कोरोनाको डरले सर्‍यो भारतीय चलचित्र ‘आरआरआर’ रिलिज मिति।

मुम्बई:= भारतको ठूलो बजेटको नयाँ चलचित्र आरआरआर’को रिलिज मिति कोरोना भाइरसको डरका कारण सरेको छ । निर्देशक एसएस राजामौलीको यो चलचित्र यही जनवरी ७ मा रिलिजको तयारीमा थियो तर अब नयाँ मितिमा प्रदर्शन हुने भनिएको छ । तर मिति भने तोकिएको छैन ।

निर्माण पक्षले कोरोना संक्रमणसँगै ओमिक्रोनको संक्रमण दर बढ्दै गएका कारण रिलिज मिति पछाडि सारेको हो । यसअघि पनि तमिल, तेलुगु, कन्नड र मलयालमसहित हिन्दी भाषामा रिलिज हुने यो चलचित्रको कैयौंपटक रिलिज मिति सरिसकेको छ ।

कोरोनाको तेस्रो लहर सुरु भएपछि भारतको कैयौं शहरका थिएटर बन्द गरिएका छन् भने केही शहरमा कफ्र्यू लगाइएको छ । रणवीर सिंह अभिनित फिल्म ‘८३’ले बक्सअफिसमा सोचेभन्दा कम कलेक्सन गरेपछि चलचित्रका निर्माताहरू प्रदर्शनका लागि हच्किएका छन् ।

‘आरआरआर’मा राम चरण, जुनियर एनटीआर, अजय देवगन र आलिया भट्टको अभिनय छ । फिल्मले भारत स्वतन्त्रताको पहिलो वर्ष अर्थात् सन् १९५० आसपासको कथा देखाउनेछ ।