न्यूयोर्कको रमझम साँझमा घन्कियो गलबन्दी।

काठमाडौं:= दुई वर्षअघि सार्वजनिक प्रकाश सपुतको ‘गलबन्दी’ गीतले देशसँगै विदेशमा अत्यधिक चर्चा कमायो । यही गीतले गायक प्रकाशलाई नेपालका विभिन्न जिल्लाको कुना कुनासँगै विदेशका थुप्रै देशमा पुरायो । कुनै पनि स्टेजमा चढिसकेपछि प्रकाशलाई ‘गलबन्दी’ नगाई सुख हुँदैन ।

यस्तै यो अन्तरालमा अमेरिकाका दर्शकलाई गायक प्रकाशले प्रत्यक्ष गीत गाएर सुनाउन पाउनुभएको थिएन ।गत आइतबार (डिसेम्बर २६) राति न्यूयोर्कस्थित क्विन प्यालेसमा ‘गलबन्दी’ मज्जैले घन्कियो । पहिलो पटक न्यूवर्क पुग्नुभएका गायक प्रकाशले आफ्ना चर्चित गीतहरू सुनाउनुभयो । हलमा उपस्थित सयौं दर्शक प्रकाशका गीतमा मज्जैले झुमेको देखियो।

नेपाली अमेरिकन कलाकार संघले आयोजना गरेको ‘रमझम साँझ २०२१’मा प्रकाशसँगै लोकप्रिय कलाकार तथा चलचित्र निर्देशक दीपाश्री निरौला, गायक किरण गज्मेरले पनि आफ्नो प्रस्तुतिले झुमाउनु भएको थियो ।

यस्तै कार्यक्रममा गायक प्रेमराजा महत, भगवान भण्डारी, उदय भट्टराई, लक्ष्मण पौडेल, गायिका रेश्मा सुनुवार, शान्ति भण्डारी, अञ्जना गुरुङ, डान्सर गीता राई, शंकर बिसीको पनि प्रस्तुति रहेको थियो ।

कार्यक्रम भव्यताका साथ सम्पन्न भएको संस्थाको महासचिव संगीता थापामगरले जानकारी गराउनुभयो । संगीताका अनुसार कार्यक्रममा सोचेनुरूपका दर्शकको उपस्थिति थियो । यस्तै कार्यक्रममा गायिका सपनाश्री र गायक जगदीश समाललाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको वसन्ती राईलाई विशेष सम्मान गरिएको नेपाली अमेरिकन कलाकार संघका पूर्वअध्यक्ष लोकप्रिय गायक विमल डाँगीले जानकारी गराउनुभयो ।

यस्तै संस्थाकी अध्यक्ष निशा सुनारले कार्यक्रम सम्पन्न गर्न खटिने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नुभएको छ । उहाँले आगामी दिनमा पनि यस्तै कार्यक्रम गर्ने जानकारी गराउनुभयो ।गायक प्रकाशले पहिलो पटक न्यूवर्क आउँदा निकै माया पाएको र नेपालीहरूको गीतसंगीत प्रतिको मोह निकै रहेको जानकारी गराउनुभयो ।

प्रकाशले स्टेजबाटै न्यूयोर्क आफूले सोचेभन्दा धेरै फरक रहेको बताउनुभएको थियो । वरिष्ठ लोक गायक भगवान भण्डारी प्रमुख अतिथि रहेको कार्यक्रम साँझ ७ बजे सुरु भएर बिहान २ बजे सकिएको थियो ।