काठमाडौं := चौधरी फाउन्डेसनले कान्ति बाल अस्पतालमा इमर्जेन्सी वार्डको स्तरोन्नति गर्ने भएको छ । फाउन्डेसन र अस्पतालबीच भवन स्तरोन्नति गर्दैै हालको १२ शøयालाई विस्तार गरी २५ शøयाको इमर्जेन्सी वार्ड निर्माण सम्झौता भएको छ । शुक्रबार अस्पतालमा आयोजित एक कार्यक्रमबीच फाउन्डेसनका उपाध्यक्ष निर्वाण चौधरी तथा अस्पतालका निर्देशक प्राडा अजित रायमाझीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।
बालबालिकाको भविष्य सुनिश्चित गर्नु फाउन्डेसनको पनि दायित्व भएकाले फाउन्डेसनले बालबालिकाको स्वास्थ्य र शिक्षामा सहयोग र सहकार्य गर्दै आएको फाउन्डेसनका अध्यक्ष विनोद चौधरीले बताउनुभएको छ । अध्यक्ष चौधरीले दूरदराजसम्मका सर्वसाधारण र निम्न आर्थिकस्तर भएका नागरिकका सन्ततिले पनि सर्वसुलभ र गुणस्तरीय उपचार सेवा पाऊन् भन्ने ध्येयले कान्ति बाल अस्पताललाई सहयोग गरिएको जानकारी गराउनुभयो ।
फाउन्डेसनका उपाध्यक्ष चौधरीले मुलुककै जेठो बाल अस्पतालको पूर्वाधार निर्माणमा सहयोग गर्न पाउँदा आफूलाई सन्तोष लागेको बताउँदै वार्डको यथाशीघ्र निर्माण सम्पन्न गरिने जानकारी गराउनुभयो । अस्पतालका निर्देशकले चौधरी फाउन्डेसनको सहयोगप्रति कृतज्ञता जनाउँदै आगामी दिनमा पनि निरन्तर सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।
कान्ति बाल अस्पतालका अतिरिक्त फाउन्डेसनले सोलुखुम्बुको नाम्चेस्थित माउन्टेन मेडिकल इन्ष्टिच्युटलाई पनि सहयोग गर्ने भएको छ । कोरोना महामारीबीच गत जेठमा युनिफाइड कोभिड अस्पताल (वीर अस्पताल) मा आइसियु वार्ड तथा धनगढी तथा सुर्खेतमा अक्सिजन प्लान्ट निर्माण गरेको थियो ।




















