काठमाडौं:= दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीलाई सरकारले नगदसहित सम्मान गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलोपटक फाइनलमा स्थान बनाउँदै उपविजेता भएको टोलीलाई जनही पाँच लाख नगदसहित सम्मान गरेकोे हो ।
यसअघि १३औँ संस्करणको साफ उपविजेता बन्दै स्वदेश फर्किएको टोलीलाई सरकारले कात्तिक १ गतेको मन्त्रिपरिषद्को निर्णयबाट जनही पाँच लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको थियो । सोहीअनुसार सरकारले २३ खेलाडीलाई पाँच लाख, तीनजना प्रशिक्षकलाई जनही तीन लाख र चार अफिसियललाई प्रमाणपत्रसहित सम्मान गरेको हो।
युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको सम्मान कार्यक्रममा मन्त्री महेश्वरजंग गहतराज पनि सहभागी हुनुभएको थियो । साफ फुटबलको इतिहासमा पहिलोपटक फाइनल प्रवेश गरेको नेपाल भारतसँग पराजित भएको थियो। पुरस्कार वितरणपछि बोल्दै प्रधानमन्त्री देउवाले राष्ट्रका लागि पदक दिलाउने खेलाडीलाई सम्मान गर्न पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा परिचय बनाउन खेलाडीले गरेको मिहिनेतप्रति आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी, कप्तान किरण चेम्जोङ र रोहित चन्द भने उपस्थित हुनुभएको थिएन । कप्तान किरण माल्दिभ्समा र रोहित इन्डोनेसियामा व्यावसायिक फुटबल खेल्न जानुभएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह पनि नेपालबाहिर रहनुभएको छ। माल्दिभ्समा आयोजना भएको साफ च्याम्पियनसिप फुटबलमा नेपाल पहिलोपटक फाइनल प्रवेश गरेको थियो । उपाधि भिडन्तमा नेपाली टिम भारतसँग पराजित भएको थियो ।
नेपाली टोलीमा कप्तान किरण चेम्जोङ, अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, गौतम श्रेष्ठ, सुजल श्रेष्ठ, तेज तामाङ, रोहित चन्द, पुजन उपरकोटी, सुमन लामा, नवयुग श्रेष्ठ, सुरजज्यु ठकुरी, नितिन थापा, विशाल राई, सुनिल बल, आशिष लामा, सन्तोष तामाङ, आयुष घलान, विशाल श्रेष्ठ, मनिष डाँगी र कमल थापा हुनुहुन्थ्यो । यस्तै प्रशिक्षकमा अब्दुल्लाह अलमुताइरी, किरण श्रेष्ठ, विकास मल्ल, फिजियोमा आविष्कार पुडासैनी र व्यवस्थापकमा मधुसुदन उपाध्याय हुनुहुन्थ्यो ।




















