एजेन्सी म्याड्रिड:= भ्यालेन्सियाले स्पेनिस ला लिगामा प्रतिस्पर्धात्मक जित निकालेको छ । सोमबार राति भएको खेलमा मध्यम टोली भ्यालेन्सियाले रेलिगेसनमा रहेको लिभान्तेलाई ४–३ गोलले हराएको हो । लिभान्तेको घरेलु मैदानमा भएको खेलमा भ्यालेन्सियालाई जिताउन गोन्कालो ग्वेडेस र कार्लोस सोलरले दुई÷दुई गोल गर्नुभयो । लिभान्तेका जोस कम्पाना, रोगर मार्टी र इनिस बार्धीले गोल फर्काउनुभएको थियो ।
खेलमा सुरुवाती अग्रता लिभान्तेले लिएको थियो । २१औँ मिनेटमा कम्पानाले गोल गर्दै घरेलु टोलीको उत्साह जगाउनुभयो । २४औँ मिनेटमा रोगरले जोस लुइस मोरालेसको पासमा गोल गर्दै लिभान्तेको अग्रता दोब्बर बनाउनुभयो । त्यसपछि जोसिएको भ्यालेन्सियाले ४४औँ मिनेटमा पहिलो गोल फर्कायो ।
ग्वेडेसले हुगो डुरोको पासमा गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काउने प्रयास गर्नुभयो । ५०औँ मिनेटमा कार्लोस सोलारले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । ७२औँ मिनेटमा सोलारले ग्वेडेसको पासमा गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाउनुभयो । ८५औँ मिनेटमा ग्वेडेसले व्यक्तिगत दोस्रो गोल गर्दै भ्यालेन्सियालाई जिततर्फ अग्रसर गराउनुभयो ।
दोस्रो हाफको इन्जुरी समयमा लिभान्तेका बार्धीले रोवर्टो सोडाडोको पासमा गोल गरे पनि टोलीको हार टार्न सक्नुभएन । ५१ प्रतिशत बल पोसेसनमा राखेको लिभान्तेले १५ वटा पोस्ट प्रहार गरेको थियो । १५ वटै पोस्ट प्रहार गरेको भ्यालेन्सियाले अन्ततः रोमाञ्चक जित निकाल्यो । भ्यालेन्सियाका कार्लोस सोलर ‘म्यान अफ दी म्याच’ हुनुभयो ।
जितसँगै १८ खेलबाट २८ अंक बनाएको भ्यालेन्सिया सातौँ स्थानमा उक्लिएको छ । समान खेलबाट आठ अंक बनाएको लिभान्ते तालिकाको अन्तिममा छ । शीर्ष स्थानमा रहेको रियल म्याड्रिडको ४३ अंक छ । दोस्रो स्थानमा रहेको सेभियाको ३७ र तेस्रो स्थानमा रहेको रियल बेटिसको ३३ अंक छ । सेभियाले एक खेल कम खेलेको छ ।




















