विकास देख्न नसक्नेहरूले परमादेशको सरकार चलाएको अध्यक्ष ओलीको जिकिर
काठमाडौं:= एमाले अध्यक्ष एवं पूर्व-प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले देशमा भएको भ्रष्टाचारविरुद्ध अभियान चलाउने पार्टी भएको बताउनुभएको छ । बिहीबार पर्साको जगरनाथपुर गाउँपालिकामा आयोजित आमसभा एवं बृहत् पार्टी प्रवेश कार्यक्रमलाइ सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले विकास निर्माणको काम गर्ने र भ्रष्टाचारविरुद्ध आवाज उठाउने पार्टी भएको दाबी गर्नुभएको हो ।
एमालेले जति विकास कसैले गर्न नसकेको र विकास देख्न नसक्नेहरूले परामादेशको सरकार चलाएको ओलीको जिकिर छ । ओलीले वर्तमान सरकार जनताले चाहेको सरकार नभएको बताउनुभयो । आफ्नो नेतृत्वको प्रगतिशील सकारले देशलाई विकासको बाटोमा अगाडि बढाउँदै गरेको देखेपछि देशी, विदेशी प्रतिगामी शक्तिहरूले सरकार ढालेको आरोप उहाँले लगाउनुभयो । एमाले देशको विकासका लागि बनेको पार्टी भएको जिकिर गर्दै ओलीले भन्नुभयो, ‘यदि देशको विकास गर्नुछ भने अब सबैजना एमालेमा आउनुपर्छ । एमाले बलियो भयो भने मात्रै मजबुत सरकार बन्छ अनि मजबुत सरकारले मात्र देशको विकास गर्छ ।’
एमालेको महाधिवेशनपछि देशभरि एमाले पार्टीमा प्रवेश गर्ने लहर चलेको दाबी ओलीले गर्नुभयो । ‘जनताले अब बुझिसकेका छन्, देश बचाउने र देश बनाउने एक मात्र पार्टी एमाले नै हो । त्यसैले अहिले देशभरि एमाले प्रवेश गर्ने लहर नै चलेको छ,’ उहाँले भन्नुभयो । माओवादी केन्द्रलाई आफूले साथ दिएकै कारण अहिलेको शक्ति बनेको पनि उहाँको भनाइ छ । उहाँले अहिले पहिलो आवश्यकता आमनिर्वाचन रहेको भन्दै उहाँले आगामी निर्वाचनबाट मुलुकमा फेरि एमालेको बहुमतको सरकार बन्ने ठोकुवा गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै एमाले उपाध्यक्ष विष्णु पौडेलले पनि आगामी निर्वाचनबाट एमालेको बहुमतको सरकार बन्ने दाबी गर्नुभयो । कार्यक्रममा पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मिया अन्सारीसहितका व्यक्तिहरू एमालेमा प्रवेश गरेका थिए । अन्सारी २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेर गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो । पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँले ओलीलाई कार्यक्रममा १५१ किलोको मालाले स्वागत गर्नुभएको थियो ।




















