काठमाडौं:= म्युजिक खबर म्युजिक अवार्डको नवौं संस्करणमा गायिका पूर्णिमा लामाले सुगम संगीत महिला गायिका विधातर्फको सर्वोत्कृष्ट गयिकाको अवार्ड चुम्न सफल हुनुभएको छ ।
आइतबार काठमाडौंको लैनचौर ब्यंकेटमा भव्यताका साथ सम्पन्न भएको उक्त अवार्ड समारोहमा चर्चित गायिका पूर्णिमा लामाले अवार्ड हात पार्न सफल हुनुभएको हो । ‘एक पल्ट भनन’ भन्ने गीतबाट लामाले अवार्ड हात प्राप्त गर्नुभएको हो । गायिका लामा र विशाल निरौलाको स्वरमा रहेको उक्त गीत विशाल निरौलाको युटुब च्यानलमार्फत केही समयअघि सार्वजानिक गरिएको थियो ।
नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री मन्त्री प्रेम आलेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अवार्ड समारोह सम्पन्न भएको थियो । ‘एक पल्ट भनन’ गीतले तीस लाख क्रस भ्युजसहित चर्चाको शिखर चुमिरहेको छ । यो गीतको शब्द र संगीत खेम सारु मगरको छ । गायिका लामासँग अन्य गायिका देविका बन्दना, निशा देशार, रीता केसी र बानिका प्रधान प्रतिस्पर्धामा रहनुभएको थियो ।
म्युजिक खबर अवार्डद्वारा उक्त समारोहमा विभिन्न ४२ विधामा अवार्ड वितरण गरिएको थियो । सानै उमेरमै सांगीतिक क्षेत्रमा लोकप्रियता कमाउनुभएकी गायिका लामाले पछिल्लो समयसम्म झण्डै चार सयभन्दा बढी गीतमा स्वर दिनुभएको छ । उहाँका ‘मुटु जली खरानी भो’ ‘फूल भनौ जिन्दगीलाई’, ‘तिमी बिना पागल भाछु’, ‘एक्लो भए म’ जस्ता दर्जनौं गीत श्रोता÷दर्शकमाझ लोकप्रिय छन् ।
धादिङ जिल्ला साविक बैरेनी गाविस-८ हाल गल्छी गाउँपालिका-७ मा बुबा रामचन्द्र तामाङ र आमा कान्छी तामाङकी कान्छी सुपुत्रीको रूपमा जन्मिनुभएको हो । उहाँ शालिन तथा बहुप्रतिभाकी धनी हुनुहुन्छ । उहाँले सानै उमेरमा देश विदशका विभिन्न सांगीतिक कार्यक्रममा लोकप्रियता हासिल गर्नुभएको छ । यो अवार्डले आफूमा थप सांगीतिक अभिभारा थपिएको लामाले बताउनुभयो ।




















