[ पुरन साह ]
जनकपुरधाम:= प्रदेश नम्बर-२ को बिहीबार बसेको प्रदेशसभा बैठकमा प्रदेशको नामकरणका लागि चारवटा प्रस्ताव पेश भएको छ । बैठकमा जसपा लोसपा र माओवादी केन्द्रको तर्फबाट एउटै नाम ‘मधेश प्रदेश’को प्रस्ताव आएको छ भने नेकपा एमाले र नेकपा समाजवादीको तर्फबाट ‘जानकी प्रदेश’को प्रस्ताव आएको छ ।
एमालेले भने शुक्रबार मात्र प्रस्ताव दर्ता गराउने भएको छ । नेपाली कांग्रेसले ‘मिथिला भोजपुरा’ प्रदेश नाम प्रस्ताव गरेको छ भने केही सांसदहरूले “मध्यमदेश प्रदेश” नाम प्रस्ताव गरेका छन् । मधेश प्रदेशको पक्षमा माओवादीको समर्थन थपिँदा अब तीन दलको एउटै नाम मधेश भएको छ । प्रदेशसभा सदस्य राजेश्वरप्रसाद साहले मध्य मधेशको प्रस्ताव पेश गर्नुभएको छ ।
जसपाको तर्फबाट शैलेन्द्रकुमार यादव, माओवादी केन्द्रको तर्फबाट भरतप्रसाद साह, नेकपा एकीकृत समाजवादीको तर्फबाट प्रमोदकुमार यादव, नेपाली कांग्रेसको तर्फबाट शिवचन्द्र चौधरीले नामको प्रस्ताव पेश गर्नुभएको हो ।
नेकपा एमालेले भने प्राविधिक कारणवश आफ्नो जानकी प्रदेशको प्रस्ताव बिहीबार पेश गर्न सकेन । दलका नेता सत्यनारायण मण्डलले आफूहरू पूर्ववर्ती जानकी प्रदेशकै पक्षमा रहेको भन्दै शुक्रबार प्रस्ताव पेश हुने बताउनुभयो । राजधानीको सवालमा अधिकांश प्रदेशसभा सदस्यहरू जनकपुरधामलाई समर्थन गर्ने भएका छन भने पर्साका केही प्रदेशसभा सदस्यले वीरगञ्जलाई राजधानी बनाउनुपर्ने माग गरेका छन् ।
प्रदेश सांसदहरू अभिराम शर्मा, डा. रिना यादव, सुरिता साह, सुन्दर विश्वकर्मा, करिमा बेगम, भीमा रावल, ज्ञानेन्द्रकुमार यादवलगायतले स्थायी राजधानी र प्रदेशको नामकरणसम्बन्धी छलफलमा भाग लिनुभएको थियो ।
कुल १०७ सदस्यीय प्रदेशसभामा हाल १०४ जना सांसद छन् । प्रदेशसभामा जनता समाजवादी (जसपा) ३९ सिटसहित ठूलो दलको रूपमा कायम छ । नेपाली कांग्रेसका १९, लोसपाका १६, नेकपा (एस) का १३, एमालेका आठ, माओवादीका आठ र नेपाल संघीय समाजवादी पार्टीका एक सांसद छन् । जसपा, लोसपा र माओवादी केन्द्रको समर्थनले मात्र प्रदेशसभाबाट मधेश नाम पारित हुने सम्भावना देखिन्न ।
नेपालको संविधानको धारा २९५ को उपधारा २ बमोजिम प्रदेशको नामकरण सम्बन्धित प्रदेशसभाको सम्पूर्ण सदस्य संख्याको दुईतिहाइ बहुमतबाट हुने उल्लेख छ । १०७ सदस्सीय प्रदेशसभामा दुईतिहाइ संख्या पुर्याउनका लागि ७२ जना सांसद आवश्यक देखिन्छ । हाल सत्तारूढ गठबन्धनभित्रै फरक-फरक प्रस्ताव आएकाले कुनै पनि प्रस्तावको पक्षमा दुईतिहाइ पुर्याउनका लागि कठिनाइ देखिएको छ ।
हाल मधेश प्रदेशको पक्षमा उभिएका जसपा, लोसपा र माओवादी केन्द्रको कुल सांसद संख्या ६३ छ । बहुमत जुटाउनका लागि यी दलहरूलाई थप नौ सांसदको समर्थन चाहिन्छ । यसका लागि सत्ता गठबन्धनमा भएको कांग्रेस वा नेकपा(एस) दुईमध्ये एकले समर्थन गर्नुपर्ने देखिन्छ । तर, यी दुवै दलले आफ्ना छुट्टै प्रस्ताव पेश गरेका छन् । डेढ वर्षअघि पनि प्रदेशसभाको नामकरणका लागि भएको मतदानमा दुईतिहाइ बहमुत नपुगेपछि प्रस्तावहरू फेल भएका थिए ।



















