एपिएफलाई प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि।

धनगढी:= विभागीय टिम एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । एपिएफले प्रदेश १ लाई पराजित गर्दै सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको हो ।

धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको फाइनल खेलमा प्रदेश १ लाई ७ विकेटले हराउँदै एपिएफ च्याम्पियन भएको हो । उपाधि जितेसँगै  विभागीय टिम एपिएफले नगद पाँच लाखसहित ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता भएको प्रदेश १ ले नगद तीन लाखसहित ट्रफी र मेडल पाएको छ ।

एपिएफले टस जितेर पहिले फिल्डिङ रोजेपछि प्रदेश १ ले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेटको क्षतिमा ६७ रन बनायो । खराब ब्याटिङ गरेको प्रदेश १ का लागि कप्तान रुविना क्षेत्रीले ३४ रन बनाउनुभयो । अप्सरी वेगमले ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रन अंक जोड्न सक्नुभएन । एपिएफका लागि सीता राना मगरले ३ र रेखा रावलले २ विकेट लिनुभयो ।

प्रदेश १ ले दिएको ६८ रनको लक्ष्य एपिएफले १४ दशमलब २ ओभरमा ३ विकेटको क्षतिमा पूरा ग¥यो । एपिएफका लागि ओपनर ज्योति पाण्डेयले अविजित ३७ रन बनाउनुभयो । ममता चौधरीले १७ रन थप्नुभयो । ७ रनमा दुई विकेट गुमाएर दबाबमा आएको एपिएफलाई ज्योति र ममताले जितसम्म डो¥याउनुभएको हो । प्रदेश १ का लागि कप्तान रुविना क्षेत्रीले ३ विकेट लिनुभयो । खेलमा एपिएफकी सीता राना मगर प्लेयर अफ दी म्याच हुनुभयो । नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको सहआयोजनामा पुस ३ गतेदेखि सुरु भएको प्रतियोगिता आइतबार सकिएको छ ।

यस्तै, प्रतियोगिताको व्यक्तिगत विधामा भने प्रदेश १ ले कब्जा जमाएको छ । प्रतियोगिताकै उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्स वुमन र उत्कृष्ट बलर गरी तीनवटै विधामा प्रदेश १ ले बाजी मारेको हो । प्रदेश १ की कप्तान रुविना क्षेत्री प्रतियोगिताकै उत्कृष्ट खेलाडी हुनुभयो । उहाँले नगद २५ हजारसहित मेडल पाउनुभयो ।

उहाँले प्रतियोगितामा पाँच खेल खेल्दा १५७ रन बनाउनुभयो । जसमा उहाँको एक अर्धशतक सामेल रहेको छ । सर्वाधिक ७६ रनको पारी खेल्नुभएकी उहाँले प्रतियोगितामा १९ चौका प्रहार गर्नुभयो । बलिङतर्फ पनि उहाँ सर्वाधिक विकेट लिने खेलाडीको दोस्रो नम्बरमा रहँदा ८ विकेट हात पार्नुभयो । प्रतियोगिताभर १६ ओभर बलिङ गर्नुभएकी उहाँले २ दशमलब ७५ को इकोनोमीमा ४ ओभर मेडन राख्दै ४४ रन खर्च गर्नुभयो।

प्रतियोगितामा प्रदेश १ की अप्सरी वेगम उत्कष्ट ब्याटर हुनुभयो । उहाँले प्रतियोगितामा १७६ रन बनाउनुभयो । जसमा उहाँका दुईवटा अर्धशतक सामेल थिए । प्रतियोगितामा दोहोरो अर्धशतक बनाउने एक्ली खेलाडी वेगमले १ छक्का हान्दा ९ चौका प्रहार गर्नुभयो । प्रतियोगितामा प्रदेश १ कै अलिशा खाडिया उत्कृष्ट बलर हुनुभयो । उहाँले प्रतियोगिताका ५ खेलमा ९ विकेट लिनुभयो । १७ ओभर बलिङ गर्नुभएकी उहाँले २ दशमलब ५२ को इकोनोमी राख्दा ५ ओभर मेडन गर्दै ४३ रन खर्चिनुभयो ।