आङसाङ सुकीको सुनाई तत्कालका लागि स्थगित।

एजेन्सी (यांगुन) := गैरकानुनी आयात र वाकिटकीको दुरुपयोगविरुद्ध म्यानमारको अदालतले लोकतन्त्रवादी नेतृ आङसाङ सूचीविरुद्ध सुनाइने भनिएको फैसला तत्काललाई स्थगित भएको छ । नोबेल पुरस्कार विजेता नेतृले नेतृत्व गरेको जननिर्वाचित सरकारलाई गत फेब्रुवरी १ मा अपदस्थ गरेयता नेतृ सूची हिरासतमा हुनुहुन्छ । त्यहाँको सैनिक अदालतले ७६ वर्षे नेतृ सुकीलाई ती आरोपहरूमा सोमबार फैसला सुनाउने तयारी गरेको थियो ।

ती आरोप प्रमाणित भए नेतृ सुकीलाई आजीवन कारावासको सजाय हुनसक्छ । न्यायाधीशले जनवरी १० सम्म फैसला सुनाउने अवधिलाई पर सारेका छन् । यस महिनाको सुरुवातमा कोभिड-१९ प्रोटोकल उल्लंघन गरेको र नागरिकलाई उक्साएको आरोपमा नेतृ सूचीलाई चार वर्षको जेल सजायको फैसला सुनाइएको छ । तर, सेना प्रमुख जनरल मिन हाङ हिृयाङले यसैसाता सूचीविरुद्धको अदालती सजायलाई आधा कटौती गरेको बताउनुभएको छ ।