डा. रिजालको राजीनामा र नैतिकताको प्रश्न!

[ प्रा.पुरुषोत्तम दाहाल ] 

काठमाडौं:= आफ्नो राजनीतिक पुँजी बचाउन मन्त्री पदबाट राजीनामा दिनुभएका डा. मीनेन्द्र रिजालले राजनीतिमा नैतिकताको प्रश्न उठाउनुभएको छ । राजनीतिमा नैतिकताको मूल्यमाथि जति विमर्श हुन्छ त्यति व्यवहारमा प्रयोग भएको देखिएको छैन । मुखमा रामराम बगलीमा छुरा भनिन्छ राजनीतिमा । तर, डा. रिजालले अत्यन्त विश्वासकासाथ मूल्यको प्रश्न उठाउँदै पदबाट दिनुभएको राजीनामाले निश्चय पनि नैतिचकताबारे विमर्श खोजेको छ ।

विगतमा केही घटनाहरूमा राजनीतिक नैतिकता जोडिएका हुन् । ००८ सालको चिनियाँकाजी काण्डमा आफू जिम्मेवार नभए पनि गृहमन्त्री पदबाट बिपी कोइरालाले नैतिकताका आधारमा राजीनामा दिनुभएको थियो । ०३० सालमा सिंहदरबारमा आगलागीको घटनापछि तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले नैतिकताकै आधारमा राजीनामा दिनुभएको थियो । ०४५ साल फागुन २९ गते भयानक प्राकृतिक विपदमा परी रंगशालामा ६९ जना हताहत भएको घटनालगत्तै तत्कालीन शिक्षामन्त्री केशरबहादुर विष्टको राजीनामा पनि नैतिकताकै आधारमा आएको थियो । जबकि त्यस प्राकृतिक विपत्तिका लागि विष्ट जिम्मेवार हुनुहुन्थ्यो । यी त विगत इतिहासका उदाहरण हुन् ।

०४६ को परिवर्तनपछि पनि नैतिकताका आधारमा पदत्यागको शृंखला टुटेको छैन । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा कृषिमन्त्री शैलजा आचार्यले कमिसनको जालो र भ्रष्टाचारको जालो व्याप्त भएको हुनाले त्यसलाई चिर्न नसकेको हुनाले पदबाट राजीनामा दिनुभएको सबैको मनमस्तिष्कमा छ । ०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वले वामबुद्धिजीवी लोककृष्ण भट्टराईलाई नेपाल आयल निगमको अध्यक्षमा नियुक्त गरेको थियो । तर, उहाँले निगमको कमिसन दरबारसम्म पुग्ने गरेको टिप्पणी गर्नुभएपछि आफ्नो भनाइको समर्थनमा राजीनामा दिनुभएको थियो ।

यस्ता अनेक प्रसंगहरू धेरै छन् । जलस्रोत मन्त्री हुनुभएका नेपाली कांग्रेसका नेता बलदेव मजगैयाले भ्रष्टलाई सचिव नियुक्त गरेको हुनाले आफूले नैतिकताका आधारमा राजीनामा दिएको सार्वजनिक गर्नुभएको थियो। तर, पार्टी राजनीतिमा पराजय पनि नैतिकताको कारण हुनसक्छ । पार्टीका सदस्यहरूले समेत विश्वास नगरेको नेता कसरी मन्त्री हुनसक्छ ? यो प्रश्न डा. रिजालले गम्भीर रूपमा उठाउनुभएको छ । व्यक्तिगत रूपमा उहाँको यो भनाइ आत्मपरीक्षणको कसीमा कति गहिराइमा छ त्यो उहाँ आफैँले थाहा पाउने कुरा हो । तर, भोलिको राजनीतिका लागि यो प्रश्न जीवन्त भएर उठिरहने छ । त्यसका लागि डा. रिजाल धन्यवादका पात्र हुनुभएको छ ।

नैतिकतालाई राजनीतिमा धेरै महत्व दिएको पाइँदैन । नैतिकताभित्र व्यक्तिको स्वभाव, आचरण र व्यवहार पर्दछन् । यससँगै अभिव्यक्ति अर्थात् करनी र कथनीको समन्वयलाई महत्वसाथ हेरिने गरिन्छ । कथनी र करनीमा जो खरो उत्रिन्छ त्यसले मात्रै नैतिकताको प्रश्न उठाउने गर्दछ र आत्मसात् गर्दछ । पार्टीमा खुद सभापतिको दबाब र पहलमा अल्पमतमा पार्न लागेपछि ०५६ सालको चैतमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको संसद्मा प्रस्तुत राजीनामा पत्र पढ्दा धेरै कुरा थाहा हुन्छ, राजनीति र नैतिकताको विषयमा । यति हो राजीनामा प्रकरणबाट आगामी दिनमा डा. रिजाल यस समयको नमेटिने उदाहरण हुनुभएको छ ।