बंगलोर := भारतको दक्षिणी राज्य कर्नाटकमा पनि सप्ताहन्तमा कर्फ्यू लगाइने भएको छ । कोरोना संक्रमण फेरि तीव्र रूपमा बढन थालेपछि यसको रोकथाम र नियन्त्रणका लागि कर्फ्यू लगाइने भएको हो ।
यसअघि नयाँदिल्लीमा साताको दुई दिन शनिबार र आइतबार कर्फ्यू घोषणा गरिएको छ । रात्रीकालीन कर्फ्यू जारी रहेकै बेला साताको दुई दिन कर्फ्यू लगाइएको हो । यस्तै कोभिड संक्रमितको संख्या बढेसँगै कर्नाटकमा सप्ताहन्तमा कर्फ्यू घोषणा गरिएको हो ।
कर्फ्यू शुक्रबार राति ११ बजेदेखि सोमबार बिहान ५ बजेसम्म जारी हुने जनाइएको छ । कर्नाटकमा अहिले पनि रात्रिकालीन कर्फ्यू भने यथावत् नै छ । कर्फ्यूको समयमा सार्वजनिक यातायात, होटललगायत अत्यावश्यक सेवा भने सञ्चालन हुने कर्नाटक सरकारले जनाएको छ ।
यसअघि उत्तर प्रदेशमा पनि रात्रिकालीन कर्फ्यू लगाइएको थियो । भारतमा नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै कोभिड संक्रमितको संख्या हृवात्तै बढेको छ । पछिल्ला दिनमा विश्वका विभिन्न ठाउँमा फेरि कोरोना भाइरस (कोभिड-१९) संक्रमण बढ्दै गएको छ ।




















