राकेश महतोको संघर्ष, व्यवसाय र समृद्ध नेपालको सपना
काठमाडौं:= सामान्य कामदारका रूपमा मलेसिया पुगेका राकेश प्रसाद महतोले त्यहाँको संघर्षपूर्ण यात्राबाट व्यवसायको सुरुवात गरे । कम्पनीमा टेक्निसियनका रूपमा काम गर्दै म्यानेजरसम्मको जिम्मेवारी सम्हालेपछि आफ्नै व्यवसाय सुरु गरेका महतो अहिले मलेसियामा विभिन्न क्षेत्रमा व्यवसाय सञ्चालन गरिरहेका छन् । नेपालमा पनि कृषि क्षेत्रमा लगानी गर्दै उनले रोजगारी सिर्जना गरिरहेका छन् । करिब १२ वर्षदेखि गैरआवासीय नेपाली संघ (एनआरएनए) को अभियानमा जोडिएका महतोले एनसीसी मलेसियाको सह–अध्यक्ष, उपाध्यक्ष र दुईपटक अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् । अहिले उनी एशिया–प्यासिफिक क्षेत्रका डीआरसीका रूपमा कार्यरत छन् । प्रवासमा रहेका नेपालीका समस्या, उनीहरूको पुँजी र सीपलाई नेपालको विकासमा जोड्ने विषयमा पनि उनी निरन्तर आवाज उठाउँदै आएका छन् ।
मलेसिया र नेपालको व्यवसायिक वातावरणमा उनले के फरक पाएका छन् ? विदेशमा रहेका नेपाली नेपालमा लगानी गर्न किन हिचकिचाउँछन्? लगानीका लागि सरकारले कस्तो वातावरण बनाउनुपर्छ ? प्रवासमा संघर्ष गरेर व्यवसायमा स्थापित भएका महतोले नेपालमा कहाँ र कति लगानी गरेका छन् ? र, समृद्ध नेपाल निर्माणमा विश्वभर रहेका नेपालीको भूमिका के हुन सक्छ? यिनै विषयमा चीनको ग्रेट वाल परिसरबाट एशिया–प्यासिफिक क्षेत्रका एनआरएनए हस्ती तथा व्यवसायी राकेश प्रसाद महतोसँग गरिएको कुराकानी :
यहाँलाई ग्रेट वाल अफ चाइनाको ऐतिहासिक परिसरमा हार्दिक स्वागत छ । यतिबेला हामी विश्वको सात आश्चर्यमध्येको एक, चीनको यो महान् पर्खालको माथि छौँ । हामीसँग आज एनआरएनएका पूर्व पदाधिकारी, एशिया–प्यासिफिक क्षेत्रका पूर्व उपप्रमुख एवं मलेसियाका सफल नेपाली व्यवसायी राकेश प्रसाद महतो हुनुहुन्छ । राकेश जी, ग्रेट वालबाट समग्र नेपालीलाई केही भन्न चाहनुहुन्छ ?
आजको यो दिन मलाई धेरै विशेष लागेको छ । किनकि आज म विश्वको सात आश्चर्यमध्येको यो ऐतिहासिक ठाउँमा छु । म के भन्न चाहन्छु भने, आजको दिनमा नेपालीहरू गरिब छैनन् । नेपालीहरू यति सक्षम भइसकेका छन् कि उनीहरूले अब प्राइभेट जेट चढ्न सक्ने हैसियत राखिसकेका छन् । अमेरिका, मलेसिया लगायतका देशमा हाम्रा साथीहरू छन्, जसका आफ्नै प्राइभेट जेट छन् । नेपालमा मात्र यस्तो रेकर्ड छैन । त्यसैले, म भन्न चाहन्छु—नेपालीहरू अब विश्वभर छरिएर रहेका छन् र उनीहरू निकै धनी छन् । तपाईँको जीवनको संघर्ष निकै प्रेरणादायी छ ।
एउटा सामान्य कामदारबाट सफल व्यवसायी बन्ने यहाँको यात्रा कसरी सुरु भयो ?
हेर्नुहोस्, मेरो जीवनको सबैभन्दा ठूलो संघर्ष एउटा मिडिल क्लास फेमिलीबाट सुरु भयो । वैदेशिक रोजगारीमा संघर्ष गर्दै म एउटा सामान्य कम्पनीमा टेक्निसियनका रूपमा काम गर्न गएको थिएँ । त्यहाँ संघर्ष गर्दै गएपछि कम्पनीको म्यानेजरसम्मको पद सम्हालेँ । त्यसपछि मात्र मैले आफ्नो एउटा व्यवसाय सुरु गरेँ । मानिसको जीवनमा संघर्ष त भइरहन्छ, संघर्ष नगरिकन सफलता पाइँदैन । मेरो जीवन पनि त्यही आम नेपालीको जस्तै हो । एउटा कम्पनीबाट सुरु गरेर आज सफल व्यवसायीसम्म पुगेको मेरो संघर्षको कथा हो ।
मलेसिया र नेपालको व्यावसायिक वातावरणमा तपाईँले मुख्य भिन्नता के पाउनुभयो?
मलेसियामा व्यापार गर्न एकदमै सरल छ । मलेसियाका नियम–कानुन, व्यापार गर्ने सिस्टम र पेमेन्ट गर्ने सिस्टम एकदमै सहज छ । मलेसिया सरकारले सबै कुरालाई सहजीकरण बनाएको छ । जसले गर्दा हामीलाई व्यापार गर्न निकै सजिलो हुन्छ । तर नेपालको कुरा गर्ने हो भने त्यहाँ एकदमै जटिल प्रक्रिया छ । एउटा कम्पनी दर्ता गर्नै महिनौँ लाग्दो रहेछ । ट्याक्सको झन्झट उत्तिकै छ । एप्रुभल लिनका लागि विभिन्न निकायहरू धाउनुपर्छ । यो सबले गर्दा नेपालमा व्यापार गर्न मलेसियाको तुलनामा धेरै गाह्रो छ । यदि नेपाल सरकारले यी सबलाई सहजीकरण गरिदिए, विदेशमा बसेका नेपालीहरूले नेपालमा लगानी गर्न निकै चासो देखाउने थिए ।
तपाईँ एनआरएनएको अभियानमा लामो समयदेखि हुनुहुन्छ । गैरआवासीय नेपालीका समस्या र तपाईँको भूमिकाबारे बताइदिनुहोस् न ।
म एनआरएनएको अभियानमा लगभग १२ वर्षदेखि छु । म एउटा जो–राज्य समितिको साधारण सदस्यदेखि लिएर एनसीसी मलेसियाको सह–अध्यक्ष, उपाध्यक्ष र दुईपटक अध्यक्षसमेत भएँ । अहिले म एशिया–प्यासिफिक क्षेत्रको डीआरसी छु । एनआरएनए एउटा अभियान हो । यो अभियानमा हामी ‘नेपालीका लागि नेपाली’ भन्ने नाराका साथ अघि बढेका छौँ । विदेशमा बिरामी परेका नेपाली हुन्, दुर्घटनामा परेका नेपाली हुन् वा कुनै पनि समस्यामा परेका, एनआरएनएले सधैँ सहयोग गरिरहेको छ । टिकटको समस्या होस्, घर पु¥याउने काम होस् वा कोभिडको बेला राहत वितरण—हामी सधैँ तत्पर छौँ । विदेशमा हुने नेपालीको मृत्युपछि शव नेपाल पठाउनेदेखि लिएर अन्य कानुनी प्रक्रियामा पनि हामीले ठूलो सहयोग गर्दै आएका छौँ ।
तपाईँले विदेशबाट आर्जन गरेको पैसा नेपालमा लगानी गर्दै हुनुहुन्छ । तपाईँले अहिले कुन–कुन क्षेत्रमा र कतिलाई रोजगारी दिनुभएको छ?
हामी मलेसियामा व्यापार गरिरहेका छौँ, सेम टाइम नेपालमा पनि आफ्नो मातृभूमिका लागि केही गर्नुपर्छ भन्ने उद्देश्यले नेपालमा पनि लगानी गरेका छौँ । अहिले मेरो लगभग ८–१० बिघाको माछापालन छ । हामी कृषिमा ध्यान दिएका छौँ । म नेपालमा अहिले २५–३० जनालाई रोजगारी दिइरहेको छु । मलेसियामा चाहिँ हाम्रो होटल म्यानेजमेन्ट, ग्रोसरी, मार्ट, रेस्टुरेन्ट, बार्बर शप र सैलुन जस्ता व्यवसाय छन् । यी सबै गरेर हामीले ५० भन्दा बढी नेपालीलाई प्रत्यक्ष र ५० भन्दा बढीलाई अप्रत्यक्ष रूपमा रोजगारी दिइरहेका छौँ ।
व्यवसायीका रूपमा सफल हुन के कस्ता गुणहरू आवश्यक पर्छन ?
मेरो विचारमा, म आफैँलाई सफल मान्दिनँ । म अझै हार्ड वर्क गरिराखेको छु । अझै धेरै कुरा अचिभ गर्न बाँकी छ । लाइफमा मलाई लाग्छ, हरेक दिन नयाँ कुरा सिक्न पाइन्छ । मेरो मूल मन्त्र एउटै छ—इमानदारी र कडा मेहनत । यी दुई कुरा एकदम जरुरी छ । आजभोलि मान्छेले ‘स्मार्ट वर्क’ भन्छन्, टेक्नोलोजीको युज भन्छन् ।
स्रोत : जनसवाल राष्ट्रिय दैनिक




















