नेपाली भर्सनको टिभी सिरिज ‘क्राइम पेट्रोल’को प्रिमियर सम्पन्न।

काठमाडौं:= भारतको टिभी सिरिज ‘क्राइम पेट्रोल’को नेपाली फ्रेन्चाइजको प्रिमियर गरिएको छ । कलाकार दीपकराज गिरीले होस्ट गर्ने यस टिभी सिरिज ग्यालेक्सी फोके टेलिभिजनबाट प्रसारण हुँदैछ ।

शुक्रबार राजधानीको बिग मुभिजमा रंगपत्रकार तथा फिल्मकर्मी माझ सिरिज प्रिमियर गरिएको हो । टेलिभिजनबाट प्रसारण गर्नु पूर्वसिरिजको प्रचारप्रसार गर्ने उद्देश्यले निर्माण युनिटले यसको प्रिमियर गरेको हो । सिरिज विशाल सापकोटाले निर्देशन गर्नुभएको हो । सिरिज आगामी बुधबारदेखि ग्यालेक्सी फोरके टिभीबाट प्रसारणमा आउने जानकारी गराइयो ।

कार्यक्रममा कलाकार दीपकले सिरिजको होष्ट आफ्नो सिक्ने प्रयास रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘खोलभन्दा चाउचाउ स्वादिष्ट हुनुपर्छ । म खोलमात्र हुँ । चाउचाउ सिरिज हो।’ टेलिभिजनका प्रबन्ध निर्देशक र रवि लामिछानेले गुणस्तरीय कार्यक्रम उत्पादन गर्ने क्रममा सिरिज ल्याउन लागेको बताउनुभयो ।

‘क्राइम पेट्रोल’ सम्पदा मल्ल र उहाको टिमले निर्माण गर्न लागेको हो । सोनी टिभीमा प्रसारण भएको यो शृंखलाको केही भागसमेत लेखन गर्नुभएकी मल्लले ‘क्राइम पेट्रोल’मा लेखनको अलवा क्रिएटिभ प्रोडुसरको जिम्मेवारीसमेत निर्वाह गर्नुभएको छ ।