नेसन्स लिग फुटबल प्रतियोगितामा इटाली र इंग्ल्याण्ड एउटै समूहमा।

लण्डन:= युरोकप २०२०को विजेता इटाली र उपविजेता इंग्ल्याण्ड नेसन्स लिगको एकै समूहमा परेका छन् । युइएफएले बिहीबार निकालिएको ‘ड्र’मा इटाली, इंग्ल्याण्डसँगै जर्मनी र हंगेरी लिग ‘ए’को समूह ‘ए थ्री’मा परेका हुन् ।

नेसन्स लिगको तेस्रो संस्करणको लिग ‘ए’को समूह ‘ए वान’मा फ्रान्स, डेनमार्क, क्रोएसिया र अष्ट्रिया परेका छन् । लिग ए समूह ‘ए टु’ मा स्पेन, पोर्चुगल, स्वीट्जरल्याण्ड र चेक रिपब्लिक परेका छन् । लिग एकै समूह ‘ए फोर’ मा बेल्जियम, नेदरल्यान्ड्स, पोल्याण्ड र वेल्स भिड्नेछन् । नेसन्स लिगमा युरोपका ५५ राष्ट्रलाई चार समूहमा विभाजन गरिएको छ । लिग ‘ए’को १६ टोली बढुवाको आधारमा तय गरिनेछ ।

नेसन्स लिगका समूह चरणका खेलहरू २ जुनदेखि सुरु भएर २७ सेप्टेम्बरसम्म चल्नेछ । त्यसपछि सेमिफाइनल र फाइनलको ड्र निकालिनेछ । सेमिफाइनल सन् २०२३ को १४ र १५ जुनमा तथा फाइनल र तेस्रो स्थान १८ जुन २०२३ मा हुनेछ । चौथो संस्करणको लागि प्ले अफ २०२४ को २१-२३ तथा २४-२६ मार्चमा हुनेछ ।