बागमतीलाई तेक्वान्दो उपाधि।

काठमाडौं:= आयोजक बागमती प्रदेशले प्रथम राष्ट्रिय मेयर कप तेक्वान्दो प्रतियोगिताको उपाधि शनिबार जितेको छ । बागमती ६ स्वर्ण, २ रजत र ९ कास्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगितामा ५ स्वर्ण, ३ रजत र ४ कास्य जितेको लुम्बिनी प्रदेश दोस्रो भयो ।

तेस्रो स्थानमा चित्त बुझाएको नेपाल आर्मीले ५ स्वर्ण, २ रजत र ७ कास्य हात पार्‍यो । प्रतियोगिताको पुरुषमा लुम्बिनीका सपन थापा तथा महिलामा बागमतीकी स्वस्तिका महर्जन उत्कृष्ट खेलाडी घोषित हुनुभयो ।

विजेतालाई काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, आयोजक बागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । दुईदिने प्रतियोगितामा ११ टिमका ३ सय ३० खेलाडीले विभिन्न २४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।