म्याड्रिड । कप्तान करिम बेन्जेमा चम्किएपछि रियल म्याड्रिडले स्पेनिस ला लिगामा एथलेटिक बिल्बाओमाथि रोचक जित निकालेको छ । बुधबार राति भएको खेलमा रियलले बिल्बाओलाई उसैको मैदानमा दुई÷एक गोलले हरायो ।
रियलको जितमा दुवै गोल बेन्जेमाले गर्नुभयो । बिल्बाओका ओइहान सान्सेटले सान्त्वना गोल फर्काउनुभयो । तीनवटै गोल खेलको सुरुवाती १० मिनेटभित्र भएका थिए । रियलले चौथो मिनेटमै खाता खोलेको थियो ।
बेन्जेमाले टोनी क्रुसको पासमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाउनुभयो । सातौँ मिनेटमा बेन्जेमाले दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाउनुभयो । जारी लिगमा उच्च लयमा रहनुभएका बेन्जेमाको यो १५औँ गोल हो । बिल्बाओले १०औँ मिनेटमा गोल फर्कायो । ओइहान सान्सेटले ओस्कार डि मार्काेसको पासमा गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने प्रयास गर्नुभयो ।
प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा दुवै टोलीको गोल गर्ने प्रयास सफल भएन । ६० प्रतिशत बल पोसेसनमा राखे पनि रियलको जितमा पहिलो हाफकै नतिजा पर्याप्त बन्यो । कोरोना संक्रमणका कारण रियल टोलीका ११ खेलाडीबिनै बिल्बाओसँग भिडेको थियो । तर पनि बिल्बाओले त्यसको फाइदा उठाउन सकेन । रियलका बेन्जेमा ‘म्यान अफ दी म्याच’ हुनुभयो ।
जितसँगै रियलले शीर्ष स्थानमा आठ अंकको अग्रता बनाएको छ । रियलको १९ खेलबाट ४६ अंक छ । दोस्रो स्थानमा रहेको सेभियाको ३८ अंक छ । सेभियाले एक खेल कम खेलेको छ । पराजित बिल्बाओ २४ अंकसहित १०औँ स्थानमा छ ।
बुधबार राति नै भएको अर्को खेलमा साबिक विजेता एट्लेटिको म्याड्रिडलाई ग्रानाडाको नमिठो झट्का लागेको छ । एट्लेटिको ग्रानाडासँग दुई÷एक गोलले पराजित भयो । ग्रानाडाको घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोले सुरुवाती अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन ।
खेलको दोस्रो मिनेटमै जोओओ फेलिक्सले गोल गर्दै एट्लेटिकोलाई सुरुवाती अग्रता दिलाउनुभएको थियो । ग्रानाडाका डार्बिन माचिसले १७औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । ६१औँ मिनेटमा जर्ग मोलिनाले गोल गर्दै ग्रानाडाको अग्रता दोब्बर बनाउनुभयो ।
६० प्रतिशत बल पोसेसनमा राखे पनि दोस्रो हाफमा गोल फर्काउन नसक्दा एट्लेटिको हार खेप्न बाध्य बन्यो । जितसँगै ग्रानाडा १२औँ स्थानमा उक्लिएको छ । ग्रानाडाको १८ खेलबाट २२ अंक पुगेको छ । पराजित एट्लेटिको २९ अंकसहित पाँचौँ स्थानमा छ ।
यस्तै अर्को खेलमा सेभिया र बार्सिलोनाले बराबरी खेल्दै अंक बाँडेका छन् । खेलमा घरेलु टोली सेभिया बार्सिलोनासँग एक÷एक गोलको बराबरीमा रोकिएको हो । सेभिया १० खेलाडीमा समेटिए पनि बार्सिलोनाले त्यसको फाइदा उठाउन सकेन ।
सेभियाका पपु गोमेजले गोल गर्नुभयो । बार्सिलोनाका रोनाल्ड अराउजोले गोल गर्नुभयो । प्रतिस्पर्धात्मक खेलमा सुरुवाती अग्रता सेभियाले लिएको थियो । ३२औँ मिनेटमा गोमेजले कप्तान इभान राकिटिकको पासमा गोल गर्दै घरेलु टोलीको उत्साह बढाउनुभयो ।
सेभियाको गोलपछि आक्रामक बनेको बार्सिलोनाले ४५औँ मिनेटमा बराबरी गोल फर्काएको थियो । रोनाल्डले औसमाने डेम्वेलेको पासमा गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काउनुभयो ।
सेभिया ६४औँ मिनेटमा १० खेलाडीमा समेटियो । बार्सिलोनाका जोर्डी अल्बासँग अनावश्यक विवादमा उत्रिएपछि जुलेस कुन्डेलाई रेफ्रीले सोझै रातो कार्ड देखाउनुभएको थियो । त्यसपछि बल पोसेसनमा पकड जमाए पनि बार्सिलोनाले गोल थप्न भने सकेन ।
५९ प्रतिशत बल पोसेसनमा राखेको बार्सिलोनाले २३ वटा पोस्ट प्रहार गरेको थियो । बार्सिलोनाको लगातार प्रयासमा सेभियाको रक्षापंक्ति बाधक बन्यो । जारी लिगमा बार्सिलोनाको यो सातौँ र सेभियाको पाँचौँ बराबरी हो । बार्सिलोनाका औसमाने डेम्वेले ‘म्यान अफ दी म्याच’ हुनुभयो ।




















