सधैंका लागि कप्तान बन्न आएको हैन: खेलाडी ज्ञानेन्द्र मल्ल।

काठमाडौं:= क्रिकेट खेलाडी र नेपाल क्रिकेट संघ (क्यान) को विवाद मिलेसँगै फेब्रुअरीमा ओमानमा हुने ट्वान्टी-२० विश्वकप छनोट खेलका लागि मंगलबारबाट सबै खेलाडी बन्द प्रशिक्षणमा उपस्थित भएका छन्।

क्यानले सार्वजनिक गरेको ३० खेलाडी मध्ये मंगलबार कारबाहीमा परेका चार खेलाडीसहित सबै जसो खेलाडी मैदानमा देखा परेका हुन । मंगलबारको प्रशिक्षणमा नेपाली राष्ट्रिय टीमका पुर्वकप्तान ज्ञानेन्द्र मल्लसहित अन्य खेलाडीले पनि प्रशिक्षण स्थलमा सहभागिता जनाए ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा २८ खेलाडीसँगै अभ्यास गरिरहेका  पूर्वकप्तान ज्ञानेन्द्र मल्लले सबै विवाद बिर्सिएर अब विश्वकप छनोटमा ध्यान केन्द्रीत गर्ने बताउनुभयो । बर्गिकरणको विषय पछि सतहमा देखिएको खेलाडी र क्यानबीचको समस्या समाधान भएको उहाँले बताउनुभयो ।

मंगलबार मैदानमा सञ्चारकर्मीसँग बोल्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ज्ञानेन्द्र मल्लले आफू सधैंभरि कप्तान बन्नका लागि नआएको बताउनुभयो । बोर्ड र खेलाडीसँग पहिले नै यसरी छलफल भएको भए यो विवाद यस्तो अवस्था नआउने भन्दै मल्लले बिनाजानकारी कप्तानबाट हटाउँदा दुःख लागे पनि सधैं कप्तान बन्नुपर्छ भन्ने अडानमा नरहेको बताउनु भयो । मल्लले आत्मसम्मानका हिसाबले अलि अप्ठेरो महसुस भएको भन्दै देश, आफ्नो र परिवारका लागि खेल्ने बताउनुभयो ।

यस्तै मल्लले क्यानसँग खेलाडीहरूको प्रोत्साहन भत्ता बढाउने र चार जना खेलाडीलाई गरिएको कारबाही फिर्ताको विषयमा पनि सहमति भएको बताउनु भयो । उहाँले इगो बाहिर राखेर नेपाली क्रिकेटको लागि एक ठाउँमा बस्नु भन्दा पनि विगत बिर्सिएर अघि बढ्ने अवस्थामा पुगेका बताउनु भयो । अब विश्वकप छनोट नजिकिंदै गएको भन्दै मल्लले छनोटमा खेलमा केन्द्रित हुने थप्नु भयो ।

सेन्ट्रल कन्ट्रयाक्टमा वर्गीकरणको विषयमा सञ्चारमाध्यममा बोलेका कारण चार खेलाडी ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई कारबाही गरिएको थियो । त्यसपछि क्रिकेट संघ र खेलाडीबीचको विवाद उत्कर्षमा पुगेको थियो । क्यानले मल्ल र ऐरीको कप्तान र उपकप्तान पदबाट हटाउँदै युवा लेग स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तानको जिम्मेवारी दिएको थियो ।