आकांक्षी बढी देखिएपछि पदाधिकारी व्यवस्थापनमा सकस,बन्दसत्र आज दिउँसो १ बजेसम्म स्थगित।

काठमाडौं:= नेकपा (माओवादी केन्द्र)को बन्दसत्र आइतबार (आज) दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । शनिबारको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिबाटै केन्द्रीय कमिटी चयनका लागि राम्रो गृहकार्य भएको र थप गृहकार्य गर्नुपर्ने भएकोले बन्दसत्र आइतबार १ बजेसम्मका लागि स्थगित गर्न प्रस्ताव गर्नुभएको थियो । त्यसपछि अध्यक्षमण्डलले बन्दसत्र आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हललाई जानकारी गराएको थियो ।

यसअघि, शनिबार दिउँसो १ बजे सुरु भएको बन्दसत्रमा अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटी सहमतिबाटै चयनको लागि अधिकतम प्रयास गर्ने र सहमति हुन नसके लोकतान्त्रिक विधिबाट चयन गर्ने जानकारी गराउँदै केन्द्रीय कमिटी सहमतिबाट चयनका लागि महाधिवेशन आयोजक समितिमा छलफल गर्ने र सोको लागि अनुमति दिन बन्दसत्रसमक्ष प्रस्ताव गर्नुभएको थियो । बन्दसत्रले उक्त प्रस्ताव पारित गरेपछि सहमतिबाटै केन्द्रीय कमिटी चयनका लागि दिनभर छलफल चलेको थियो ।

त्यसपछि शनिबार साँझ पौने ७ बजे फेरि बन्दसत्र सुरु भएको थियो । यसअघि शनिबार नै बन्दसत्रले विधान परिमार्जनसहित सर्वसम्मत पारित भएको थियो । नयाँ विधानअनुसार अब माओवादी केन्द्रको केन्द्रीय कमिटी ५० प्रतिशत खुला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिनेछ ।

केन्द्रीय कमिटी २९९ सदस्यीय हुनेछ । यसअघि केन्द्रीय कमिटीले १० प्रतिशत मनोनीत गर्ने भनिएकोमा बढाएर १५ प्रतिशत पुर्‍याइएको छ । महाधिवेशनले केन्द्रीय कमिटी, केन्द्रीय कमिटीले पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्नेछ । पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुने माओवादी केन्द्रले जनाएको छ ।

२९९ केन्द्रीय सदस्यका लागि १४५ जना खुलाबाट र बाँकी समानुपातिक, समावेशी तथा मनोनयनबाट ल्याउने गरी निर्वाचन समितिले क्लस्टर विभाजन गरेको छ । जसका लागि केन्द्रीय सदस्यमा कुल संख्याको ३५ प्रतिशत महिला र २० प्रतिशत युवा अनिवार्य गरिएको छ । युवाको रुपमा भने ४० वर्षमुनिको उमेर समूहका लागि भनी व्याख्या गरिएको छ । निर्वाचन समितिले शनिबार विभिन्न नौ समूहको क्लस्टर बनाएर उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो ।

जसअन्तर्गत खुलातर्फ १४५ जना, खस आर्यतर्फ ४५ जना, दलितबाट २२ जना, मुस्लिमबाट सात जना, मधेसीतर्फ २३ जना, आदिवासी जनजातिबाट ४३ जना, थारुतर्फ १०, अपांगतर्फ दुई जना र पिछडिएको वर्गबाट दुई जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । शनिबारको बन्दसत्रबाट विधान मस्यौदा पारित भएसँगै माओवादी केन्द्रको निर्वाचन प्रक्रिया सुरु भएको हो । निर्वाचन समितिले महाधिवेशनस्थल प्रज्ञा भवनमा एक हजार ७४२ जनाको नामावली यसअघि नै सार्वजनिक गरेको छ ।

सबैखाले मनोविज्ञानलाई समेट्न सकेसम्म सहमतिबाटै नेतृत्व चयन गर्नुपर्छः : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले आइतबार केन्द्रीय सदस्य र पदाधिकारी टुंग्याउने बताउनुभएको छ । शनिबार बन्दसत्रमा सम्बोधन गर्दै प्रचण्डले निर्वाचनबाट जाँदा सबै खाले मनोविज्ञानको सम्बोधन गर्न नसकिने भएकाले सहमतिमै केन्द्रीय कमिटीमा रहने सदस्य र पदाधिकारी टुंग्याउने बताएको एक नेताले जानकारी दिनुभयो । ‘आज राति चिसोमा बसेर मतदान गर्नुभन्दा भोलि दिउँसो सहमतिमै टुंग्याउँछौं । भोलिसम्मको समय दिनुस्,’ प्रचण्डको भनाइ थियो । माओवादीको बन्दसत्र आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । शनिबार राति मतदान हुने भएको मतदान प्रक्रिया पनि स्थगित भएको हो  । प्रचण्डले सर्वसम्मतिमा केन्द्रीय समिति चयन नभए चुनावमा जाने पनि बताउनुभएको छ ।

२९९ सदस्यीय केन्द्रीय समिति बनाउने विधानमा व्यवस्था छ। यसअघि १५ पदाधिकारी बनाउने विधानमा प्रस्ताव गरिएको भएपनि पदाधिकारीको संख्या थपघट गर्न सक्ने अधिकार केन्द्रीय समितिलाई दिइएको छ । माओवादीमा पदाधिकारीका आकांक्षी बढी देखिएपछि प्रचण्डलाई नेता व्यवस्थापन गर्न सहज बनाउनका लागि पदाधिकारीको संख्या निर्धारण गर्ने जिम्मा केन्द्रीय समितिलाई दिइएको हो । अध्यक्षका लागि भने प्रचण्डको विकल्पमा कसैले पनि दाबी गरेका छैनन् । यसले प्रचण्डलाई अध्यक्षमा निरन्तरता दिने देखिएको छ ।

निर्वाचन कार्यक्रमको समय तालिका संशोधन

नेकपा (माओवादी केन्द्र)को निर्वाचन कार्यक्रम संशोधन गरिएको छ । आठौं महाधिवेशनअन्तर्गत केन्द्रीय पदाधिकारी र सदस्य सहमतिमा टुंग्याउने भन्दै निर्वाचन तालिका पछि सारिएको हो । केन्द्रीय निर्वाचन आयोगले शनिबार साँझ निकालेको संशोधित तालिकाअनुसार उम्मेदवारको मनोनयन पत्र दर्ता आइतबार २ देखि ३ः३० बजेसम्म, दर्ता सूची प्रकाशन ३ः४० बजेसम्म, उम्मेदवारको विरोधमा उजुरी दिने ४ बजेसम्म रहेको छ ।

त्यस्तै उम्मेदवारको विरोधमा परेको उजुरीको सूचना ४ः१० बजेसम्म, उजुरी उपर छानबिन र निर्णय ४ः३० बजेसम्म, उम्मेदवारको नामावली पुनःप्रकाशचन ४ः४० लगायत कार्यक्रम रहेका छन् । मतदान आइतबार साँझ ६ः२५ देखि १०ः२५ सम्म हुने तालिकामा उल्लेख छ । यसअघि शनिबार राति ८ देखि साढे ११ बजेसम्म मनोनयन दर्ता र आइतबार बिहान साढे ११ बजेदेखि ४ बजेसम्मका लागि तोकिएको थियो ।