सन् २०२१ लाई फर्केर हेर्दा।

[ चिन्तन क्षेत्री ] 

काठमाडौं:= सन् २०२१ मा नेपालमा ठूला राजनीतिक घटनाक्रमहरू घटेका छन् । देशका प्रमुख दलहरूका महाधिवेशन सम्पन्न भएका छन् । धेरै पार्टीमा नयाँ नेतृत्व चयन भएको छ । केही पार्टीमा पुरानै नेतृत्व अनुमोदन भएको छ । यस्तै, राजनीतिक दलहरूको विभाजनको शृंखला पनि यही वर्ष चल्यो । झण्डै दुईतिहाइ बहुमत भएको कम्युनिष्ट पार्टीको सरकार सन् २०२१ मै ढल्यो र प्रतिपक्षी दल जसको संसद्मा २५ प्रतिशत मत पनि छैन, सो पार्टीले सरकार सञ्चालन गरिरहेको छ । संसद्को दोस्रो पटकको विघटन पनि नेपालले व्यहोरेको छ । यद्यपि, अदालतबाट संसद् पुनःस्थापना भयो ।

यी हुन् २०२१ मा नेपालमा भएका मुख्य घटनाक्रम

दोस्रोपटक संसद् विघटन र अदालतद्वारा बदर

तत्कालीन समयमा केपी शर्मा ओलीले दोस्रोपटक संसद् विघटन गर्नुभएको थियो । उहाँले गर्नुभएको विघटनको प्रस्ताव राष्ट्रपति कार्यालयबाट सदर भए पनि सर्वोच्च अदालतले भने त्यसलाई बदर गरिदिएको थियो । आफ्नै पार्टीभित्र देखिएको आन्तरिक किचलोका कारण पहिलोपटक गत वर्ष पुसमा नै संसद् विघटनको प्रयास गरे पनि सफल नभएपछि अध्यक्ष ओलीले दोस्रोपटक संसद् विघटन गर्नुभएको थियो ।

तर, सर्वोच्च अदालतले संसद् विघटन बदर मात्रै गरेन सो समयको विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्न अन्तरिम आदेश पनि दिएको थियो । अहिले देउवा नेतृत्वको सरकारले नै देश सञ्चालन गरिरहेको छ ।

देउवासहित १४६ जनाले सर्वोच्च अदालतमा दायर गरेको रिटमा प्रधानन्यायाधीश सहितको पाँच सदस्यीय संवैधानिक इजलासले संसद् विघटन बदर गर्दै उहाँलाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको थियो । उक्त रिटमा पूर्व–प्रधानमन्त्री देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न माग गरिएको थियो ।

दुईतिहाइ बहुमत भएको पार्टीको सत्ताबाट बहिर्गमन

२०७४ सालको निर्वाचनमा झण्डै दुईतिहाइ मत लिएको तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्व सरकारले पार्टीभित्रको आन्तरिक लडाइँका कारण सन् २०२१ मै ढल्यो । केपी शर्मा ओली प्रधानमन्त्री भएपछि दुईपटक संसद् विघटनको असफल प्रयास गरेका कारण सरकारबाट बाहिरिनुपर्ने अवस्था आएको थियो ।

एकता बदर र पार्टी विभाजन

नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीको सरकार मात्रै ढलेन पार्टी एकतासमेत बदर भयो । अन्तरविरोध चर्कंदै गए पनि सर्वोच्च अदालतले नै नेकपाको एकता बदर गर्ने फैसला गरेको थियो । एकता गर्ने भए पुनः प्रक्रिया अगाडि बढाउन भने पनि नेताहरूको सम्बन्ध निकै चिसिएकाले त्यो सम्भव हुन सकेन । फलस्वरूप नेकपा एमाले र नेकपा माओवादी केन्द्रका रूपमा पार्टीहरूको अस्तित्व अगाडि बढ्यो ।

यसको असर एमालेभित्र पनि देखियो । केही महिनासम्म एमालेमा समानान्तर कमिटी निर्माणमा जुटेका नेताहरूले अन्ततः पार्टी नै विभाजन गरे । प्रधानमन्त्री शेरबहादुर देउवाले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि पार्टी विभाजन भएको थियो । नेता माधवकुमार नेपालले पार्टी विभाजन गरी नेकपा एकीकृत समाजवादी निर्माण गर्नुभयो । अहिले सो पार्टी सरकारमा रहेको छ ।

पाँच दलीय गठबन्धन

संसद्को विघटनसँगै बनेको समीकरण अन्ततः गठबन्धनमा परिणत भएको छ । गठबन्धन बनेपछि २५ प्रतिशत प्रतिनिधि नभएको पार्टीले सरकारको नेतृत्व गरिरहेको छ । तत्कालीन समयमा दुईतिहाइ मतसहित सरकारमा रहेका नेताहरूले अहिले विभाजित भएर दुई टुक्रामा सरकारमा सहभागी छन् । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी तत्कालीन नेकपाकै अंश हुन् भन्दा फरक पर्दैन । यी दुई दलसँगै नेपाली कांग्रेस जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा पनि गठबन्धनमा रहेको छ ।

प्रमुख राजनीतिक दलहरूका महाधिवेशन

सन् २०२१ मा नेपाली राजनीति दलहरू नवीकरण भएका छन् । नेपाली कांग्रेस नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलले आफ्नो महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरेका छन् । नेकपा माओवादी केन्द्रको महाधिवेशन जारी छ ।

नेकपा एमालेले चितवनमा महाविधेशन गरेको थियो । केपी शर्मा ओलीलाई पुनः अध्यक्षमा निर्वाचित गर्दै एमालेको महाधिवेशन सकिएको थियो । नेपाली कांग्रेसको महाधिवेशन काठमाडौंमा भएको थियो । कांग्रेसले शेरबहादुर देउवालाई पुनः सभापतिमा निर्वाचित गराएको छ । देउवा दोस्रो कार्याकालका निर्वाचित हुनुभएको हो ।

राप्रपामा भने कमल थापालाई पराजित गर्दै राजेन्द्र लिङ्देन अध्यक्षमा निर्वाचित हुनुभयो । अहिले राप्रपामा अन्तरविरोध बढ्दै गएको छ । माओवादी केन्द्रको महाधिवेशन जारी रहेको छ । तर, पुष्पकल दाहाल ‘प्रचड’लाई नै फेरि अध्यक्ष निर्वाचित गर्ने सम्भावना बढी देखिएको छ ।

खेलकुद क्षेत्र उथलपुथल र विवाद

सन् २०२१ मा नेपाली खेलकुद क्षेत्रमा पनि उथलपुथल भएको छ । अष्ट्रेलियन मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएपछि नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली क्रिकेट टोलीका पहिलो अन्तर्राष्ट्रिय प्रशिक्षक पुबुदु दासनायेकेलाई पुनः नियुक्त गरेको छ ।

यस्तै, नेपाल क्रिकेट संघले राष्ट्रिय टोलीका कप्तान र उपकप्तानलाई अनुशासनको कारबाही गरेर निलम्बन पनि गर्‍यो । सन्दीप लामिछानेलाई नयाँ कप्तानको रूपमा नियुक्त ग¥यो ।

बन्द प्रशिक्षणका लागि आह्वान भए पनि आधाभन्दा खेलाडी सहभागी भएका छैनन् । आगामी महिना ओमानमा हुने आइसिसी टि-२० ग्लोबल विश्वकप छनोट ‘ए’मा दसानायकेलाई सन्तुलित टिम बनाएर सफलता हात पार्ने चुनौती देखिएको छ ।

बंगलादेशको ढाकामा सम्पन्न एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताको उपाधिको रक्षा गर्न महिला भलिबल टोली सफल भयो । जापानको टोकियोमा आयोजना भएको ओलम्पिक प्रतियोगितामा नेपालले सहभागिता जनायो ।

मनोरञ्जनको क्षेत्र प्रभावित 

सन् २०२१ मा पनि कोरोनाले प्रभावित भएको छ । कोरोना भाइरसका कारण आधा वर्ष चलचित्र हलहरू बन्द हुँदा चलचित्रकर्मीहरू समस्यामा परे । गीतसंगीत र म्युजिक भिडियो भने आउनेक्रममा खासै परिवर्तन भएन । प्रशस्तै गीतका भिडियोहरू बजारमा आउनुका साथै केहीले राम्रो आम्दानीसमेत गरे ।

कोरोना महामारीको अनुकुूता हेरेर बलिउड र हलिउडका केही चलचित्रहरू सिनेमा घरमा प्रदर्शन भए । जसले उल्लेखनीय लोकप्रियता हासिल गरे । अन्य क्षेत्रमा धेरै प्रभाव नदेखिए पनि केही समाजिक अपराधका घटनाहरू भने घटेका छन् ।

२०२१का विश्वका केही प्रमुख घटनाक्रम

सन् २०२१ मा पनि विश्व कोभिडको सन्त्रासमा नै रह्यो । कोरोना विरुद्धको भ्याक्सिन निर्माणमा विश्वको ध्यान केन्द्रित भए पनि नयाँ भेरियन्ट उत्पत्ति हुँदा केही समस्या भने सिर्जना ग¥यो । यद्यपि, भ्याक्सिन लगाइसकेपछि भने सामान्य जीवनयापनमा सहजता भने आएको छ ।

२०२१मा केही राजनीतिक घटनाक्रमहरूले विश्वको ध्यान तान्यो । अमेरिकामा डोनाल्ड ट्रम्प शासनको अन्त्य र अफगानिस्तानमा तालिवानको उदयले विश्वको ध्यान केन्द्रित गर्न सफल भयो । कोरोना महामारीको असर मात्र नभएर ०२१ मा वर्ष विश्वका राजनीतिक घटनाक्रम पनि चर्चित रहे । युद्ध, जलवायु परिवर्तन र प्राकृतिक विपत्तिको सामना गर्दै २०२१ बिदा भएको छ ।

तालिवानको पुनर्उदय

अफगानिस्तानको सत्तामा फेरि तालिवान आएको छ । सन् २०२१ मा अमेरिकी सेना स्वदेश फिर्ता भएसँगै तालिवान सत्तामा आएका हो । पूर्व सम्झौताअनुसार अमेरिकी सेना फिर्ता हुँदै गर्दा तालिवानले आफ्नो पकड देशभरि नै लगभग बनाइसकेको थियो । अमेरिकी सेना फिर्ता भएसँगै तालिवान तालिवान सत्तामा मात्रै आएन त्यहाँका राष्ट्रिय सेनाको पनि पहिचान हरायो ।

राष्ट्रपति देश छाडेर भाग्नुपर्ने अवस्थासमेत आयो । यद्यपि, राजधानी शहर कब्जा शान्तिपूर्ण रूपमा भएको थियो । अगष्ट १५ मा राजधानी शहर काबुलमा हजारौँ विदेशी फसेका समाचार र तस्बिरहरू भाइरल भएका थिए ।

तालिवानले तोकेको समयसीमा अगष्ट ३१ सम्ममा अफगानिस्तानमा फसेका अमेरिकीलाई बाहिर निकाल्न ठूलो प्रयास अमेरिकाले गर्‍यो । अगष्ट ३० मा सबै अमेरिकी फिर्ता भए ।

अमेरिकाले दुई दशकमा अफगानिस्तानमा २.३ ट्रिलियनभन्दा बढी खर्च गरेका थियो । अफगानिस्तानमा २५ सयभन्दा बढी अमेरिकी सेवा प्रदायकहरू र चार हजार अमेरिकी ठेकेदारहरूको मृत्यु भएको रेकर्डहरू भेटिन्छन् । करिब एक लाख ७० हजार अफगानीहरूले ज्यान गुमाएका थिए ।

इथियोपियाको गृहयुद्ध 

गृहयुद्धले विश्वका धेरै मुलुक तहसनहस भएको र लाखौँको ज्यान गएका घटनाहरू तपाईं हाम्रो अगाडि छन् । यस्तैमा गृहयुद्धबाट इथियोपिया पनि अछुतो रहन सकेन । त्यहाँका प्रधानमन्त्री अबी अहमदले नोभेम्बर २०२० मा इथियोपियाली सेनालाई टिग्रेको उत्तरी प्रान्तमा आक्रमण गर्न निर्देशन दिएपछि टिग्रे पिपुल्स लिबरेसन फ्रन्टसँग सम्बन्धित लडाकुले संघीय सेनाको आधार शिविरमा लुटपाट गरका थिए । त्यसपछि अवस्था तनावग्रस्त बन्दै गयो ।

टिग्रेको राजधानी मेकेले कब्जा गरेर संघीय सेनाले महत्वपूर्ण प्रारम्भिक विजय हात पारेको थियो । फेरि, जुन २०२१ मा लिबरेसन फ्रन्टका डाकुले मेकेलेलाई पुनः आफ्नो कब्जामा पारे । नोभेम्बरसम्म लिबरेसन फ्रन्ट र यस सम्बद्ध लडाकुहरू दक्षिणमा इथियोपियाको राजधानी अदिस अबाबा र पूर्वमा जिबुतीतर्फ अघि बढिरहेका थिए । लिबरेसन फ्रन्टको सफलताले इथियोपिया ध्वस्त हुन सक्ने सम्भावना बढायो । लडाइँ रोकिए पनि परिणाम भयावह हुने देखियो । करिब २० लाख इथियोपियाली विस्थापित भएका छन् । द्वन्द्वरत पक्षहरूले जातीय विनाश, नरसंहार र सामूहिक बलात्कारजस्ता युद्ध अपराध गरेका छन् ।

बाइडेनको उदय

संयुक्त राज्य अमेरिकामा आफ्नो शासन चलाइरहनु भएका डोनाल्ड ट्रम्पको नराम्रो बहिर्गमन र जो बाइडेनको उदय सन् २०२१ मा नै भयो । बाइडेन सत्तामा आएसँगै इरान आणविक सम्झौतालाई पुनः सुचारु गर्दै यमनमा आक्रामक सैन्य कारबाहीका लागि अमेरिकी समर्थन समाप्त गर्नेसम्मका निर्णय गर्नुभयो ।

ट्रम्प ‘अमेरिका फष्ट’ नीतिअनुसार अगाडि बढे पनि बाइडेनले भने उहाँका हरेक निर्र्णयलाई उल्ट्याउँदै जानुभयो । चीन र व्यापारजस्ता महत्वपूर्ण मुद्दाहरूमा बाइडेनको नीति लगभग सफल देखिएको विश्लेषण पनि हुन थालेका छन् ।

उहाँले अफगानिस्तानबाट सेना फिर्ता बोलाउनुभयो । खोपका लागि बौद्धिक सम्पत्ति अधिकारको मागलाई समर्थन पनि गर्नुभयो ।

इरानको आणविक प्रगति

अमेरिकी पूर्व-राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताबाट बाहिरिएको तीन वर्षपछि इरान आणविक सम्झौता पुनर्जीवित गर्न सक्ने आशा सन् २०२१ बाट नै सुरु भएको छ । जो बाइडेन सत्तामा आए र ट्रम्पको इरान नीतिलाई ‘आत्मप्रेषित विपद्’ को संज्ञा दिँदै इरानले शर्त पालना गरेमा सम्झौतामा फर्कने वाचा गरेपछि यो सम्भव भएको थियो । अप्रिलको मध्यमा इरानी आणविक केन्द्रमा विस्फोट भयो । यसले इरानलाई आफूले ६० प्रतिशतमा युरेनियम प्रवद्र्धन गर्न थालेको घोषणा गर्न बाध्य तुल्यायो ।

आपूर्तिमा अवरोध 

विश्वमा कोभिड महामारी फैलिएपछि यसले आपूर्ति शृंखलामा भने निकै ठूलो असर गरेको छ । कोरोना महामारी फैलिएसँगै धेरै उद्योगधन्दाहरू बन्द रहे सन् २०२१ मा खोप उपलब्ध हुन थालेपछि उपभोक्ताको माग बढ्यो । तर, धेरै कम्पनीले आफूसँग भएको पार्टपुर्जा र आपूर्तिमा कमी पाए । विश्वभरका बन्दरगाहहरूमा ढुवानी कन्टेनरहरूको अभावले थप जटिलता निम्त्यायो ।

विवादित तर महत्वपूर्ण ओकस सम्झौता

अमेरिका, अष्ट्रेलिया र बेलायतबीच सन् २०२१ मा एउटा महत्वपूर्ण सम्झौता भएको छ । ओकस नाम दिइएको सो सम्झौता सेप्टेम्बर १५ मा भएको हो । अमेरिकी राष्ट्रपति जो बाइडेन, अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन र बेलायती प्रधानमन्त्री बोरिस जोनसनले संयुक्त रूपमा ओकस नामक नयाँ त्रिपक्षीय सुरक्षा साझेदारीको गर्नुभएको थियो । सबैभन्दा महत्वपूर्ण विषय अष्ट्रेलियालाई आठ आणविक सञ्चालित जहाजहरू निर्माणका लागि प्रविधि प्रदान गर्ने अमेरिकी प्रतिबद्धता थियो ।

अमेरिकी प्रविधिमा समान पहुँच प्राप्त गर्ने अर्को एकमात्र देश बेलायत थियो । ओकसलाई बढ्दो चिनियाँ दृढताको प्रतिक्रियाको रूपमा हेरिएको थियो । बेइजिङले सम्झौतालाई ‘अत्यन्त गैरजिम्मेवार’ र ‘ध्रुुवीकरण’ भनी निन्दा गर्‍यो । सम्झौताले चीनलगायत अन्य शक्तिशाली राष्ट्रहरूको पनि मन दुखाएको थियो ।

भ्याक्सिन निर्माणको तीव्र गति र सफलता 

कोरोना महामारीले विश्व नै आक्रान्त भएका बेला सन् २०२१ मा भ्याक्सिनको विकासका लागि महŒवपूर्ण रहृयो । खोपहरूको इतिहास हेर्दा कुनै पनि खोप विकासका लागि १० देखि १५ वर्ष लाग्थ्यो । यसअघि कुनै पनि खोप सबैभन्दा छिटो विकसित भएको भनेको ‘मम्पस भ्याक्सिन’ थियो । जसका लागि चार वर्ष लागेको थियो । कोभिड–१९ का खोपहरू एक वर्षभन्दा कम समयमा विकास गरिएका थिए । कोभिडका प्रारम्भिक भेरियन्टहरूविरुद्ध फाइजर र मोडर्नाका खोपहरू ९० प्रतिशतभन्दा बढी प्रभावकारी देखिएको थियो ।

म्यानमारका जनताका लागि बिर्सनलायक वर्ष

म्यानमारका जनताका लागि यो वर्ष बिर्सनलायक रहृयो । सेनाले सत्ता नियन्त्रणमा लियो भने त्यहाँ आम सर्वसाधारण, बालबालिका र महिलाहरूको हत्या गरिएको घटना सार्वजनिक भइरहे । फेब्रुअरी १ मा जननिर्वाचित सरकारलाई अपदस्थ गर्दै म्यानमारको जुन्ताले सत्ता नियन्त्रणमा लियो । सरकारको नेतृत्व गरेको दल नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)की नेतृ आङसाङ सुकी र अन्य लोकतन्त्रवादी नेताहरूलाई पक्राउ गर्दै सेनाले अहिले शासन चलाइरहेको छ ।

राष्ट्रसंघका अनुसार सेनाले ‘कू’ गरेयता सेनासँगको लडाइँमा १३ सयभन्दा बढी नागरिकले ज्यान गुमाएका छन् भने सयौँ घाइते छन् । नेतृ सुकीलाई दर्जनौँ अभियोगमा सैनिक नियन्त्रणको अदालतले जेल सजाय सुनाएको छ र अहिले उहाँ हिरासतमा हुनुहुन्छ । अन्तर्राष्ट्रिय शक्तिहरूको तीव्र विरोध हुँदाहुँदै पनि सैनिक सरकारले आगामी वर्ष २०२२ मा आमनिर्वाचन गर्ने बताएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी एक सय वर्ष पूरा गर्‍यो 

सन् २०२१ चीनको कम्युनिष्ट पार्टीले एक सय वर्ष पूरा गरेको छ । सन् १९४९ देखि चीनको सत्ता आएको चिनियाँ कम्युनिष्ट पार्टीले जुलाईमा स्थापनाको सय वर्ष मनाएको हो । सो अवसरमा तियानमेन स्क्वायरमा आयोजित विशेष सम्बोधनमा राष्ट्रपति सी जिनपिङले चीनलाई आगामी शताब्दीको पहिलो विश्व शक्ति बनाउने उद्घोष गर्नुभएको थियो ।

सो अवसरमा चीनले नेपालसहितका मित्र राष्ट्रसंघ भर्चुअल संवादसमेत आयोजना गरेको थियो । यसैवर्षदेखि सी विचारधारालाई चीनको पाठ्यक्रममा समावेश गर्ने र उहाँलाई थप शक्तिशाली बनाउने घोषणा पनि भयो । केही महिनाअघि बसेको केन्द्रीय कमिटी बैठकले सीलाई आगामी कार्यकालको लागि पनि राष्ट्रपति बनाउने बाटो खुला गरेको छ ।