काठमाडौं:= नेपाल आर्मीकी मञ्जु विक १७औँ राष्ट्रिय पुरुष तौलसमूह तथा १६औँ राष्ट्रिय महिला खुला तौलसमूह फुल कन्ट्याक्ट कराँते प्रतियोगिताअन्तर्गत महिला खुला तौलसमूहमा सोमबार पहिलो हुनुभएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा मञ्जुले सो क्योकुसिनकी शिवानी श्रेष्ठलाई पराजित गर्नुभयो । केडब्लुडब्लुकी करिश्मा कार्की तेस्रो तथा आइकेकेएफकी चन्दाकुमारी भुजेल चौथो हुनुभयो ।
नेपाल क्योकुसिन कराँते डो संघ वज्रद्वारा आयोजित प्रतियोगिताको पुरुष ७५ केजीमाथि नेपाल आर्मीका सनीसिं सुनार पहिलो हुनुभयो । उहाँले फाइनलमा आर्मीकै विकास गुरुङलाई हराउनुभयो । केन्द्रीय डोजोका प्रेम तामाङ तेस्रो बन्नुभयो ।
पुरुष ७५ केजीमुनि आइकेकेएफका थमप्रकाश खड्काले स्वर्ण जित्नुभयो । उहाँले फाइनलमा लुम्बिनी डोजोका दिलिप यादवलाई पाखा लगाउनुभयो । सो क्योकुसिनका सतल लामा तेस्रो तथा आर्मीका मनोज थपलिया चौथो स्थानमा रहनुभयो । पुरुष ६० केजीमुनि सो क्योकुसिनका सुजन पाख्रिनले फाइनलमा आर्मीका भुपेन्द्र वलीलाई पन्छाउँदै शीर्ष स्थान हात पार्नुभयो । आइकेकेएफका सञ्जेश तामाङ तेस्रो तथा केडब्लुडब्लुका होमबहादुर राई चौथो हुनुभयो ।
विजेतालाई आयोजक संघका अध्यक्ष जगत्प्रसाद गौचन, उपाध्यक्ष पुष्प मानन्धरलगायतले एक कार्यक्रमबीच नगद, ट्रफी, पदक, गिफ्ट हृयाम्पर र प्रमाणपत्र प्रदान गर्नुभयो । दुईदिने प्रतियोगितामा आर्मी र सात प्रदेशबाट ८० पुरुष र ३५ महिला खेलाडीको सहभागिता थियो । पुरुषमा तीन तथा महिलामा एक स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।




















