स्थिर प्रचण्ड र अस्थिर माओवादी आन्दोलन।

[ चिन्तन क्षेत्री ] 

काठमाडौं:= पार्टी संगठन र वैचारिक दृष्टिकोणलाई सबल बनाउने उद्देश्यसहित नेकपा माओवादी केन्द्रको महाधिवेशन आइतबारबाट राजधानीमा सुरु भएको छ । पटक–पटक एकता र विभाजनको पर्यायका रूपमा अगाडि बढिरहेको माओवादी केन्द्रको अबको यात्रा कस्तो हुने भन्ने यही महाधिवेशनले तय गर्नेछ । सुरुमा प्रथम राष्ट्रिय सम्मेलनको नाममा पार्टी पदाधिकारी चयन र आगामी मार्ग चयनका विषयमा निर्णय हुने बताएको माओवादी केन्द्रले अन्तिम समयमा महाधिवेशन गर्न लागेको हो ।

शनिबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को एकल प्रस्तावमा स्थायी समिति बैठकले सम्मेलनलाई महाधिवेशनमा परिणत गर्न सिफारिस गरेको थियो । आइतबार बिहान बसेको केन्द्रीय समिति बैठकले सो प्रस्तावलाई अनुमोदन गरेपछि सम्मेलनले महाधिवेशनको रूप लिएको हो । तीन दशक बढी नेतृत्वमा रहनुभएका प्रचण्डलाई अध्यक्षमा पुनः अनुमोदन गर्दै अन्य पदाधिकारीहरू पनि यो महाधिवेशनले चयन गर्नेछ । अध्यक्ष प्रचण्डको विकल्प नभएको नेताहरूले बताइरहँदा पदाधिकारीका लागि भने दौडधुप तीव्र बनाएका छन् ।

माओवादी जनयुद्धदेखि खुला राजनीतिमा आउँदासम्म प्रचण्ड एक मात्रै त्यस्तो नेता हुनुहुन्छ, जो अहिलेसम्म अनवरत रूपमा नेतृत्वमा हुनुहुन्छ । जनयुद्धदेखि नेकपा एमालेसँगको एकता र एकता बदरपछि पनि उहाँ नेतृत्वमा हुनुहुन्छ । माओवादी केन्द्रको आठौँ महाधिवेशनले पनि प्रचण्डलाई अध्यक्षमा फेरि सर्वसम्मत गर्ने सम्भावना निकै बढी देखिन्छ । दशकौँसम्म पार्टी नेतृत्वमा प्रचण्ड रहे पनि उहाँ र माओवादी आन्दोलनका सहयात्रीहरू भने छिन्नभिन्न भएका छन् । खुला राजनीतिमा आएदेखि अहिलेसम्म जुनसुकै अवस्थामा पनि प्रचण्ड मूल नेतृत्वमा भए पनि माओवादी आन्दोलन भने टुक्रा-टुक्रामा विभाजित छ ।

विभाजन र एकताका शृंखला 

नेकपा माओवादी केन्द्र पहिलोपटक संविधानसभा निर्वाचनमा सहभागी हुँदा पहिलो दल बनेको थियो । शान्ति प्रक्रियामा आएपछि सानो र चिटिक्क रहेको केन्द्रीय कमिटी र सचिवालयको टिमले माओवादीले २०६४ सालको निर्वाचनमा १२० सिटमा विजयी गरायो । त्यसपछि सत्तामा पुगेको माओवादीमा विभाजन र एकताको शृंखला मात्रै बढेन निर्वाचनहरूमा पनि ओरालो यात्रा जारी रह्यो ।

संविधानसभा निर्वाचनको समयमा माओवादी केन्द्रमा जम्मा ३५ जना मात्रै केन्द्रीय सदस्य थिए । सचिवालयमा ११ जना नेताहरू थिए । त्यसपछि २०६६ सालमा तत्कालीन जनमोर्चासँग एकता गरेको माओवादीले पार्टीमा तीन उपाध्यक्ष, महासचिव र दुई सचिव पदको सिर्जना गरेको थियो । तर, त्यसको तीन वर्षपछि माओवादी एकढिक्का रहन सकेन । उपाध्यक्ष मोहन वैद्य, महासचिव रामबहादुर थापा ‘बादल’, सचिव सिपी गजुरेललगायत नेताहरूले २०६९ मा माओवादी विभाजन गर्नुभयो । देव गुरुङ र नेत्रविक्रम चन्दससहितका नेताहरू मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीमा आबद्ध हुनुभयो ।

त्यसगलत्तै २०६९ फागुनमा हेटौँडामा भएको सातौँ महाधिवेशनबाट प्रचण्डले नै अध्यक्षमा निरन्तरता पाउनुभयो । उपाध्यक्षमा डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठलाई चयन गरेको सो महाधिवेशनले पोष्टबहादुर बोगटीलाई महासचिव बनाएको थियो ।

त्यसपछिको निर्वाचनमा भने माओवादी केन्द्रले निकै लज्जास्पद हार व्यहोर्नुपरेको थियो । पार्टी विभाजनको मार, संविधानसभा विघटनलगायत घटनाले १२० ठाउँमा जित निकालेको माओवादी २०७० मा आइपुग्दा २४ सिटमा सीमित रहन पुग्यो ।

त्यसपछि २०७१ मा माओवादीले गरेको राष्ट्रिय सम्मेलनबाट फेरि प्रचण्डलाई नै अध्यक्ष बनाए पनि अन्य पदाधिकारीको टिम निर्माण गर्न सकेन । पछि पदाधिकारीको निर्वाचन भएकोमा एक वरिष्ठ नेता, दुई उपाध्यक्ष, महासचिव र तीन सचिव बन्नुभएको थियो ।

तर, २०७२ मा संविधान जारी भएपछि बाबुराम भट्टराई, हिसिला यमी र देवेन्द्र पौडेललगायत नेताहरूले माओवादीको साथ छाड्नुभयो । २०६४ सालमा पहिलो पार्टी बनाउन भूमिका खेल्ने केन्द्रीय सदस्यमध्ये १६ जनाले माओवादीको साथ छाडिसक्नुभएको थियो । त्यसपछि माओवादीमा प्रचण्ड नै सर्वमान्य नेता हुन पुग्नुभयो ।

२०७३ मा वैद्य नेतृत्वको माओवादीबाट विद्रोह गरेर रामबहादुर थापा, देव गुरुङ, पम्फा भुसालसहितका नेताहरू फेरि प्रचण्ड नेतृत्वको माओवादीमा फर्केर आए पनि अहिले बादल साथमा हुनुहुन्न ।

२०७४ सालको निर्वाचनपछि नेकपा एमालेसँग एकता भएपछि पनि प्रचण्ड अध्यक्षमा निरन्तर रहनुभयो । यद्यपि, तत्कालीन समयमा केपी शर्मा ओली र प्रचण्ड नेकपामा दुई अध्यक्ष रहने व्यवस्था रहेको थियो । २०७७ फागुन २३ को सर्वोच्च अदालतको फैसलापछि नेकपा विघटन भएपछि अहिले प्रचण्ड नै माओवादी केन्द्रको अध्यक्षमा हुनुहुन्छ ।

२०६४ सालयता राष्ट्रिय राजनीतिलाई प्रचण्डले आफ्नो नेतृत्वमा प्रयोगशाला नै बनाए पनि सफल देखिनुभएन । उहाँ नेतृत्वको पार्टीको एकता र विभाजनको शृंखला सर्दै अन्य राजनीतिक दलमा जतिपटक पार्टी विभाजन र एकता भए पनि नेतृत्वमा भने प्रचण्ड नै हुनुहुन्छ । अहिले माओवादी केन्द्रले महाधिवेशनबाट नयाँ कार्यसमिति चयनको बाटो अवलम्बन गर्दै गर्दा पनि प्रचण्डलाई चुनौती दिने नेता माओवादी केन्द्रमा छैनन् ।

महाधिवेशनमा मूलतः २०६४ पछिको माओवादीको अवस्था, यसका कारण र अबको कार्यदिशा कस्तो हुने भन्ने विषयमा छलफल केन्द्रित हुने नेताहरू बताउँदै आएका छन् । पहिलो निर्वाचनमा भाग लिँदाको अवस्था र अहिलेको अवस्थाको समीक्षा गर्दै अगामी कार्यदिशा कस्तो हुने भन्ने विषयमा ठोस निष्कर्ष निकाल्ने नेताहरूले बताएका छन् ।

बहसमा ‘प्रचण्डपथ’ : बोक्ने कि छाड्ने ?

माओवादी केन्द्रमा नेताहरूले प्रचण्डपथको बहस निकालेका छन् । महाधिवेशनमा प्रचण्डपथका विषयमा पनि बहस हुने बताइएको छ । स्पष्ट रूपमा प्रचण्डपथ बोकेर अब हिँड्न सकिने अवस्था नरहेको बताउनुहुने अध्यक्ष प्रचण्ड स्वयं यसलाई हतारमा छाड्नु आफ्नो भूल भएको बताउनुहुन्छ । प्रचण्डले अब प्रचण्डपथमा फर्किने अवस्था नभएको बताए पनि विगतमा कम्युनिष्ट पार्टीहरूसँगको एकता प्रक्रियाका क्रममा प्रचण्डपथ हतारमा स्थगित गरिएको हो भन्नुभएको छ ।

शान्ति प्रक्रियामा आइसकेपछि देशअनुसार पार्टीलाई ढाल्ने र बृहत्तर कम्युनिष्ट एकताका लागि स्थगित गरिएको उल्लेख गर्नुहुँदै प्रचण्डले कुनै छलफल र समीक्षा नै नगरी प्रचण्डपथ स्थगन हुनु गलत भएको अहिले महसुस भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘फेरि प्रचण्डपथमा नै फर्किने हुँदैन । तर, पार्टीलाई नयाँ ढंगले वैचारिक राजनीतिक मार्गदर्शनमा लैजान विचार बहस गरिरहेको छौँ ।’

माओवादीका अन्य नेताहरू भने यो विषयमा गम्भीर छलफल हुनुपर्ने बताउँदै आउनुभएको छ । नेता हरिबोल गजुरेलले प्रचण्डपथ चटक्कै छाडेको भन्द पनि स्थगन गरेर भूल भएको बताउनुहुन्छ । अझै पनि यही मार्गबाट अगाडि बढ्नुपर्ने उल्लेख गर्नुहुँदै उहाँले नाम परिवर्तन गरेर भए पनि विचारलाई अगाडि बढाइने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘त्यत्रो त्याग, बलिदान र शहीदको रगतले बनाएको विचार हो । त्यो ठूलो ब्लण्डर थियो । त्यहीँबाट माओवादीमा वैचारिक बहस हराउँदै गयो । पद, प्रतिष्ठा र सुख सयलका कुरा मुख्य हुँदै गए । जनतालाई चित्त नबुझेको कुरा पनि त्यही हो । विचारको स्थगन गरेर हामीले ठूलो ब्लण्डर गरेका छौँ । बरु त्यसमा विमति हुन्छ भने नाम के राख्ने छलफल गर्न सकिन्छ ।’ महाधिवेशनले कस्तो विचारलाई प्रधानता दिन्छ, त्यो भने हेर्न बाँकी रहेको छ ।

महाधिवेशनका विषयमा  नेताहरूका भनाइ :-

महाधिवेशनले पार्टीलाई व्यवस्थित गर्छ र नयाँ ढंगले अगाडि बढ्छ : पोखरेल

तत्कालीन समयमा नेकपाको एकता बदर भएपछि पार्टी पुनर्गठनका लागि यो महाधिवेशन महत्वपूर्ण रहेको छ । अहिलेको अवस्थामा महाधिवेशन गर्नुपर्ने आवश्यकता भए पनि त्यसका लागि व्यापक छलफल गर्ने समय अभाव भयो । महाधिवेशनका लागि बहस जरुरी रहन्छ ।

सुरु–सुरुमा हाम्रो सदस्यता अद्यावधि नै थिएन र समस्या थियो । त्यसैले टोल वडा प्रदेश हुँदै राष्ट्रिय सम्मेलनमा आइपुगेका हौँ । स्वाभाविक रूपमा अहिले महाधिवेशन पुग्दा ३५ प्रतशित महिला २० युवा, १५ दलित, पाँच प्रतिशत मुस्लिम समुदायका व्यक्तिहरूलाई नेतृत्वमा विकास गर्नुपर्छ भनेर हामी अगाडि बढेका छौँ । राजनीतिक ढंगले अप्ठ्यारो ठाउँमा हामी छौँ । त्यसलाई ठिक बाटोमा कसरी लैजाने भन्ने कुरालाई पनि ध्यान दिनुपर्नेछ ।

संविधानले तोकेको गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समाजवादको यात्रालाई कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने विषयलाई पनि ध्यान दिएर महाधिवेशनले कार्यदिशा तय गर्नेछ । महाधिवेशनमा एकदमै तामझाम गर्ने ठूलो जनसमुदाय उतार्ने काम होइन । अबका हाम्रा चुनौती के हुन् ? भन्ने विषयमा पार्टीका साथिहरूसँग छलफल हुन्छ । वैचारिक र सांगठनिक कुराहरू पनि हुन्छ ।

संविधान कार्यान्वयन गर्नुछ । जनताका अपेक्षा पूरा गर्नु पर्नेछ । यसका लागि नयाँ पुराना पुस्तालाई समेटेर अगाडि बढ्नुपर्छ । महाधिवेशनले पार्टीलाई व्यवस्थित गर्छ र नयाँ ढंगले अगाडि बढ्छ । पदाधिकारी विधानले बहुपदीयमा गयौँ । वडाबाट नै यो अभ्यास गरेका छौँ । विधान केन्द्रीय समितिमा पाँच सदस्यीय मात्रै राखेको छ । तर, महाधिवेशनले नेपाली समाजको विविधतालाई समेट्दै संख्या बढाउँछ ।

राष्ट्रिय राजनीतिका आवश्यकताहरू पहिचान गरी मार्गचित्र बनाउनेछ : बस्नेत

नेकपा निर्माण भयो । त्यसपछि विभिन्न कारणले विभाजनको अवस्था आयो । विभाजित भएको अवस्थापछि राष्ट्रिय राजनीतिमा संविधान कार्यान्वयनको पाँच वर्षको समय बित्दै छ । माओवादी पार्टीको सम्मेलन राष्ट्रिय राजनीति, राष्ट्रिय जीवनमा दूरगामी महत्व राख्ने ढंगको हुनेछ । यतिबेला मुलुक जुन राजनीतिक कोर्समा अगाडि बढिरहेको छ यो माओवादीको इञ्जिनियरङमा अगाडि बढेको हो । 

माओवादीको आन्तरिक जीवन माओवादीको नीति कस्तो हुने भन्ने विषयले पनि राष्ट्रिय राजनीतिमा प्रभाव पार्छ । राष्ट्रिय राजनीतिका आवश्यकताहरू पहिचान गरी मार्गचित्र बनाउनेछ ।

राजनीतिक क्रान्तिको नेतृत्वदायी संस्था भएका कारणले अहिले हिजोको भन्दा केही सुधार भए पनि अपर्याप्त छन् । अब समयअनुसार केही परिमार्जनको अवश्यकता पनि रह्यो । संगठनात्मक संरचनामा परिवर्तन र सुधार गर्नुपर्ने आवश्यकता छन् । राष्ट्रिय राजनीतिक र संगठनात्मक अवस्था सुधारका लागि सम्मेलनले महत्वपूर्ण निर्णय लिनेछ ।

विचार र नीतिबाट अलग भएका मान्छेहरूको जमघट भएमा यसले पार्टीको रूप लिँदैन । राजनीतिक पार्टी भएकाले नाताले विचार र नीतिलाई प्राथमिकताका साथ छलफल गर्नेछौँ । विचार राजनीतिक कार्यक्रम तर्जुमाको कुरालाई प्राथमिकता दिनेछौँ । त्यसलाई लागू गर्नका लागि उपयुक्त नेतृत्वको टुंगो लगाउनेछौँ ।

महाधिवेशन केवल नेतृत्व परिवर्तनका लागि होइन,  विचार बहसका लागि हुने गर्दछ : शर्मा

हाम्रो पार्टीमा विगत तीन वर्षबाट संगठन अस्तव्यस्त रहेको अवस्था छ । तत्कालीन समयमा नेकपा एमालेसँग पार्टी एकता भयो । तर, तीन वर्षपछि अदालतबाट पार्टी अलग भएको छ । अब संगठनात्मक अवस्थालाई सुदृढ गर्न, अबको युग सुहाउँदो विचार निर्माणका लागि महाधिवेशन महत्वपूर्ण हुन्छ । 

बदलिँदो अवस्थामा वैज्ञानिक रूपमा नयाँ ढंगबाट अगाडि बढ्नका लागि विचार र संगठन निर्माणलाई व्यवस्थित गरेर जानलाई तल्लो तहबाट नै भेलाहरू गरेका छौँ । हाम्रा महाधिवेशनहरू केवल नेतृत्व परिवर्तनका लागि हुँदैनन् । विचार बहसका लागि हुने गर्दछन् । चुङवाङ सम्मेलनले त्यसको पुष्टि गरिसकेको छ ।

अबको परिस्थितिमा हाम्रो पुरानो कुराले काम दिन्नँ  । अरू पार्टीहरू एमाले कांग्रेसमा विचारको बहस गर्नुपर्ने छैन । तर, हामीलाई युग परिवर्तन गर्नुपर्ने, नयाँ आउने युगको नेतृत्व गर्नुपर्ने अवाश्यकता भएको हुनाले त्यसका लागि विचार निर्माण गर्न महाधिवेशन कोसेढुंगाका रूपमा सावित हुन्छ ।

अहिलेकोे राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थति, जनताको चेतना, जनताको सरकारप्रति हेर्ने दृष्टिकोणलाई केन्द्रमा राखेर बहस हुन्छ । हिजोको इतिहासको समीक्षा, वर्तमानको विश्लेषण र भोलिको कार्यदिशाका बारेमा छलफल हुन्छ । अहिलेको संविधानबाट राष्ट्रलाई समृद्ध गराउने, सम्पूर्ण वर्ग, क्षेत्रलाई स्थपित गर्नेगरी अगाडि बढ्ने नै हाम्रो कार्यदिशा हुन्छ ।

महाधिवेशनमा प्रचण्डको राजनीतिक प्रतिवेदनमा व्यापक छलफल भएर समग्र देशव्यापी रूपमा आएका करिब १६ सय प्रतिशतहरूको विचारलाई लिएर निचोडसहित सम्मेलनबाट बाहिर निस्कन्छौँ । सोहीअनुसार संगठनात्मक प्रस्ताव पनि हुन्छ । अहिलेको संविधानको धरातलमा टेकेर विधान पनि त्यहीअनुसार बनाउँछ । अहिलेको अर्थ राजनीतिकलाई कसरी व्यवस्थित गर्ने भनेर अगाडि जान्छौँ । त्यहीअनुसार नेतृत्व निर्माण हुन्छ ।