काठमाडौं:= अभिनेत्री वर्षा शिवाकोटीले टेलिभिजन कार्यक्रम ‘रजतपट’ र त्यसका सञ्चालक प्रकाश सुवेदीविरुद्ध उजुरी दर्ता गराउनु भएको छ । एपीवान टेलिभिजनमा प्रसारण हुँदै आएको कार्यक्रम ‘रजतपट’ले आफ्नो व्यक्तिगत कुरासँग विभिन्न भ्रामक समाचार बनाएर कार्यक्रममा प्रसारण गरेको भन्दै वर्षाले केही दिनअगाडि चलचित्र विकास बोर्डमा उजुरी दिनुभएको हो ।
वर्षाले भन्नुभएको छ, ‘आफूले व्यक्तिगत सम्पतिबाट किनेको घर अरूले किनिदिएको भनेर ‘रजतपट’मा भ्रामक र गलत समाचार बनाइएको छ । उनको समाचारले म, मेरो परिवार र आफन्त सबै दुःखी भएका छौं । मेरो पर्सनल जीवनमा यसले नराम्रो असर पारेको छ ।’
वर्षाले अभिनयको विषयका विभिन्न कुरा जोडेर आउने गसिफ आफूले सामान्य रूपमा लिँदै आएको बताउनु भएको छ तर व्यक्तिगत कुरा जोडेर गलत समाचार प्रसारण विषयमा चुप नबस्ने बताउनुभयो । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले वर्षाले बोर्डमा उजुरी दिएको पुष्टि गर्नुभयो ।



















