तेक्वान्दो खेलाडी जुम्ल्याहा दाइभाइलाई स्वर्ण।

काठमाडौं:= जुम्ल्याहा दाइभाइ राम र लक्ष्मण गोलेले प्रथम राष्ट्रिय मेयर कप तेक्वान्दो प्रतियोगितामा शुक्रबार स्वर्ण जित्नुभएको छ । बागमती प्रदेश तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगिताको सिनियर पेयर पुम्सेमा नेपाल प्रहरीका राम र लक्ष्मणको जोडीले स्वर्ण जित्नुभएको हो ।

एपिएफकी चन्दु शाही र मनोज श्रेष्ठ दोस्रो हुनुभयो । लुम्बिनी प्रदेशका एलिजा रोकाया र भेषराज सुनार तथा नेपाल आर्मीका रोशनी श्रेष्ठ र अस्मिन राईको जोडी तेस्रो हुनुभयो । लक्ष्मणले सिनियर पुरुष एकल पुम्सेमा पनि स्वर्ण जित्नुभयो । उहाँले लुम्बिनीका युवराज लामालाई पछि पार्नुभयो ।

आयोजक ‘ए’ र ‘बी’ का क्रमशः पुष्पप्रसाद गौतम र मुहम्मद उमर खान संयुक्तरूपमा तेस्रो बन्नुभयो । सोही स्पर्धाको महिलामा आर्मीकी रश्मी श्रेष्ठ पहिलो, एपिएफकी चन्दु शाही दोस्रो तथा लुम्बिनीकी सुनिता विष्ट र आयोजक ‘ए’ की रंगिला रोका तेस्रो स्थानमा रहनुभयो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको सिनियर ग्रुप पुम्सेमा आर्मीका रोशनी श्रेष्ठ, अस्मिन राई र स्मृति थापा सम्मिलित टोली पहिलो भयो । प्रहरी दोस्रो भयो भने आयोजक ‘ए’ र लुम्बिनी तेस्रो भयो ।

जुनियर ग्रुप पुम्सेमा आयोजक ‘ए’ का मोनिका मगर, मोनिका रम्तेल र स्मृति नेपालीले शीर्ष स्थान कब्जा गर्नुभयो । आयोजक ‘बी’ दोस्रो तथा गण्डकी प्रदेश तेस्रो भयो । जुनियर पुरुष एकल पुम्सेमा आयोजक ‘बी’ का सृजल श्रेष्ठले स्वर्ण, आर्मीका सुजन श्रेष्ठले रजत तथा कर्णाली प्रदेशका दिनेश मगर र प्रदेश १ का निङ्मा तामाङले कास्य हात पार्नुभयो ।

जुनियर महिला एकल पुम्सेमा आयोजक ‘बी’ की जैनव खातुन पहिलो, आयोजक ‘ए’ की मोनिका रम्तेल दोस्रो तथा प्रदेश १ की शान्ति राई र एपिएफकी रोशनी सिलवाल तेस्रो हुनुभयो ।

जुनियर पेयर पुम्सेमा आयोजक ‘ए’ का अब्बास अन्सारी र जैनव खातुन पहिलो, प्रदेश १ का निङ्मा तामाङ र शान्ति राई दोस्रो तथा आयोजक ‘बी’ का योगुन राई र हिमाल अधिकारी तथा आर्मीका रिता श्रेष्ठ र सुजन श्रेष्ठ तेस्रो हुनुभयो ।

प्रतियोगिताको बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकालले एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । प्रतियोगितामा आयोजक, सातै प्रदेश र तीन विभागीय टोलीका ३३० खेलाडीले २४ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको आयोजक संघका अध्यक्ष केशव पुरीले जनाउनुभएको छ ।