काठमाडौं:= नायिका तथा मोडल परमिता राज्यलक्ष्मी राणाले आफूलाई पारिश्रमिक नदिनेहरूको नाम सार्वजनिक गर्ने चेतावनी दिनुभएको छ । परमिताले आफ्नो इन्स्टाग्राम अकाउन्टको स्टोरीमा यस्तो चेतावनीयुक्त मेसेज पोष्ट गर्नुभएको छ ।
परमिताले आफूले मोडिलिङ र अभिनय गरेबापत् पाउनुपर्ने पारिश्रमिक समयमै नपाएकोमा असाध्यै दिक्क र वाक्क भएको बताउनुभएको छ । आफूले निकै गाह्रो गरी कमाएको आफ्नो पैसा पनि भिक मागे जसरी मागिरहनुपर्ने कुराले उहाँलाई दुःखी तुल्याएको बताउनु भएको छ ।
उहाले चेतावनी दिँदै लेख्नुभएको छ, ‘म आजित भइसकेँ । असाध्यै आजित भइसकेँ । अब त पारिश्रमिक नदिनेहरूको नाम सार्वजनिक नै गरिदिन्छु ।’ यस्तो गर्नुपर्दा आफूलाई नराम्रो लागेको बताउँदै यो नै अन्तिम उपाय भएको बताउनुभएको छ ।
नेपालमा मोडलिङ र अभिनय क्षेत्रमा लाग्न चाहनेका लागि यस्ता कुराहरूले निकै दुःखी तुल्याउने उहाको भनाइ छ । आफूले अभिनय गरेको एउटा फिल्मको पूरा पारिश्रमिक एक वर्षपछिमात्रै पाएको परमिताले खुलाउनुभयो ।
चलचित्र ‘चपली हाइट २’ बाट अभिनेत्रीको रूपमा डेब्यू गर्नुभएकी परमिताले ‘रोज, कर्मा, चंगा चेट’ लगायतका चलचित्रमा अभिनय गरिसक्नुभएको छ । तिहारअघि उहाँले नेपालमा खिचिएको बलिउड चलचित्र ‘उचाइ’मा पनि अभिनय गर्नुभएको छ ।




















