अन्ततः सेयर बजारमा हरियाली।

काठमाडौं:= घट्दोक्रममा रहेको सेयर बजार आइतबार भने उच्च अंकले बढेको छ । यस दिन नेप्से बढेर करिब दुई हजार छ सय अंकनजिक पुगेको छ । सूचक ६०.४१ अंकले बढेर २५८४.९१ अंकमा पुगेको हो । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १०.७७ अंकले बढेर ४८२.०१ अंकमा पुगेको छ ।

कारोबारमा आएका दुई सय ४० मध्ये एक सय ९२ कम्पनीको सेयरमूल्य बढेको छ भने ३२ कम्पनीको घटेको छ । कारोबारमा आएका म्युचुअल फन्डबाहेक १२ वटै समूहको सूचक बढेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार कुल दुई सय ४० कम्पनीका ७१ लाख ६० हजार नौ सय ८३ कित्ता सेयर चार अर्ब १२ करोड ६९ लाख ८० हजार रुपैयाँमा कारोबार भएको छ ।

हिमालयन डिष्टिलरीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेर सर्वाधिक ४४ करोड ९४ लाख दुई हजार रुपैयाँको कारोबार भएको भने नबिल बैंकको २९.७० करोड, शिवम् सिमेन्ट २३.५० करोड, नेपाल बंगलादेश बैंकको एक सय ९२ करोड र अपि पावरको १७.३७ करोडको सेयर कारोबार भएको छ ।

नेपाल टेलिकम, ङादी ग्रुप पावर, अरुण भ्याली हाइड्रोपावर, अपर तामाकोशी, र नागरिक लगानी कोष शीर्ष कारोबार हुने १० कम्पनीमा परेका छन् भने १०औँ ठूलो कारोबार भएको नागरिक लगानी कोषको ६.३८ करोडको कारोबार भएको छ ।

हिमालयन डिष्टिलरीको सेयरमूल्य ९.९९, मध्य भोटेकोशीको ९.९७ तथा सूर्या लाइफको ९.२९ प्रतिशतले बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंक, किसान लघुवित्त, मिथिला लघुवित्त, श्रीइन्भेष्ट फाइनान्स, सिभिल लघुवित्त, उन्नति माइक्रोफाइनान्स र ज्योति लाइफको सेयरमूल्य पनि छ प्रतिशतभन्दा बढीले बढेको छ ।

गोर्खाज फाइनान्स कम्पनीको सेयरमूल्य सबैभन्दा धेरै ५.१२ प्रतिशतले घटेर ७७९.९० रुपैयाँमा झरेको छ भने नबिल इक्विटी फन्ड र मञ्जुश्री फाइनान्सको तीन प्रतिशत बढी तथा नबिल डिबेञ्चर २०८५ र दिव्यश्वरी हाइड्रोपावरको सेयरमूल्य दुई प्रतिशतभन्दा बढीले घटेको छ ।