काठमाडौं:= नेपाली म्युजिक भिडियोको क्षेत्रमा पछिल्लो समय चल्तिका पुरुष मोडलहरूको गन्ती गर्नेहो भने उत्कृष्ट पाँचभित्रै पर्ने कलाकार हुनुहुन्छ सागर लम्साल (बले) । हास्य टेलिसिरियल सक्किगोनीमा बलेको भूमिकाबाट उहाँ चर्चामा हुनुहुन्छ। सागरले अहिले एक म्युजिक भिडियोमा काम गरेको ७० हजारदेखि सवा लाख रुपैयाँसम्म लिने गरेको चर्चा छ । सागर आफैंले पनि आफ्नो पारिश्रमिक एक लाखकै वरिपरि हुने बताउँदै आउनुभएको छ ।
सागरले विगत तीन महिनादेखि कुनै भिडियोमा काम गर्नुभएको थिएन । आफ्नो स्वास्थ्य समस्या र घरायसी समस्याले गर्दा काम गर्न नसकेको बताउनुभएको थियो । साथै तीन महिनापछि सागरले अभिनय गरेको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा रहेको रेडियो–अडियोमा एक कार्यक्रमको आयोजना गर्दै ‘होहो नि माया’ बोलको गीतको भिडियो सार्वजनिक गरियो । जुन गीतमा हरि गिरी र स्मिता दाहालको स्वर छ भने शब्द तथा संगीत हरिकै छ ।
कार्यक्रममा म्युजिक भिडियोभन्दा पनि सागरको व्यक्तिगत जीवनसँग जोडिएका प्रश्न बढी उठेका थिए । सञ्चारकर्मीले सागरको प्रेमको विषय प्रश्न गरिरहँदा सबै प्रश्नको उक्त दिनुभयो । सांगीतिक बजारमा तपाइँ र प्रिज्माको ब्रेकअपको चर्चा निकै छ नि ! केहो कुरो ? भन्ने प्रश्नमा सागर भन्नु हुन्छ, ‘मेरो ब्रेकअप भएको भन्ने हल्लामात्रै हो । मैले पहिला पनि भन्दै आएको थिएँ, हामीबीच प्रेमसम्बन्ध थिएन । मेरो प्रिज्मा, प्रिन्सी मिल्ने साथी हुन् ।’
सागरले फेरि पनि मोडल प्रिज्मा र प्रिन्सीसँग छिट्टै काम गर्ने तयारीमा रहेको जानकारी दिनुभयो । सागर भन्नुहुन्छ, ‘यो बीचमा मैले प्रिज्मा र प्रिन्सी खतिवडाको अन्तर्वार्ता पनि हेरेँ । उहाँहरू आफ्नो विगतलाई सम्झिएर भावुक हुनुभएको थियो । रुने प्रिन्सी, माफी माग्ने प्रिज्मा र गाली खाने म भएँ ।’ यस्तै सागरले विवाह गर्दै हुनुहुन्छ रे नि ? भन्ने हल्लाको प्रश्नमा भन्नुहुन्छ, ‘म आफंै अचम्ममा परिरहेको छु, यो कुरा कहाँबाट आयो । बिहेको अहिले कुनै योजना छैन ।’ सागरले ‘तिम्रो मन बदलिएछ’ गीतको सिरिज बनाउने तयारी गरेको र त्यसको भिडियोमा प्रिज्मा र प्रिन्सी नै हुने जानकारी दिनुभयो ।
सागरले अहिलेसम्म प्रिज्मासँगको प्रेम र ब्रेकअपबारे सत्यता नभएको भने पनि सांगीतिक बजारमा यी दुईबीच प्रेम रहेको, विगत पाँच महिनाअघि ब्रेकअप भएको चर्चा छ । सागर निकट केही व्यक्तिले पनि सागर र प्रिज्मा लामो समय प्रेमसम्बन्धमा रहेको बताउँदै आउनुभएको छ । बुझिएनुसार सागरले फेरि प्रिज्मा-प्रिन्सीसँग काम गर्ने अफर लिएर गएको, दुवैले काम गर्न इन्कार गरेको बुझिएको छ ।




















