मधेसी, थारु , महिला र नेवारी समुदायसमेत केन्द्रीय नेतृत्वबाट वञ्चित
[ प्रा.पुरुषोत्तम दाहाल ]
काठमाडौं:= नेपालको लोकतान्त्रिक आन्दोलनको मियो नेपाली कांग्रेसका तीन स्तम्भ बिपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका सन्ततिहरूलाई १४औँ महाधिवेशनमा कांग्रेसका प्रतिनिधिहरूले पदाधिकारीमा हराएका छन् । मधेसी समुदाय, महिला र नेवारी समुदायको केन्द्रीय प्रतिनिधित्व आगामी चार वर्षका लागि कांग्रेसमा समाप्त भएको छ । कोटामा पर्ने सहमहामन्त्रीहरूबाट यसको परिपूरण हुने कुनै सम्भावना छैन ।
तीन घरानाको पराजय :
सभापतिमा उम्मेदवारी दिनुभएका डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र उपसभापतिमा सुजाता कोइरालाको पराजयलाई पुस्तान्तरण, रूपान्तरण वा पुस्ता हस्तान्तरण भन्न मिल्छ कि मिल्दैन बहस हुँदै जानेछ । तर, सत्य के हो भने राणा शासनको अन्त्यसँगै यी तीन घरानाविरुद्ध प्रतिशोध लिने प्रक्रियाको उत्कर्षमा अग्रगमन र परिवर्तनका नाममा कांग्रेसको जग चर्मराउन पुगेको अनुभव यी चारैजनाको पराजयबाट यसपटक गरिएको छ ।
सभापतिका प्रत्यासी यी तीनमध्ये पार्टीमा क्रियाशील योगदानका अर्थमा पाँच दशकभन्दा बढी योगदान विमलेन्द्रको थियो भने प्रकाशमानको योगदान चार दशक हाराहारी छ । डा. शेखरको योगदान भने दुई दशक पुग्न लागेको छ भने सुजाताको योगदान करिब तीस वर्ष भएको छ । कांग्रेसको ७५ वर्षको विगतमध्ये कोइराला परिवारको नेतृत्व करिब ५३ वर्ष रहेको हुनाले वंशगत चिन्तन नवसामन्तवाद हो भन्ने हाम्रो मान्यता छ ।
त्यसैकारण हामीले भनिरहृयौँ सभापतिमा मधेसी समुदायबाट, भविष्यको प्रधानमन्त्री उपत्यकाको नेवारी समुदायबाट र राष्ट्रपति पहाडी क्षेत्रको जातिबाट भयो भने कांंग्रेस एक हुनेछ । तर, कांग्रेसका प्रतिनिधिहरूले विमलेन्द्र निधि, डा. शेखर कोइराला, प्रकाशमान सिंह र सुजाता कोइरालालाई समेत किनारा लगाउन पुगे । यसको परिणाम भविष्यका लागि कस्तो हुनेछ भन्न सकिँदैन ।
मधेसी थारु र नेवारी समुदाय तिरष्कृत :
नेपाली कांग्रेसको पदाधिकारीमा मधेसी र नेवारी समुदाय पूर्णतः तिरष्कृत हुन पुगेको छ । समावेशिताको सिद्धान्तलाई लागू गर्न प्रस्ताव गर्ने र हिमाल पहाड तराई मधेस जोड्ने विचार प्रस्तुत गर्ने तत्कालीन नेपाली कांग्रेस प्रजातान्त्रिकका नेता र हालका सभापतिका प्रतिस्पर्धी विमलेन्द्र निधिसँगै उपसभापतिका उम्मेदवार विजयकुमार गच्छदारलाई प्रतिनिधिहरूले पराजित गरे । यता, राजधानीको मूलथलोका प्रकाशमान सिंहको पराजय भएपछि मधेसी र नेवारी समुदायलाई कांग्रेस प्रतिनिधिहरूले पदाधिकारीमा तिरष्कार गरेको देखिन्छ ।
केन्द्रीय पदाधिकारीमा महिला अमान्य :
समावेशिता अवलम्बन गर्ने कांग्रेसको केन्द्रीय नेतृत्वमा महिलाको नेतृत्व अस्वीकार्य हुन पुगेको छ । उपसभापतिमा सुजाता कोइराला र दिव्येश्वरी शाह मात्र प्रतिस्पर्धी हुनुहुन्थ्यो । कमसेकम महिला अधिकारको नारा दिएर नथाक्नेहरूले त यो विषयलाई गुटभन्दा फरक हेर्न सक्नुपर्ने थियो । दिव्येश्वरी शाह सुदूरपश्चिम क्षेत्रको लोकतान्त्रिक आन्दोलनकी प्रतिनिधि व्यक्तिको नाम हो ।
उहाँ ०१५ सालमा नेपाली कांग्रेसका सांसद लोकेन्द्रबहादुर शाहकी छोरी, महिला संघ कैलालीकी संस्थापक, रक्सीविरोधी आन्दोलनकी नायक र हाल प्रदेशसभा सदस्य हुनुहुन्छ भने सुजाता विगत तीन दशकदेखि आन्दोलनमा सक्रिय हुनुहुन्छ । उहाँ वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रका संस्थापक, शान्ति प्रक्रियाका नायक गिरिजाप्रसादकी छोरी हुनुहुन्छ ।
यसले के प्रमाणित गर्दछ भने नेपाली कांग्रेसमा एउटा खास वर्गको वर्चस्वका पक्षमा प्रतिनिधिहरूको चिन्तन र नेतृत्व सोच रहेको छ र अत्यन्त अनुदारतातर्फ पार्टीलाई उन्मुख गराउने काम भइरहेको छ ।
धर्मनिरपेक्षता र संघीयताको प्रश्न :
नेपाली कांग्रेसमा गणतन्त्र, संघीयता समावेशिता र धर्मनिरपेक्षताका पक्षमा बेजोड अडान राख्ने रामचन्द्र पौडेललाई पहिले नै पाखा लगाइयो भने विमलेन्द्र निधिलाई अत्यन्त कम मत दिएर हराउने काम भयो । यसले के देखाउँछ भने नेपाली कांग्रेसका प्रतिनिधिहरू कुनै सैद्धान्तिक र वैचारिक परिवर्तनका पक्षमा नभएर भावनात्मक उत्तेजनामा कुनै उमेर समूह र कुनै वर्ग विशेषका पक्षमा मात्र सक्रिय छन् । १४औँ महाधिवेशनमा धर्म, संघीयता र गणतन्त्रका विषयमा नराम्रो गरी कांग्रेसमा बहस हुने अवस्था थियो । यो बहस र उत्पन्न हुनसक्ने विवादबाट पन्छिनकै लागि अनेक तरहले महाधिवेशनलाई टार्दै जाने र जसरी पनि केन्द्रीय नेतृत्व हातमा लिने प्रयत्नहरू भएको सजिलै बुझ्न सकिन्छ ।
केही महत्वपूर्ण संकेतहरू :
सभापतिमा शेरबहादुर देउवालाई अत्यधिक मत दिनुले कांग्रेस प्रतिनिधिहरू केन्द्रीय नेतृत्वमा अनुदार देखिए पनि उपसभापतिमा धनराज गुरुङ र महामन्त्रीमा गगन थापासहित विश्वप्रकाश शर्मालाई विजयी तुल्याएर नवीनताको खोजीमा रहेको देखिन्छन् ।
उपसभापतिका उम्मेदवार पूर्णबहादुर खड्काको विजय स्वाभाविक मानिन्छ । सभापति देउवाको पुस्ता र गगनसम्मको पुस्तालाई संयोजन गर्ने भूमिका उहाँको रहन्छ । अब सहमहामन्त्रीका अनुहारले कांग्रेसको भविष्य कस्तो हुनेछ अनुमान गर्न सकिन्छ ।
तर, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. शेखर, विजय गच्छदार, महेश आचार्य, डा. मीनेन्द्र रिजाल, सुजाता कोइराला, डा. चन्द्र भण्डारी डा. प्रकाशशरण महतहरूको पराजय र केन्द्रीय तहको अनुपस्थिति कांग्रेसका लागि निकै महँगो सावित हुन सक्नेछ ।
यस सत्यलाई परिवर्तनका कुरा गर्ने नयाँ पुस्ता र आफ्नै हातमा नेतृत्व राख्ने पुराना पुस्ताका प्रतिनिधिहरूले अनुभूत गर्न सक्नेछन् वा छैनन् कांग्रेसको भविष्य त्यहीँबाट निर्धारण हुनेछ । अझ वडा, क्षेत्र, प्रदेश र जिल्लामा नै पराजित कांग्रेसका निष्ठावानहरूको मनोविज्ञानसमेत एकाकार भयो भने कांग्रेसले घातक संक्रमणको सामना गर्नुपर्ने हुन सक्छ ।




















