पाल्पा:= नेपालको ताजमहल र प्रेमको प्रतीकका रूपमा रहेको पाल्पाको रानीमहल दरबार यतिबेला चिटिक्क पारिएको छ । संरक्षणको अभावमा कुरूप बन्दै गएको ऐतिहासिक दरबार सरसफाइ गरी चिटिक्क बनाइएको छ । तत्कालीन राजा खड्गशमशेरले रानी तेजकुमारीको सम्झनामा विसं १९५४ मा निर्माण गरेको दरबार संरक्षणको अभावमा कुरूपजस्तै बनेका बेला तानसेन नगरपालिकाले त्यसको संरक्षण गरी रानीजस्तै चिटिक्क बनाएको हो ।
नगरपालिकाले रानीमहल आउने आन्तरिक तथा बाहृय पर्यटकलाई थप आकर्षित गर्न सरसफाइ गरेसँगै अहिले रानीमहलको स्वरूप फेरिएको छ । कोभिड-१९ का कारण कुरूप अवस्था बनेको, वनजंगल, झाडी तथा फोहोरले भरिएको रानीमहल दरबार तीन महिनाको अवधिमा सुन्दर रानीजस्तै बनाइएको हो ।
अहिले रानीमहलमा दैनिकरूपमा सरसफाइ तथा फूलबगैंचा व्यवस्थापनका लागि मालीहरू खटाइएका छन्। अबका दिनमा रानीमहललाई रातिको समयमा पनि हेर्न सकिने गरी निर्माण गरिएको छ । रानीमहलमा २४सै घण्टा पर्यटकीय गतिविधि बढाउन तानसेन नगरपालिकाले रातिमा हेर्न मिल्ने गरी विशेष लाइट तथा अन्य पूर्वाधारको व्यवस्था गरेको छ ।
कोभिडको प्रभाव न्यूनीकरणसँगै पर्यटन व्यवसाय खुला भएपछि तानसेन नगरपालिकाले दरबारलाई चिटिक्क पारी पर्यटनमैत्री बनाउन तीनमहिने विशेष अभियान सञ्चालन गरेको हो । रानीमहल दरबारभित्र फोहोरै फोहोरले भरिएको थियो, पर्यटकका लागि शौचालय तथा खानेपानीको कुनै व्यवस्था थिएन । दरबारभित्रका रानी बस्ने कोठाहरू भताभुंग थिए । तर, तीन महिनाको अवधिमा रानीमहल दरबारमा नसोचेको परिवर्तन भएको स्थानीय श्रीधर गैरेले बताउनुभयो । अहिले रानीमहल हेर्न दैनिक पाँच सय पर्यटकहरू पुग्ने गरेका छन् ।
रानीमहलमा पुग्ने पर्यटकहरूलाई लक्षित गरी युरो गार्डको व्यवस्था, महिला पुरुषका लागि सफा शौचालय, फ्रि वाईफाई, पर्यटकहरूको सुरक्षाका लागि सिसी क्यामेराको व्यवस्था गरिएको रानीमहल व्यवस्थापनमा खटिएका तानसेन नगरपालिकाका सरसफाइ शाखाप्रमुख शंकर भण्डारीले बताउनुभयो ।
दरबारका सबै क्षेत्रमा सरसफाइ गरी नियमित सरसफाइको व्यवस्था, दरबारभित्रका मन्दिर तथा फूल बगंैचाहरूको व्यवस्था, लाइटिङसहित पानी फोहोराको व्यवस्था, टाढा-टाढाबाट पनि देख्न सकिने गरी दरबारको व्यवस्थापन गरी रानीमहलको वास्तविक स्वरूप निर्माण गरिएको सरसफाइ प्रमुख भण्डारीले बताउनुभयो ।
रानीमहल पुग्ने पर्यटकहरूले अबका दिनमा दरबारभित्र राणा खड्ग शमशेर र रानी तेज कुमारी बस्ने कोठा, राणा खड्ग शमशेरको भारद्वाजसहित बैठक बस्ने कोठा, दरबारभित्र प्रयोग भएका एक सय वर्ष पुराना पुरातात्विक महत्वका सरसमानहरू खोजबिन गरी संग्रहालय हेर्न पाउने गरी व्यवस्था गरिएको सरसफाइ प्रमुख भण्डारीले बताउनुभयो ।
विद्युत्को सुविधा पुगे पनि भोल्टेज कमीका कारण दरबारभित्र जेनेटर चलाएर रातिको समयमा रानीमहल हेर्ने व्यवस्था गरिएको छ । दरबारमा थ्री फेसको विद्युत्को व्यवस्था गरी सर्वसाधारणका लागि रातिमा रानीमहल हेर्ने सुविधा प्रदान गर्ने तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहीले बताउनुभयो । पुरातत्व विभागले १० वर्षका लागि रानीमहल दरबारको रेखदेख तथा संरक्षणको जिम्मा तानसेन नगरपालिकालाई दिएको छ ।
प्रेमको प्रतीक रानीमहल दरबार राणा खड्ग शमशेरले रानी तेजकुमारीको सम्झनामा निर्माण गरेका थिए । उत्तरवाहिनी भएको कालीगण्डकीको किनाराको ढुंगामाथि रानीमहल दरबारको निर्माण गरिएको छ । कालीगण्डकीको उत्तरवाहिनी क्षेत्रमा निर्माण गरिएको रानीमहल क्षेत्र धार्मिक हिसाबले पवित्र मानिन्छ ।
२४ रोपनी क्षेत्रफलमा फैलिएको रानीमहल दरबार परिसरभित्रै राजदरबारमा हुने सबै किसिमका संरचनाहरू निर्माण गरिएका छन् । तानसेनबाट रानीमहलसम्म पुग्ने १३ किलोमिटर सडक लुम्बिनी प्रदेश सरकारले स्तरोन्नति गरी पिचको काम गर्दै आएको छ । अहिले तानसेनबाट सवारीसाधनमा आधा घण्टामा रानीमहल दरबार पुग्न सकिन्छ । (पाल्पाको पर्यटकीय गन्तव्य प्रेमको प्रतीक रानीमहल दरबार ।)




















