काठमाडौं:= विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघले कोरोना महामारीग्रस्त गरिब राष्ट्रको हरित, उत्थानशील र समावेशी विकासका लागि ९३ अर्ब अमेरिकी डलरको प्याकेज घोषणा गरेको छ ।
उक्त रकममध्ये २३.५ अर्ब अमेरिकी डलर विश्वका ४८ उच्च र मध्यम आय भएका मुलुकले प्रतिबद्धता गरेका हुन् भने बाँकी पुँजीबजार, साँवा भुक्तानी र विश्व बैंकले आफनैतर्फबाट योगदान गर्ने विश्व बैंक समूहका अध्यक्ष डेभिड मल्पासले बताउनुभएको छ ।
मल्पासका अनुसार उक्त प्याकेज दोस्रो विश्वयुद्धपछिको पुनर्निर्माणका लागि घोषणा गरिएको प्याकेजजस्तै ठूलो प्याकेज हो । नयाँ प्याकेजमा जापानले प्रतिबद्धता जनाइसकेको छ ।
विश्व बैंकका अध्यक्ष मल्पासले साझेदार मुलुकको उदार सहयोगले विकासका चुनौती सम्बोधन गर्दै करोडौँ मानिसको जनजीवन सुधार गर्न सकिने बताउनुभएको छ । उक्त सहयोग नेपालसहित विश्वका ७४ मुलुकले प्राप्त गर्नेछन् ।
अन्तर्राष्ट्रिय विकास संघको यस्तो सहायता मानव पुँजीमा लगानी, शिक्षा, स्वास्थ्य, पोषण, खोप, सामाजिक सुरक्षा र कमजोर मानिसको सहयोगका लागि परिचालन गरिने बताइएको छ ।




















