काठमाडौं:= नेपाली संगीत क्षेत्रमा करिब पाँच दशदेखि निरन्तर योगदान दिएको भन्दै संगीत रत्न वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटालाई जीवन्त योगदान संगीत सम्मान-२०७८ बाट सम्मानित गरिएको छ । उहाँलाई ५१ हजार १५१ रुपैयाँसहित दोसल्ला ओढाएर सम्मानित गरियो । उहाँलाई अग्लेश्वरी हिल्स विकास कोषको आयोजनामा काठमाडौंमा सम्पन्न पहिलो ‘जीवन्त नेपाल म्युजिक अवार्ड-२०७८’मा उक्त सम्मान गरिएको हो ।
नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, उपाध्यक्ष मोहन निरौला, नेकपा एमालेका केन्द्रीय सदस्य माधव ढुंगेल, नायक पल शाह, आयोजक संस्था अग्लेश्वर हिल्स विकास कोषका अध्यक्ष सिजम सिञ्जालीसहित विभिन्न व्यक्तिले उहाँलाई सो सम्मानबाट सम्मानित गर्नुभएको हो ।
‘माथि माथि सैलुँगेमा…’गीतका सैलुङ क्षेत्रको प्रचारप्रसारका लागि योगदान दिएको भन्दै अग्रज संगीतकार शिलाबहादुर मोक्तान, गायिका कुन्ती मोक्तान र गीतकार श्रवण मुकारुङलाई नगदसहित ‘विशिष्ट योगदान संगीत सम्मान-२०७८’बाट सम्मानित गरियो ।
यस्तै आ–आफ्नो क्षेत्रमा योगदान पुर्याएको भन्दै कार्यक्रममा अग्रज पत्रकारद्वय विदुर गिरी र मनोहरि थापा, संगीतकार मिलन मोक्तान, गीतकार डा.डिआर.उपाध्याय, गायक सुरज पौडेल, गायिका धनकुमारी थापा ‘सुरु’, विद्या तिवारी, लेखक शंकर तिवारी, मेकअप आर्टिष्ट गीता शाहलाई सम्मानित गरियो । सो समारोहमा विभिन्न ३८ विधामा ‘जीवन्त नेपाल संगीत सम्मान-२०७८’ प्रदान गरिएको थियो ।




















