ग्लोवो सकर अवार्ड फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा फरवार्ड केलियन एम्बाप्पेले जिते।

दुबई (युएई):= फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा फरवार्ड केलियन एम्बाप्पेले दुबईमा सोमबार राति सम्पन्न ग्लोवो सकर अवार्डको उपाधि जित्नुभएको छ । उहाँले ६ पटकको विजेता क्रिस्टियानो रोनाल्डो, गत वर्षको विजेता रोबर्ट लेवान्डोस्की, लियोनेल मेस्सी, मोहम्मद सलाह र करिम बेन्जेमालाई पछि पार्दै अवार्डमाथि कब्जा जमाउनुभएको हो ।

२३ वर्षीय एम्बाप्पेले गत सिजन लिग वानमा २७ गोल गर्नुभएको थियो । लिगमा उहाँको टोली पिएसजी उपविजेता बनेको थियो । दुबईको अल वाल्स प्लाजामा सोमबार राति भएको १२औँ संस्करणको अवार्ड समारोहमा जर्मन क्लब बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्कीले दुई अवार्ड जित्नुभयो । उहाँलाई टिकटक फ्यान्स अवार्ड र म्याराडोना अवार्ड प्रदान गरिएको थियो ।

यस्तै पोर्चुगल तथा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका रोनाल्डोले सर्वाधिक गोलकर्ता (अल टाइम) को अवार्ड हात पार्नुभयो । उहाँले राष्ट्रिय टोलीबाट ११५ अन्तर्राष्ट्रिय तथा व्यावसायिक करिअरमा आठ सय बढी गोल गर्नुभएको छ ।

यस्तै वर्ष उत्कृष्ट प्रशिक्षकमा रोबर्टाे मान्सिनी (इटाली), वर्ष उत्कृष्ट राष्ट्रिय टोली इटाली, वर्ष उत्कृष्ट एजेन्ट फेडरिको पास्टोरेलो, वर्ष उत्कृष्ट खेल निर्देशक टिछिकी वेगिरिस्टेन, वर्ष उत्कृष्ट पुरुष क्लब चेल्सी, वर्ष उत्कृष्ट पुरुष डिफेन्डर लियोनार्दाे बोनुची (युभेन्ट्स), वर्ष उत्कृष्ट पुरुष गोलरक्षक जियानलुइगी डोन्नररुम्मा (युभेन्ट्स–पिएसजी), प्लेयर करिअर अवार्ड रोनाल्डिन्हो, वर्ष उत्कृष्ट महिला क्लब बार्सिलोनाले जितेको छ ।