राजेश पायलमाथि अमेरिकामा दुव्यर्वहार, कलाकारहरूद्वारा भत्र्सना।

एजेन्सी := अमेरिकाको न्यूयोर्कमा भएको नयाँ वर्ष विशेष एक कार्यक्रममा लोकप्रिय गायक राजेश पायल राईमाथि भएको हातपातबारे अमेरिकन कलाकार संघले आवाज उठाएको छ । संघले हातपात गर्ने व्यक्तिलाई कडा कानुनी कारबाहीको माग गरेको छ ।

संघकी अध्यक्ष निशा सुनारले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सर्वप्रिय गायक राजेश पायल राईमाथि हाले न्यूयोर्कमा सम्पन्न भएको एक सांगीतिक प्रस्तुतिका क्रममा हातपात गरी निकृष्ट र निन्दनीय कार्य गर्ने व्यक्ति जो सुकै भए पनि निजलाई कडाभन्दा कडा कानुनी कारबाहीको जोडदार माग गर्दछौं ।’ साथै संघले आयोजक जिम्मेवारी भई सम्बन्धित व्यक्तिलाई कारबाहीको पहल गरिदिन अपिल गरेको छ ।

राजेश पायलमाथि पासाङ दावा शेर्पा नाम गरेका एक दर्शकले स्टेजमै चढेर हातपात गरेका थिए । यस्तै अन्य थुप्रै कलाकारले उक्त दुव्यर्वहारमाथि भत्र्सना गर्नुभएको छ । लोकप्रिय गायक शिव परियारले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘नेपाली संगीतका लिभिङ लिजेण्डस आदरणीय दाइ राजेश पायल राई ज्यूप्रति स्टेजमै भएको यो घटनाको घोर निन्दा गर्दछु। यस घटनासम्बन्धी सत्य तथ्य छानविन गरी दोषीमाथि कडा कारबाही गर्न अमेरिकास्थित आयोजक संस्थाप्रति अनुओध गर्दछु ।’

यस्तै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले पछाडिबाट आएर गरेको धरपकड अशिष्ट अभद्र र अमर्यादित व्यवहारको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल घोर निन्दा र भत्र्सना गर्दछ, भन्ननु भएको छ । उहाँले लेख्नुभएको छ, ‘आयोजक समितिकोको तर्फबाट सत्यतथ्य छानविन गरी कलाकारिताको गला दवाउन खोज्ने कुतत्वमाथि तत्कालै कारबाही प्रक्रिया अगाडि बढाइयोस् ।’