मधेशको टाउकोमा नेताहरूको राजनीति! व्यक्तिगत स्वार्थले जनतालाई सधैँ सास्ती।

काठमाडौं:= स्वतन्त्र मधेशको मुद्दा उठाएर चर्चामा आउनुभएका डा. सिके राउतले अहिले मधेशमा चक्काजामका नाममा ध्वंसात्मक आन्दोलन सुरु गर्नुभएको छ । तत्कालीन समयमा स्वतन्त्र मधेशको मुद्दा उठाएर अराजक गतिविधि र अभिव्यक्ति दिन थालेपछि राउत प्रहरीको खोजी सूचीमा रहनुभएको थियो । तर, केपी शर्मा ओली नेतृत्वको सरकारसँग सम्झौता गरी उहाँ अखण्ड नेपालको पक्षमा आफू रहेको र राष्ट्रिय राजनीतिमा आउने घोषणा गर्नुभएको थियो ।

देश विखण्डन पक्षमा निरन्तर अभियान चलाउँदै आउनुभएका रावत सर्वाेच्च अदातलको आदेशमा सामान्य तारेखमा कारागारमुक्त भएपछि मूलधारको राजनीतिमा आउनुभएको थियो । ओलीसँग सम्झौता गरेको केही समय शान्तिपूर्ण राजनीतिक कार्यक्रम आयोजना गर्दै आएको राउत नेतृत्वको जनमत पार्टीले चक्काजामको नाममा ध्वंसात्मक आन्दोलन सुरु गरेको छ । कहिले निजामती कर्मचारीमाथि दुव्र्यवहार त कहिले चक्काजामका नाममा सार्वजनिक सवारीमा आगजनीका घटनाहरू राउत नेतृत्वको पार्टीका कार्यकर्ताले घटाउँदै आएका छन् ।

पछिल्लो समय सिरहा जिल्ला आमहडताल गरेको जनमत पार्टीले सोमबार जिल्लाभर चक्काजाम गरेको थियो । आन्दोलनका कारण राजमार्गमा आइतबार र सोमबार प्रहरीले स्कटिङ गरेर सवारीसाधनलाई गन्तव्यमा पु¥याउने काम ग¥यो । आन्दोलनकारीले आइतबार एउटा ट्रकमा आगजनी र दर्जनौँ सवारीमा तोडफोड गरेका थिए । आइतबार राजमार्ग बन्द गराउने क्रममा जनमत पार्टीका १४ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले आन्दोलनमा दमन गरेको भन्दै जिल्लाभर चक्काजाम गर्ने निर्णय गरेको केहीघण्टा नबित्दै प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले पुस १३ र १४ गते बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्म निषेधाज्ञा जारी भएको बताउनुभयो । निषेधाज्ञा अवधिभरि राष्ट्रिय लोकमार्ग र सिरहा चोहर्वा सडकखण्डमा यातायात सुचारु रहनेछ भने बाहिर हिँड्डुुल गर्न, भेला हुन तथा राजनीतिक सभा र गतिविधि गर्न नपाउने सूचनामा उल्लेख छ ।

मधेश आन्दोलन र त्यसपछिका घटनाक्रमले नेताहरू जनताका नाममा आफ्नो स्वार्थपूर्तिमा मात्रै तल्लिन रहेको घटनाक्रमले पनि देखाउँछ । मधेशी जनताको रक्षा र हक अधिकारका कुरा आफ्नो मुद्दा बनाउँदै आएका दलहरू जुट्ने फुट्ने क्रम पनि जारी रहेको छ । एकताको छोटो समयमा नै जनता समाजवादी पार्टी जसपाबाट छुटेर चार महिनाअघि बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)भित्र अहिले विवाद चर्किँदै गएको छ । पार्टीभित्र विधि विधानको उल्लंघन भएको तथा पार्टी अध्यक्ष महन्थ ठाकुरले एकलौटी पार्टी सञ्चालन गरेको आरोप लगाउँदै असन्तुष्ट समूह विरोधमा उत्रिएको हो ।

विरोधस्वरूप धनुषा र महोत्तरी जिल्लाबाट आएर नेता तथा कार्यकर्ताहरू धर्नामा बसेका छन् । धर्नामा रहेका नेता कार्यकर्ताहरूले ६ बुँदामा माग राख्दै आइतबारबाट शान्तिपूर्ण धर्ना सुरु गरेका हुन् । पार्टीका आन्तरिक विधान तथा अवधारणा पत्र जारी हुनुपर्ने उनीहरूको माग छ । यस्तै, पार्टीले जिल्ला अध्यक्ष, प्रदेश अध्यक्ष तथा पर्यवेक्षक लगायतमा गरेका नियुक्तिहरू पुनरावलोकन हुनुपर्ने माग राखिएको छ ।

६ बुँदे मागमा पार्टीको कुनै पनि निर्णय विधि प्रक्रिया सम्वत् हुनुपर्ने, एक व्यक्ति एक पदको अवधारणा पार्टीमा लागू हुनुपर्ने, भ्रातृ संगठनको गठन, सबै जिल्लामा पार्टी कार्यालयको स्थापना गरिनुपर्ने विषय समावेश गरिएको छ । यस्तै, पार्टीका कार्यकारिणी समितिको नियमित बैठक बस्नुपर्ने मागले पनि प्राथमिकता पाएको छ । लोसपामा अध्यक्ष ठाकुरले एकलौटीमा रूपमा आठ जिल्ला र प्रदेश नम्बर २ मा पार्टी अध्यक्षको जिम्मेवारी बाँडफाँट गरेको विषयमा विवाद सुरु भएको हो । अहिले राजेन्द्र महतो र अनिल झा पक्षका नेता कार्यकर्ताहरू आन्दोलनमा रहेका छन् । धर्नामा रहेका नेताहरूले आफ्ना माग पूरा नभए समानान्तर कमिटी निर्माणको चेतावनी दिएका छन् ।

अर्को पार्टी जनता समाजवादी पार्टी अहिले सरकारमा रहेको छ । कुनै बेला सरकारले आफ्ना माग पूरा गर्ने प्रयाससमेत नगरेको भन्दै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको जसपा पार्टी एकता, विभाजन र नेतृत्व परिवर्तनसँगै सरकारमा गएको हो । सरकार गठनको आधा वर्ष बित्न लाग्दासमेत मधेशी दलहरूले उठाँउँदै आएका मुद्दाहरू सुनुवाइ हुन नसकेको नेताहरू बताउँछन् ।

मधेसी जनताको मुद्दा सम्बोधनका लागि आफ्नो अडान कायमै रहेको बताउने नेताहरू स्वार्थ पूरा भएपछि मुद्दा पनि बिर्सिंदै जाने संस्कारले जनता आजित भएका छन् । मधेशको नाममा हुने गरेको अतिवादी राजनीतिले ठूलो रूप लिए पनि अन्य दलमा समेत जनतालाई उल्लु बनाएर आफ्नो दुनो सोझ्याउने क्रम रोकिएको छैन ।