५० लाख खर्च गरेर कालिजपालन, बच्चा उत्पादनदेखि रेष्टुरेण्टसम्म खोल्ने योजनामा युवा।

[ विवेक खड्का ] 

दाङ:= दाङमा एक युवाले करिब आधा करोड रुपैयाँ खर्च गरेर व्यावसायिक कालिज पालनमा लागेका छन् । पश्चिम रुकुम मुसिकोट नगरपालिका–४ सोलाबाङ निवासी मेघराम खड्काले करिब ५० लाख रुपैयाँ खर्च घोराही उपमहानगरपालिका–१७ कर्जाहीमा एमके मल्टिप्रपोज प्रालिमार्फत कालिज पालनदेखि बच्चा उत्पादन गर्दै आउनुभएको छ ।

एक बर्षअघि कालिजपालनमा लागेका उहाँले अहिले फर्ममा कालिज पालनदेखि ह्याचरीमार्फत बच्चा उत्पादन, कालिजकै परिकार पाइने कालिज रेष्टुरेष्ट सञ्चालन गर्ने तयारीमा जुट्नुभएको छ । रेष्टुरेष्टका लागि घोराहीमा तयारी भइरहेको उहाँले वताउनुभयो । ‘कालिज फर्मदेखि बच्चा उत्पादनको काम भइरहेको छ । अब कालिजको मात्र विभिन्न परिवार पाइने गरी रेष्टुरेष्ट खोल्ने तयारी भइरहेको छ’, उहाँले भन्नुभयोे– ‘यता व्यवसायलाई सर्पोटसँगै कालिजको मासु खाने इच्छुकलाई सहज समेत हुनेछ ।’ उहाँले अन्य व्यवसायभन्दा केही फरक व्यवसाय गराँै भन्ने सोच र सानैदेखि कालिजप्रतिको आकर्षणले गर्दा आफूले कर्जाहीमा २ बिगाह जमिन भाडामा लिएर व्यावसायिक कालिजपालनमा लागेका खड्काले बताउनुभयो ।

विदेश जाने सोच भए पनि लकडाउनका कारण उड्न नपाएपछि व्यवसायमा लागेको उहाँले बताउनुभयो । ‘आफूले पनि कृषि पढेकाले स्वदेशमै केही गराँै भन्ने थियो तर अष्ट्रेलिया जाने तयारीमा थिए’, उहाँले भन्नुभयोे, ‘त्यही समयमा लकडाउन भयो । विदेश जाने भएन अनि त्यही पैसा यता लगानी गरेँ ।’ उहाँले बार्षिक एक लाख बढी भाडा तिर्ने गर्नुभएको छ । फर्ममा कालिजसँगै लौकाट, कडकनाथ, लोकल कुखुरा, बाख्रापालन र तरकारी उत्पादनको काम गर्दै आउनुभएको छ । व्यवस्थापन संकायबाट प्लस टुसँगै एग्रीकल्चर विषय अध्ययन गरेका खड्का व्यवसायबाट सन्तुष्ट रहेको बताउनुभयो । ‘कृषि विषय पढ्दै गर्दा अष्ट्रेलिया जाने तयारीमा थिएँ । त्यसै बेला लकडाउन भयो । अनि नेपालमै केही गर्नुपर्छ भनेर योजना बनाउँदै जाँदा कालिज पालनमा लागेको हुँ’, उहाँले भन्नुभयोे– ‘अहिले कालिज पालनसँगै बच्चा उत्पादनका लागि ह्याचरी सञ्चालनमा छ । राम्रो भइरहेको छ । आफ्नो कामदेखि सन्तुष्ट छु ।’ करिब पाँच महिनाको बीचमा १२ लाखसम्मको कालिजहरु बिक्री गरेको उहाँले वताउनुभयो । फर्ममा उत्पादन भएका कालिज दाङ जिल्लासहित बुटवल, कैलाली, काठमाडाँैलगायतका ठाउँसम्म पठाउने गर्नुभएको छ । फर्ममा दुईजनालाई रोजगारी समेत दिनुभएको छ ।

उहाँको फर्ममा कालिजका बच्चा उत्पादनका लागि ह्याचरी मेसिनसँगै दाना मेसिनसमेत आफ्नै राख्नुभएको छ । त्यसैगरी कालिजका लागि बर्सिम, जै, नेपियरलगायतको घाँस खेतीसमेत गरेको बताउनुभयो । ‘कालिजले दानासँगै घास पनि खाने गर्दछन् । त्यसका लागि घाँस खेती पनि गरेको छु’, उहाँले भन्नुभयोे– ‘कालिज पंक्षी भए पनि घाँस खाने गर्दछ ।’ सुरुमा १२ लाखको लगानीमा २ हजार कालिजको बच्चा पालेर व्यवसाय सुरु गरेको व्यवसाय अहिले फस्टाउँदै मात्र गएको छैन काजिलसम्बन्धी अन्य व्यवसायसमेत थप्दै आउनुभएको छ ।

सुरुमा २ हजार पाले पनि उहाँले पछि थपेर २५ सय पु¥याउनुभएको थियो । त्यसमध्येमा करिब २ सय जति कालिज मरेको उहाँ वताउनुहुन्छ । करिब २३ सय जति बचेकामध्ये अहिले बिक्री गरेर १५ सय २० बढी कालिजहरु फर्ममा रहेको बताउनुहुन्छ । चिसो मौसममा बस्न रुचाउने कालिजलाई अहिलेको मौसम राम्रो भए पनि गर्मी मौसममा भने छायाँमा बस्नको लागि छहराहरु तयार पारिएको छ । व्यवसाय सुरु गर्दा कालिजको प्रतिबच्चा ७ सय रुपैयाँमा ल्याए पनि अहिले भने प्रतिबच्चा २ देखि ३ सय रुपैयाँमा बुकिङ खुल्ला छ । व्यवसाय सुरु गरेको १ वर्ष वित्दा भने उहाँले आफ्नो व्यवसायबाट निकै सन्तुष्ट र खुशी हुनुह्न्छ ।

जिउँदो कालिजको प्रतिगोटा ३ हजार रुपैयाँमा बिक्री गर्दै आएको भए पनि पछिल्लो समय २५ सय रुपैयाँमा बिक्री गर्न थालेको समेत बताउनुभयो । कालिज र चल्ला पालिरहेको ठाउँको २ बिगाहा जमिनको वार्षिक भाडा १ लाख २० हजार तिर्नुहुन्छ । उहाँले कालिजसँगै घोराही–१६ मा टर्की, कडकनाथ, लोककुखुरा तथा तुलसीपुर उपमहानगरपालिका–१८ मा ६ बिगाहा जमिन भाडामा ल्याएर तरकारी खेती गरिरहनुभएको छ । सबै क्षेत्रमा करिब १ करोड २० लाख रुपैयाँ लगानी गरेको बताउनुभयो ।