु हुने चिन्ता थपिएको छ ।

भारतमा ओमिक्रोन भेरियन्टको संक्रमण उच्च दरमा वृद्धि भइरहेका बेला नेपालमा पनि कोरोना संक्रमण बढ्न थालेको हो। नेपालमा शुक्रबार २४ जनामा कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको थियो । नेपालमा पहिलोपटक कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट मंसिर २० गते दुई विदेशी नागरिकमा पुष्टि भएको थियो। कोरोना संक्रमण दर बढेसँगै सक्रिय संक्रमितको संख्या पनि बढ्न थालेको छ । शनिबारसम्म देशभर ६ हजार १४० जना सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

उपत्यकाका तीन जिल्लाका सिडियोको बैठक बस्दै 

कोरोना भाइरस संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्ने भएको छ । संक्रमणको ग्राफ बढ्दै गएपछि उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठक बस्न लागेको हो ।

आइतबार तीन जिल्लाको डिसिसिएमसीको बैठकपछि तीन जिल्लाका सिडियोको बैठक बस्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिनुभयो । शुक्रबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्र समन्वय समिति (सिसिएमसी) को निर्देशनबारे बैठकमा छलफल हुने उहाँले बताउनुभयो ।

माओवादी अध्यक्ष प्रचण्ड, नेता नारायणकाजीलाई कोरोना संक्रमण

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण देखिएको छ । शुक्रबार साँझ पिसिआर परीक्षण गर्दा प्रचण्डमा कोभिड पोजेटिभ पाइएको उहाँको निजी सचिवालयले जानकारी दिएको छ । प्रचण्ड अहिले आफ्नै निजी निवासमा होम आइसोलेसनमा रहेको सचिवालयको भनाइ छ । प्रचण्डले दुई दिन अघिदेखि नै भेटघाट बन्द गर्नुभएको थियो । यस्तै, नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना पुष्टि भएको छ ।

नेता श्रेष्ठले आफूलाई कोरोना पुष्टि भएको जानकारी दिनुभएको छ । उसो त अध्यक्ष दाहाल र नेता श्रेष्ठलाई मात्रै होइन माओवादीका अन्य केही नेताहरूमा समेत कोरोना भाइरसको संक्रमण देखिएको छ । केन्द्रीय सदस्य सुबोध श्रीपालीलाई पनि कोरोना संक्रमण देखिएको छ भने प्रचण्डकै स्वकीय सचिव रमेश मल्ललाई पनि कोरोना पुष्टि भएको छ ।

माओवादी केन्द्रीय कार्यालयका दुईजनाबाहेक सबैलाई कोरोना भाइरस संक्रमण भएको छ । केही दिनअघि मात्रै आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको माओवादीका धेरै नेता कन्ट्र्याक ट्रेसिङमा परेका छन् । माओवादीले पुस ११ देखि १८ गतेसम्म प्रज्ञा भवन कमलादीमा महाधिवेशन गरेको थियो । पर्याप्त स्वास्थ्य मापदण्ड पालना हुन नसकेको माओवादीको सोही महाधिवेशनपछि नेताहरूमा धमाधम कोरोना संक्रमण देखिन थालेको छ ।

प्रधानमन्त्री देउवा आइसोलेसनमा 

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि आइसोलेसनमा बस्नुभएको छ । देउवा शनिबारदेखि होम आइसोलेसनमा बसेको उहाँको सचिवालयले जनाएको छ । शुक्रबार कोरोना संक्रमण पुष्टि भएका प्रचण्डसँग देउवाको भेटघाट भएकाले प्रोटोकलअनुसार उहाँ आइसोलेट हुनुभएको हो ।

दुई दिनअघि बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा देउवा र प्रचण्डँग सँगै रहनुभएको थियो । भेटघाट भएको भोलिपल्टै प्रचण्डमा कोरोना पुष्टि भएपछि देउवालगायत अन्य नेताहरू पनि कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् । प्रधानमन्त्री देउवाले शनिबार बिहान एमाले अध्यक्ष केपी ओलीको निवास बालकोट पुगेर भेटवार्ता गर्नुभएको थियो ।

अग्रपंक्तिमा काम गर्ने र ज्येष्ठ नागरिकलाई अतिरिक्त खोप

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ दोस्रोे सातादेखि अग्रपंक्तिमा काम गर्ने र ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको अतिरिक्त खोप दिइने भएको छ । अग्रपंक्तिमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र ६० वर्षमाथिका सबैलाई अतिरिक्त थप एक मात्राको खोप लगाउने मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार सम्भावित कोरोना भाइरसको तेस्रो लहरलाई दृष्टिगत गर्दै थप एक मात्रा दिन थालिएको हो । कोभिड-१९ खोप सल्लाहकार समितिको सिफारिसमा मन्त्रालयले थप एक मात्रा खोप दिन थालेको उहाँले बताउनुभयो ।

कोभिड-१९ विरुद्धको पूर्ण खोप लगाएको तीन महिना पुगेका अग्रपंक्तिमा रहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वास्थ्यसंस्थामा काम गर्ने कर्मचारी, सरकारी निकायमा काम गर्ने कर्मचारीले तेस्रो मात्राको खोप पाउनेछन् ।

यस्तै, कोभिड-१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, मध्यम तथा गम्भीर रूपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति सक्रिय क्यान्सरका रोगी, अंग प्रत्यारोपण गरेका बिरामी, एचआइभी भएका बिरामी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरिरहेका बिरामीलाई पनि अतिरिक्त मात्रा खोप दिइने उहाँले बताउनुभयो।

यसअघि गम्भीर प्रकृतिका रोग भएका बिरामी र रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई अतिरिक्त मात्रा खोप एकदिन मात्र लगाएर स्थगित गरिएको थियो । मन्त्रालयले राष्ट्रिय खोप अभियान दु्रत गतिमा सञ्चालन गरेर यही पुस मसान्तभित्रमा लक्षित सबैलाई खोप लगाउने तयारी गरेको छ ।