१४औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएपछि रक्षामन्त्री रिजालद्वारा मन्त्री पदबाट राजीनामा।

काठमाडौं := अहिलेका गठबन्धनको नेपाल सरकारको रक्षामन्त्री डा.मीनेन्द्र रिजालले मन्त्री पदबाट राजिनामा दिने घोषणा गर्नुभएको छ।

मन्त्री रिजालले भावावेशमा नभई राजनीतिक पुँजी बचाईराख्न मन्त्री पदबाट राजीनामा गरेको स्पष्ट पार्नुभएको छ। पार्टीको १४औँ महाधिवेशनमा महामन्त्री पदमा पराजित भएपछि मन्त्री रिजालले बिहीबार अपरान्ह रक्षा मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी मन्त्री पदबाट राजीनामा गरेको जानकारी गराउनुभएको हो ।

उहाँले लामो राजनीतिक जीवनबाट आर्जन गरेको सम्पत्ति ‘राजनीतिक पुँजी’ बचाईराख्न रक्षामन्त्री पदबाट राजीनामा गरेको स्पष्ट पार्नुभयो । उहाँले भावावेशमा नभई राजनीतिक सम्पत्ति गुमाएँ कि भन्ने लागेर आफूले राजीनामा गरेको बताउनुभयो ।

आफू राजनीतिमा हारेको वा थाकेको सिपाही नभई दृढ निश्चयका साथ अघि बढ्न सक्ने आत्मविश्वासका साथ उभिएको पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘राजनीतिक सम्पत्ति गुमाएँ कि जस्तो लाग्यो । मैले निर्वाचन हारेको मात्रै होइन । त्यसैले पनि राजनीतिक पुँजी बचाएर राख्नुपर्छ भन्ने लागेर नै यो राजीनामा गरेको हो । अहिलेको निर्णय रक्षामन्त्री पदबाट राजनीनामा दिने निर्णय मात्रै हो । त्योभन्दा अगाडि के हुन्छ सोचेको छैन ।’

आफूले कुनै लेनदेनबाट शेखर कोइरालालाई समर्थन नगरेको पनि उहाँले स्पष्ट पार्नुभयो । महामन्त्रीमा उम्मेदवारी दिँदै गर्दा पराजित हुनुपरे पनि आफूभन्दा सक्षम र सबैले पत्याएको मान्छे छोडेर जानेमा आफू ढुक्क भएको भन्दै उहाँले पार्टी अझै सक्रियताका साथ अघि बढोस् भन्ने कामना आफ्नो रहेको बताउनुभयो ।

उहाँले पार्टीले चित्तबुझ्दो जिम्मेवारी नदिए राजनीतिबाटै अलग हुनसक्ने संकेत गर्नुभयो । सञ्चारकर्मीको जिज्ञासामा उहाँले सक्रिय राजनीतिबाट अलग हुने निर्णयमा आफू पुगिनसकेको भए पनि त्यो सम्भावनालाई पनि नकार्ने नसकिने बताउनुभयो । मन्त्री रिजालले आफ्नो राजीनामा पत्र प्रधानमन्त्रीलाई बुझाएपछि मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्नुभएको हो ।