काठमाडौं:= कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले माघ १८ गतेदेखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा क्यान इन्फोटेक आयोजना गर्ने भएको छ । क्यान इन्फोटेक भौतिक एवं भर्चुअल दुवै स्वरूपमा हुने आयोजकले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ-नयाँ प्रविधि प्रदर्शनी तथा सो क्षेत्रको विकासका लागि आवश्यक नीति, रणनीति तथा कानुनी संरचना निर्माणमा सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले बर्सेनि हुँदै आएको यो क्यान इन्फोटेकको २७औँ संस्करण हो । क्यान इन्फोटेकको शीर्ष प्रायोजकमा आइएमई पे र सहप्रायोजकमा स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) रहेका छन् ।
त्यस्तै आइएमई पे क्यान इन्फोटेक २०२२ इन एसोसिएसन विथ एससिटी स्मार्ट क्युआरको प्लाटिनम प्रायोजकमा वल्र्डलिंक कम्युनिकेसन्स, डायमन्ड प्रायोजकमा डिसहोम फाइबरनेट, गोल्ड प्रायोजकमा नेपाल टेलिकम, सिल्भर प्रायोजकमा नमस्ते पे, एस-पावर र डिजिकम रहेको क्यान महासंघका महासचिव नारायण थापाले बताउनुभयो ।
क्यान इन्फोटेकमा ब्रान्डिङ, आइसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, स्टार्टअप, रोबोटिक्स, इमर्जिङ टेक्नोलोजी, ई-वेष्ट म्यानेजमेन्ट, इ-गभर्नेन्स, सूचना प्रविधिमा महिला उद्यमी, वाइफाइ तथा इन्टरनेट र लर्निङ सेन्टरलगायत रहने र क्यान इन्फोटेकका लागि मंगलबारदेखि बुकिङ खुला हुने बताइएको छ ।




















