भलिबल खेलमा नेपालको विजयी सुरुवात।

काठमाडौं:= एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा नेपालको महिला भलिबल टोलीले विजयी सुरुवात गरेको छ । बंगलादेशको ढाकामा बिहीबार सम्पन्न खेलमा श्रीलंकालाई तीन/दुईको सेटमा पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो ।

प्रतियोगिताको उपाधि उचाल्ने लक्ष्यसहित बंगलादेश पुगेको नेपाली टोलीले सुरुवाती दुई सेट गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै जित हासिल गर्‍यो । सुरुवाती दुई सेट श्रीलंकाले २५-१९ र २५-२१ ले जितेको थियो । त्यसपछि भने नेपाल खेलमा फर्कियो । बाँकी दुई सेटमा नेपालले २५-१५ र २५-१५ को सेटमा जित निकाल्यो । रोमाञ्चक बनेको अन्तिम सेटमा नेपालले श्रीलंकालाई १५-१३ को सेटमा हरायो ।

खेलपछि नेपालकी कप्तान अरुणा शाहीले उपाधि जित्ने लक्ष्यसहित ढाका पुगेको र त्यसतर्फ एक कदम अघि बढेको बताउनुभयो  । ‘हामी उपाधि उचाल्ने लक्ष्यसहित ढाका पुगेका हौँ । पहिलो खेलमा सबैको मिहिनेतको परिणामसहित जित हात पारेका छौँ,’ कप्तान अरुणाले भन्नुभयो, ‘अहिले पनि हाम्रो लक्ष्य च्याम्पियन हुनुपर्छ भन्नेछ । त्यहीअनुसार यहाँ आएका हौँ र त्यसतर्फ अघि पनि बढेका छौँ ।’

मुख्य प्रशिक्षक जगदीश भट्टले पहिलो सेटमा केही कमजोर भए पनि नेपाली खेलाडीले गरेको पुनरागमनको प्रशंसा गर्नुभयो । टोलीले योजनाअनुसार खेलेको भन्दै उहाँले आगामी खेलमा पनि जित हात पार्नका लागि कोर्टमा उत्रिने बताउनुभयो ।

यसपल्ट नेपाली टोलीमा लक्ष्मी चन्द, कामना विष्ट र शान्ति थारुले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाउनुभएको छ । त्यसबाहेक टोलीमा अरुणा शाही, प्रतिभा माली, सरस्वती चौधरी, शान्ति थारु, उषा भण्डारी,  सोफिया पुन, सुनिता खड्का, मनिषा चौधरी, कृपा अधिकारी, कामना विष्ट, लक्ष्मी चन्द र सलिना श्रेष्ठ रहनुभएको छ ।

पुरुष टोलीले आज आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र आयोजकबीचको खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ । प्रतियोगितामा पुरुषतर्फ पाँच र महिलातर्फ ६ राष्ट्रले सहभागिता जनाएका छन् । पुरुषमा आयोजक बंगलादेश, नेपाल, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।

महिलामा आयोजक  बंगलादेश, नेपाल, किर्गिजस्तान, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्दैछन् । राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । यस्तै तेस्रो र चौथो टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।