जेनेभा:= विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोरोनाको ओमिक्रोन भेरियन्ट फैलिरहेका बेला जनस्वास्थ्य सुरक्षाकालागि भन्दै सर्वसाधारणहरूलाई छुट्टीका योजना रद्द गर्न अपिल गरेको छ । क्रिसमसको मुखैमा चेतावनी जारी गर्दै पर्वसम्बन्धी बिदा र यात्राको कार्यक्रम रद्द गर्न डब्ल्युएचओ ले आहृवान गरेको हो ।
‘जीवन रद्द हुनुभन्दा एउटा कार्यक्रम रद्द गर्नु राम्रो हो,’ विश्व स्वास्थ्य संगठनका प्रमुख डा.टेड्रोस एड्हानोम गेहब्रेयससले भन्नुभयो, ‘यस्तो समयमा कठिन निर्णय लिनुहोस् ।’ गेहब्रेयससले ओमिक्रोन डेल्टा भेरियन्टभन्दा निकै तीव्र गतिमा फैलिरहेको तथ्य प्राप्तभएकोसमेत बताउनुभयो । फ्रान्स र जर्मनीसहित कैयौं राष्ट्रले कडा नियमहरू लागू गर्नुका साथै नयाँ भेरिअन्ट फैलिन नदिनका लागि यात्रामा प्रतिबन्ध लागू गरेका बेला डा. गेहब्रेयससको पछिल्लो भनाइ आएको हो ।
नेदरल्यान्ड्सले क्रिसमसका बेला कडा नियमहरू सार्वजनिक गरेको छ । कोरोना भाइरस (कोभिड-१९)को नयाँ भेरियन्ट ओमिक्रोन तीव्र गतिमा फैलने क्रम कम गर्ने प्रयासस्वरूप युरोपेली राष्ट्रहरूले प्रतिबन्धात्मक व्यवस्था लागू गर्ने क्रमजारी राखेका छन् ।
लण्डनमा नयाँ वर्षको पूर्वसन्ध्यामा हुन लागेका कार्यक्रमहरूलाई रोकिएको छ । अमेरिकाका प्रमुख संक्रामक रोग विशेषज्ञ डा.एन्थोनी फाउचीले क्रिसमसका बेला गरिने यात्राले कोभिडविरुद्ध खोपको पूर्णमात्रा लगाएकामा समेत संक्रमण सर्नसक्ने चेतावनी दिनुभएको छ । अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन र विदेश मन्त्रालयले अमेरिकीहरूलाई स्पेन, फिनल्याण्ड र लेबननसहित आठवटा देशमा यात्रा नगर्न सुझाब दिएको छ ।
यसैबीच अमेरिकामा ओमिक्रोन कोरोना भाइरसको संक्रमणबाट एकजनाको मृत्यु भएको छ । अमेरिकाको टेक्सास राज्यमा ओमिक्रोनको संक्रमणबाट एक ५० वर्षीय पुरुषको मृत्यु भएको सीएनएनले जनाएको छ ।
अमेरिकामा पछिल्ला केही दिनमा संक्रमण बढिरहेको छ । नयाँ संक्रमितमध्ये ७३ प्रतिशतभन्दा बढी ओमिक्रोनका केस भएको बताइएको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र(सिडीसी) का अनुसार अमेरिकामा डेल्टा भेरिएन्टभन्दा ओमिक्रोनको असर बढी देखिन थालेको छ । यस भेरियन्टलाई सबैभन्दा पहिले दक्षिण अफ्रिकामा पहिचान गरिएको थियो । यसैसँगै कैयौं देशले दक्षिणअफ्रिका र उसका छिमेकी देशसँग यात्रा प्रतिबन्ध लगाए पनि संक्रमण फैलिन रोकिएको छैन ।




















