काठमाडौं:= नेपाल क्रिकेट संघ (क्यान) र क्रिकेट खेलाडीहरूबीच सहमति भएपछि आइतबार प्रभावित बनेको राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण आज (सोमबार)बाट सुरु हुने भएको छ । क्यान अध्यक्ष चतुरबहादुर चन्दका अनुसार खेलाडीसँग आइतबार भएको छलफलपछि कप्तानमा सन्दीप लामिछाने नै रहने र चार जना खेलाडीहरूमाथि लगाएको ६ महिने केन्द्रीय सम्झौताबाट अलग राख्ने प्रतिबन्ध फुकुवा गर्ने सहमति भएको छ । आगामी बोर्ड बैठकबाट उक्त प्रतिबन्ध फुकुवामा लैजाने चन्दले बताउनुभयो ।
उक्त सहमति पश्चात सोमबारदेखि सबै खेलाडी बन्द प्रशिक्षणमा सामेल भएका छन् । क्यानले अनुशासन उल्लंघन गरेको भन्दै तत्कालीन कप्तान ज्ञानेन्द्र मल्लसहित उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई पदमुक्त गर्नुका साथै उनीहरूसहित सोमपाल कामी र कमलसिंह ऐरीमाथि ६ महिनाको प्रतिबन्ध लगाएको थियो ।
अनुशासनको कारबाहीमा परेका खेलाडीहरूप्रति ऐक्यवद्धता जनाउँदै १४ जना खेलाडीहरू अनुपस्थित आइतबारदेखि काठमाडौंमा बोलाइएको बन्द प्रशिक्षण प्रभावित बनेको थियो । तर, बन्द प्रशिक्षणमा बोलाएका ३० जना खेलाडीमध्ये १६ जनामात्रै सम्पर्कमा आएका हुन् । बाँकी १४ जनाले क्यानको निर्देशनको अवज्ञा गर्दै सम्पर्कमै आएका थिएनन् ।
बन्द प्रशिक्षणका लागि अनुपस्थित रहने खेलाडीमा कारबाहीमा परेका ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीसहित विनोद भण्डारी, रोहितकुमार पौडेल, कुशल भुर्तेल, बिक्रम शोब, करण केसी, सुशन भारी, सन्दीप जोरा, नन्दन यादव र अविनाश बोहोरा छन् ।
खेलाडीहरू अनुपस्थित भएपछि आइतबार नेपाली टोलीले त्रिवि मैदानमा अभ्यास गर्न सकेन् । उपस्थित खेलाडीहरूले होटलमै शारीरिक अभ्यास तथा प्रशिक्षकसँग अन्तक्र्रिया गरेका थिए ।
कारबाहीमा परेका खेलाडीहरूले शनिबार क्यानलाई इमेलमार्फत पत्र लेख्दै आफूहरूमाथिको कारबाही फिर्ता लिन अनुरोधसमेत गरेका थिए । सो विषयमा क्यान र तत्कालिन कप्तान ज्ञानेन्द्र मल्लबीच आइतबार छलफल भएपछि सहमति निस्किएको हो ।
मुख्य प्रशिक्षक पुबुदु दसानायिकेसहित क्यानको खेलाडी छनोट समितिले बन्द प्रशिक्षणका लागि ३० सदस्यीय टोलीको घोषणा गरेको थियो । पहिलोपटक सन्दीप लामिछानेको कप्तानीमा घोषणा गरेको टोलीमा ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, शरद भेषवाकर, करण केसी, सोमपाल कामी, मोहम्मद आरिफ शेख, विनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल, मोहम्मद आशिफ शेख, कमलसिंह ऐरी, साहब आलम र सन्दीप जोरा हुनुहुन्छ ।
यस्तै टोलीका अन्य सदस्यमा अभिनाश बोहरा, सुशान भारी, पवन सरार्फ, विक्रम सोब, भीम सार्की, रोहितकुमार पौडेल, प्रदीप ऐरी, गुलशन कुमार झा, नन्दन यादव, जितेन्द्र मुखिया, विवेक कुमार यादव, सौरभ खनाल, राजेश पुलामी मगर, किशोर महतो, सागर ढकाल र हरि शंकर शाह हुनुहुन्छ ।
टी-२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत समूह ‘ए’ को खेल सन् २०२२ फेब्रुअरी १५ देखि २५ सम्म ओमानमा आयोजना हुनेछ । समूह ‘ए’ मा नेपालसँगै आयरल्यान्ड, ओमान, युएई, फिलिपिन्स, जमर्नी, क्यानडा र बहराइन छन् । समूहको शीर्ष दुई टोलीले अष्ट्रेलियामा हुने टी-२० विश्वकपमा स्थान पक्का गर्नेछन् ।




















