[ सन्जिव कुमार मिक्ष्रा ]
बारा (कलैया):= बाराको सबैभन्दा पुरानो कलैया नगरपालिका अहिले संघीयता आएपछि उपमहानगरपालिकामा परिणत भएको छ । नगरपालिकालाई उपमहानगरपालिका बनाउन विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले लामो संघर्ष गर्नुपरेको थियो । लामो संघर्षपछि नगरपालिकालाई सरकारले उपमहानगरपालिका त घोषणा गर्यो तर उपमहानगरपालिका जस्तो विकासको लहर भने ल्याउन सकेन।
यदाकदा विकास देखिए पनि नगरपालिका हुँदा र उपमहानगरपालिकामा परिणत हुँदाको अवस्थामा खासै भिन्नता देखिएको छैन । अहिले पनि विकासको अवस्था जस्ताको त्यस्तै रहेको छ । शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, ढल र सरसफाइको अवस्थामा खासै परिवर्तन हुन सकेको देखिँदैन । यसैको ज्वलन्त उदाहरणको रूपमा रहेको छ सदरमुकाम कलैया उपमहानगरपालिकाको मुख्य चोकमा रहेको ‘ज्यान मारा खाल्डो’ ।
खाल्डोमा परी दुर्घटना हुने क्रम दिनहुँ बढेको छ, तर खाल्डोलाई पुर्ने काम भने हुन सकेको छैन । खाल्डो भएको बाटो भएर दिनहुँ हजारांै सवारीसाधन गुडछन् । जिल्लाका अधिकांश कार्यक्रमहरू समेत यसै चोकमा हुने गरेको छ । सवारीसाधन र मानिसहरूको भिडभाड हुने ठाउँमा ज्यानमारा खाल्डो हुँदासमेत कसैको ध्यान जान नसकेको स्थानीय बताउँछन् ।
जिल्लाका प्रमुख कार्यालयहरू जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय जाने प्रमुख बाटो पनि यही हो । कलैयाबाट चल्ने लामो तथा छोटो दूरीका सवारीसाधनहरू समेत यही बाटो भएर दिनहुँ आवतजावत गर्दछन् । खाल्डोको बारेमा सबैलाई थाहा छ तर यसलाई पुर्ने काम कोही कसैबाट नभएको भरतचौकमा पान पसल सञ्चालन गर्दै आउनुभएका राजु साहले बताउनुभयो । आफूले मौखिक रूपमा कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादवलाई ध्यानाकर्षण गराउँदासमेत समस्याको समाधान नभएको उहाँले गुनासो गर्नुभयो ।
दिनहुँजसो बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल र जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक दीपेन्द्र शाही पनि यही बाटो भएर ओहोरदोहोर गर्नुहुन्छ तर खाल्डो पुर्न कुनै कदम नचालेको भरतचोकमै पान पसल सञ्चालन गर्दै आउनुभएका अरुण साहले बताउनुभयो । कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादवको घरदेखि मात्र ५० मिटरको दूरीमा रहेको खाल्डो ज्यानमारा बन्दै गएको छ । कुनै पनि बेला यहाँ दुर्घटना हुन सक्ने प्रबल सम्भावना रहेको साहले गुनासो गर्नुभयो ।

साना सवारी साधनहरूलाई त यो खाल्डो पार गर्न झन् गाह्रो छ उहाँले भन्नुभयो, ‘दिनहुँजसो कोही न कोही खाल्डोको कारण लड्ने गरेका छन् । अरू कुनै बाटो नभएको कारण यही बाटो भएर गाडीहरू ओहोरदोहोर गर्नुपर्ने बाध्यता छ । मेयर साहब पनि सधैँ यही बाटो भएर जाने आउने गर्नुहुन्छ तर खै उहाँको आँखा नपरेर होला वा जानीजानी अन्जान बनेका हुन कुन्नि बुझ्नै गाह्रो भयो । मुख्य चोकमा नै यसरी खाल्डो हुँदासमेत सडकको मर्मत सम्भार हुन सकेको छैन । दिनहुँ कुनै न कुनै सानोतिनो दुर्घटना खाल्डोको कारण हुने गरेको उहाँले बताउनुभयो ।’
दिनहुँ सवारीसाधन लिएर जाँदा वा आउँदा सवारीसाधन पल्टिने डर मनमा हुने गरेको कलैया उपमहानगरपालिका–३ का बस चालक विनोद कुशवाहाले बताउनुभयो । मुख्य चोकमा नै यत्रो खाल्डो हुँदासमेत सरोकारवाला निकायहरू मौन देखिएका छन्। कालोपत्रे उक्किएर भरतचौकमै ठूल्ठूला खाल्डाखुल्डी भएका छन् । एकदिन गाडीको चक्काबाट उछिट्टिएको ढुंगाको सानो टुक्राले मेरै टाउकोमा चोट लागेको थियो उहाँले भन्नुभयो, ‘त्यही दिन गाडीको चक्काबाट उछिट्टिएको ढुंगाले एकजनाको गाडीको सिसा फुट्यो ।
विचरा ट्रकवालाले विनासित्ती फुटेको सिसाको मोल तिर्नुपरेको थियो । यसरी दिनहँु कुनै न कुनै रूपमा दुर्घटना हुने गरे पनि सडकको मर्मत सम्भार नगरी उपमहानगरपालिका मौन बसेको उहाँले गुनासो गर्नुभयो। सदरमुकाम कलैया आउँदा कलैयाको मुख्य चोक भरतचौकको खाल्डोमा परी झण्डै दुर्घटना हुनबाट जोगिएको कोल्हवी नगरपालिका-९ का वडाध्यक्ष योगेश चौधरीले बताउनुभयो । मुख्य चोकमै यसरी खाल्डो हुँदासमेत कसैको ध्यान नजानु दुःखद कुरा भएको उहाँले बताउनुभयो । जति सक्दो चाँडो समस्याको समाधान हुनुपर्ने उहाँले बताउनुभयो ।
यता, कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहले भने केही हप्ताभित्रै पक्की सडक निर्माण हुने भएकाले अहिले खाल्डो पुर्ने काम हुन नसकेको बताउनुभयो । सडक निर्माणको काम अहिले प्रोसेसमा भएको कारण मर्मतमा ढिलाइ हुन गएको उहाँको भनाइ छ । उपमहानगरपालिकासँग कुरा गरेर खाल्डाखुल्डी पुर्ने काम तत्काल सम्पन्न गराउने बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिनुभयो । जति चाँडो हुन्छ समस्याको समाधान गराउने उहाँले आश्वासन दिनुभयो ।




















