‘म फर्किएँ’ भन्दै विश्वकपमा रोनाल्डो चम्किए, उज्बेकिस्तान ५–० ले पराजित।

एजेन्सी := पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले फुटबल खेलको महाकुम्भ फिफा विश्वकप २०२६ मा आफ्नो गोलको खाता खोल्दै टोलीलाई महत्वपूर्ण जित दिलाएका छन्। मंगलबार भएको खेलमा रोनाल्डोले दुई गोल गरेपछि पोर्चुगलले उज्बेकिस्तानमाथि ५–० को प्रभावशाली जित निकाल्यो।

प्रतियोगिताको पहिलो खेलमा डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोसँग १–१ को बराबरी खेलेपछि दबाबमा रहेको पोर्चुगलका लागि यो नतिजा आत्मविश्वास फर्काउने अवसर बन्यो। टोलीको जितमा रोनाल्डोले पहिलो हाफमै दुई गोल गर्दै खेलको दिशा बदलिदिए।

यो प्रदर्शनसँगै ४१ वर्षीय रोनाल्डोले विश्व फुटबलमा अर्को ऐतिहासिक उपलब्धि आफ्नो नाममा दर्ज गराएका छन्। उनी विश्वकपका छ फरक संस्करणमा गोल गर्ने इतिहासकै पहिलो खेलाडी बनेका छन्। साथै उनले पोर्चुगलका लागि विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमानसमेत आफ्नो कब्जामा पारेका छन्। यस क्रममा उनले पोर्चुगलका महान् पूर्वस्ट्राइकर युसेबियोको कीर्तिमानलाई उछिने।

पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले रोनाल्डो र अर्जेन्टिनाका कप्तान लियोनल मेसीबीचको लामो प्रतिस्पर्धाले आधुनिक फुटबललाई नयाँ उचाइमा पुर्‍याएको बताए। उनले भने, “यी दुई महान् खेलाडीले वर्षौंदेखि फुटबलको स्तर उकासिरहेका छन्। उनीहरूबीचको प्रतिस्पर्धाले एकअर्कालाई अझ उत्कृष्ट बन्न प्रेरित गरेको छ।”

मार्टिनेजले रोनाल्डोलाई राष्ट्रिय टोलीका युवा खेलाडीहरूका लागि प्रेरणाको स्रोत भएको उल्लेख गर्दै मैदानभित्र र बाहिर उनको व्यावसायिकता उदाहरणीय रहेको बताए। दुई गोल गरेपछि मैदान छाड्ने क्रममा रोनाल्डोले टेलिभिजन क्यामेरातर्फ हेरेर ‘म फर्किएको छु’ भन्ने संकेत गरेजस्तो दृश्य देखिएको थियो। यद्यपि प्रशिक्षक मार्टिनेजले रोनाल्डोले कहिल्यै आत्मविश्वास नगुमाएको स्पष्ट पारे।

उनले भने, “उनी भावनात्मक खेलाडी हुन्, तर मैले रोनाल्डोजस्तो खेलाडी कमै देखेको छु। जे भए पनि अर्को दिन अझ कडा मेहनत गर्न उनी सधैं तयार हुन्छन्।” उज्बेकिस्तानका प्रशिक्षक तथा सन् २००६ विश्वकप विजेता इटाली टोलीका पूर्वकप्तान फाबियो कानाभारोले पनि रोनाल्डोको खुलेर प्रशंसा गरे।

कानाभारोले भने, “रोनाल्डोलाई एक सेन्टिमिटर पनि खाली ठाउँ दिनु हुँदैन। अवसर पाए उनी गोल गर्न चुक्दैनन्। उनीसँग खेल्दा डिफेन्डरहरू अत्यन्त सतर्क हुनुपर्छ।” उनले थपे, “उनी असाधारण व्यावसायिक खेलाडी हुन्। खेलपछि मैले उनलाई अझ केही वर्ष फुटबल खेल्दै समर्थकलाई मनोरञ्जन दिन शुभकामना दिएको छु।”

पोर्चुगलको यो जितसँगै समूह चरणबाट नकआउट यात्राको सम्भावना एकदमै बलियो बनेको छ । भने रोनाल्डोले फेरि एकपटक उमेर केवल अंक मात्र भएको सन्देश दिएका छन्।