नयाँदिल्ली:= भारतको राजधानी नयाँदिल्लीमा रात्रिकालीन निषेधाज्ञा सुरु गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणमा निरन्तर वृद्धि देखिएको भन्दै राज्य सरकारले सोमबारबाट पुनः रात्रिकालीन निषेधाज्ञा (कर्फ्यु) लगाउने निर्णय गरेको हो ।
ओमिक्रोन भेरियन्टसँग जोडिएका संक्रमित बिरामीको संख्या वृद्धि भएपछि सरकारले यस्तो घोषणा गरेको हो । सरकारले सोमबारदेखि लागू हुनेगरी राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको छ । भारतमा चार सयभन्दा बढी व्यक्तिमा ओमिक्रोन भेरिअन्ट संक्रमण पुष्टि भएको बताइएको छ । यता विश्वभर कोरोना संक्रमितको संख्या २८ करोड नाघेको छ । पछिल्लो समय झण्डै चार लाख नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या २८ करोड तीन लाख पुगेको बताइएको हो ।
पछिल्लोपटक सबैभन्दा धेरै अमेरिकामा ९५ हजार जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै, फ्रान्समा २७ हजार ६ सय, इटलीमा २४ हजार ८ सय, रसियामा २३ हजार ७सय, टर्कीमा २० हजार र भियतनाममा १५ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।
यस्तै, उक्त अवधिमा कोरोना संक्रमणबाट विश्वभर झण्डै तीन हजार जनाको मृत्यु भएको छ । जसमध्ये रसियामा ९६८, भियतनाममा २०७, टर्कीमा १७३ र युक्रेनमा १३८ जना छन् । पछिल्लो समयसम्म विश्वभर ५४ लाख १६ हजार जना कोरोना संक्रमितको मृत्यु भइसेको छ भने दुई करोड ४५ लाख सक्रिय संक्रमित छन् ।




















