[ डिबी शर्मा ]
काठमाडौं:= नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थप तीनजनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्नुभएको छ । कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २१ को उपधारा (१०) बमोजिम सभापति देउवाले थप तीनजनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्नुभएको हो ।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले आइतबार जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नुभएको हो । यसअघि शनिबार सभापति देउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधिलगायत १० जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्नुभएको थियो ।
कांग्रेस १४औँ महाधिवेशनमा पराजित उम्मेदवारहरूलाई एकपछि अर्को गरी सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनीत गर्नुभएको छ । पहिलो चरणको निर्वाचनमा सभापतिमा प्रतिस्पर्धा गर्नुभएका गुरुङ, महामन्त्रीमा पराजित पौडेल र सहमहामन्त्रीमा पराजित शाहीलाई आइतबार देउवाले केन्द्रीय सदस्य मनोनीत गर्नुभएको छ ।
यसअघि शनिबार केन्द्रीय सदस्यमा मनोनीत १० मध्ये आधा महाधिवेशनमा पराजित भएकाहरू थिए । शनिबार केन्द्रीय सदस्यमा मनोनीत हुनेमा प्रकाशमान सिंह र निधिले सभापतिमा पहिलो चरण प्रतिस्पर्धा गरेर दोस्रो चरणमा देउवालाई समर्थन जनाउनुभएको थियो । त्यस्तै, विजयकुमार गच्छदार र सुजाता कोइराला उपसभापतिमा पराजित हुनुभएको थियो भने डा. महत महामन्त्रीमा पराजित हुनुभएको थियो ।
आफूलाई महाधिवेशनमा सहयोग गरेका नेतालाई प्राथमिकता दिँदै पहिलो चरणमै देउवाले उहाँहरूलाई केन्द्रीय सदस्य बनाउनुभएको छ । पदाधिकारीमा पराजित मीनेन्द्र रिजाललाई भने केन्द्रीय सदस्यमा मनोनीत गरिएको छैन । रिजाल डा. शेखर कोइराला प्यानलबाट महामन्त्रीमा प्रतिस्पर्धा गर्नुभएको थियो । शनिबार र आइतबार केन्द्रीय सदस्यमा मनोनीत सबैले महाधिवेशनमा देउवालाई सहयोग गर्ने र आफ्नै प्यानलका मात्रै छन् । कोइराला प्यानलबाट कसैलाई पनि केन्द्रीय सदस्यमा मनोनीत गरिएको छैन ।
सभापति देउवाले महाधिवेशन प्रतिनिधिहरूबाट ३३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्न पाउने विधानमा व्यवस्था छ । सभापतिका मुख्य प्रत्यासी शेखर कोइराला भने स्वतः केन्द्रीय सदस्यमा मनोनयन हुने प्रावधान छ । सभापतिको निकट्म प्रतिद्वन्द्वी स्वतः सदस्य हुने प्रावधान विधानमा राखिएको छ । यसअघि कांग्रेस महाधिवेशनमा सभापति र पदाधिकारीसहित १३४ जना निर्वाचित भएका थिए ।
आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक (आज) सोमबार बस्ने भएको छ । सभापति देउवाले सोमबार दिउँसो केन्द्रीय कार्यसमिति बैठक बोलाएको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
बैठकमा केन्द्रीय कार्यसमितिमा पदाधिकारी र सदस्यहरूलाई बोलाइएको मुख्यसचिव पौडेलले जानकारी दिनुभयो । बैठकमा समसामयिक राजनीतिक विषय र १४औँ महाधिवेशनपछि पदाधिकारी र केन्द्रीय सदस्यहरूको कार्यविभाजन तथा जिम्मेवारी बाँडफाँडलगायत विषयमा छलफल हुने बताइएको छ । बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचन र उम्मेदवार छनोटका विषयमा पनि छलफल हुनसक्ने बताइएको छ । यसअघि १० पुसमा कार्यसमितिको पहिलो बैठक बसेको थियो ।




















