कांग्रेसमा दुई युवा नेताको उदय: गुटको घेरालाई तोडेर महामन्त्रीमा अत्यधिक मतले विजयी।

[ नारायण भण्डारी ] 

काठमाडौं:= नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्री पदका लागि भएको निर्वाचनमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित हुनुभएको छ । सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा भएको मतगणनामा दुवैले संस्थापन पक्षका उम्मेदवारलाई पराजित गर्नुभएको हो ।

थापा सर्वाधिक तीन हजार २३ मत ल्याउँदै महामन्त्रीमा निर्वाचित हुँदा शर्माले एक हजार ९८४ मत प्राप्त गरेर विजयी हुनुभयो । थापा शेखर कोइराला प्यानल र विश्वप्रकाश प्रकाशमान सिंह प्यानलबाट महामन्त्रीमा उम्मेदवार बन्नुभएको थियो । थापा दोस्रो पटकको प्रयासमा महामन्त्रीमा निर्वाचित हुँदा शर्मा भने पहिलो प्रयासमै पदाधिकारीमा चयन हुनुभएको हो । दुवै उम्मेदवार देउवाइतर समूहका हुनुहुन्छ । दुवैले गुण दोषको आधारमा पार्टी सभापतिलाई सहयोग गर्ने बताउनुभएको छ ।

महामन्त्रीको दुई पदका लागि ६ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । अन्तिम मत परिणामअनुसार प्रकाशशरण महतले एक हजार ५५६ मत पाउँदै तेस्रो स्थान हासिल गर्नुभयो भने प्रदीप पौडेलले एक हजार ३९३ मत प्राप्त गर्नुभयो । उहाँहरू दुवैजना देउवा प्यानलबाट उम्मेदवार बन्नुभएको हो । यस्तै, शेखर कोइरालाको प्यानलबाट महामन्त्रीको उम्मेदवार बन्नुभएका मीनेन्द्र रिजालले ८०७ मत पाउँदा राजाराम कार्कीले १०६ मत पाउनुभएको कांग्रेस महाधिवेशन निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।

सभापतिमा पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा गएको थियो । दोस्रो चरणमा प्रकाशमान सिंह र विमलेन्द्र निधिले शेरबहादुर देउवालाई समर्थन गर्नुभएको थियो । सभापति र उपसभापतिको पनि मतगणना भइसकेको छ । सभापतिमा शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसक्नुभएको छ । सोमबार भृकुटीमण्डपमा भएको मतदानमा कुल चार हजार ६७९ मत खसेको थियो । कांग्रेसमा यसपटक सभापतिसहित १३४ पदमा निर्वाचन भएको छ ।

गलत व्यक्तिलाई महामन्त्री बनाइएछ भन्ने हुन दिन्नँ : थापा

कांग्रेसको १४औँ महाधिवेशनको महामन्त्री पदमा जितेपछि गगन थापाले गलत मान्छेलाई छानिएछ भन्ने अवस्था आउन नदिने बताउनुभएको छ । ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा मत परिणाम सार्वजनिक भएपछि पत्रकारहरूसँग बोल्दै आफूले नथाकी जिम्मेवारी निर्वाह गर्ने बताउनुभएको हो । आफूलाई छान्ने नेताहरूले गलत मान्छेलाई छानेको भन्ने आभाष नगराउने उहाँले बताउनुभयो । ‘महामन्त्रीको रूपमा मैले आज जुन एउटा जिम्मेवारी प्राप्त गरेको छु, यो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्छु ।

मैले मेरो महाधिवेशनका प्रतिनिधि साथीहरूलाई एकदिन पनि गलत व्यक्तिलाई छानेछु भन्ने अवस्था आउन दिन्नँ भनेको थिएँ । त्यो कुरामा इमानदारीपूर्वक काम गर्छु,’ उहाँले भन्नुभयो, ‘म एउटा समूहमा बसेर निर्वाचन लडेँ । समूहप्रति मेरो विशेष सम्मान छ । तर, जिम्मेवारी पाएपछि अब म सिंगो पार्टीको महामन्त्री हुँ ।’ उहाँले अब कुनै पनि अलमलमा नपरी पार्टीलाई अघि बढाउने बताउनुभयो ।

कांग्रेस रूपान्तरणको यात्रा सुरु भयो : शर्मा

नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले अब आधुनिक कांग्रेस बन्ने बताउनुभएको छ । पार्टीको महामन्त्री निर्वाचित भएपछि बिहीबार सानेपास्थित पार्टी कार्यालयमा बोल्दै महामन्त्री शर्माले आफ्नो जित केवल एउटा व्यक्तिको जित नभई बदलिएको कांग्रेस र बलियो कांग्रेस बनाउने आकांक्षाको जित भएको बताउनुभयो । उहाँले अबका दिनमा पार्टी हिजोको जसरी नचल्ने भन्दै रूपान्तरित भएर जाने बताउनुभयो । अब आधुनिक कांग्रेस बन्ने उहाँको भनाइ छ ।

महामन्त्री शर्माले कांग्रेसलाई आगामी निर्वाचनमा विजयी गराउन सक्ने तागतको रूपमा बदल्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो व्यक्तिगत रूपमा विश्वप्रकाश शर्मालाई उहाँहरूले छनोट गर्नुभएको, एउटा व्यक्तिलाई जिताउनुभएको या एउटा गुटलाई जिताउनुभएको होइन ।

पार्टीलाई आजका जीवन्त र ज्वलन्त मुद्दाहरूलाई बुझ्न सक्ने बनाएर नेपाली समाजको नवीन ढंगले नेतृत्व गर्नसक्ने कांग्रेस बनाउने उहाँहरूको अपेक्षाको, उहाँहरूको आकांक्षाको जित हो रूपान्तरित कांग्रेस देशसमक्ष राख्नेछौँ । आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउन सक्ने तागतको रूपमा बदल्नेछौँ ।’ महामन्त्री शर्माले आफ्नो जिम्मेवारीलाई निष्ठा, विनम्रता र संयमताका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

महामन्त्रीमा गुटभन्दा व्यक्तिको प्रभाव हाबी !

सभापतिको निर्वाचनमा गुटको प्रभाव अत्यधिक देखिएको थियो । तर, महामन्त्री पदका लागि भएको चुनावको परिणामले गुटगत प्रभाव एकदमै कमजोर देखाएको छ । सभापतिमा शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि निर्वाचित भए पनि आगामी चार वर्षका लागि महामन्त्रीमा ६ जनाबीच दुई पदका लागि भएको प्रतिस्पर्धामा गुटको प्रभाव अत्यन्तै न्यून देखिएको हो । पहिलो चरणमै झण्डै बहुमत ल्याउनुभएका देउवाको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिनुभएका डा. प्रकाशशरण महत र प्रदीप पौडेलले जित्नुपर्ने देखिए पनि उहाँहरू दुवैजना प्रतिस्पर्धामा तेस्रो र चौथो हुनुभएको छ ।

कोइराला (संस्थापनइतर) समूहबाट उम्मेदवार गगन थापा तीन हजार २३ मतसहित पहिलो हुनुभयो भने गुटका हिसाबले तेस्रो प्रभावशाली प्रकाशमान सिंह समूहका विश्वप्रकाश शर्मा एक हजार ९८४ मत ल्याएर दोस्रो हुनुभयो । थापाले ल्याएको मत खसेको मतको दुईतिहाइ हो । तर, महामन्त्रीमा गुटको प्रभाव नदेखिनुमा उम्मेदवारहरूले कांग्रेस र राष्ट्रिय राजनीतिमा देखाएको आशाको प्रतिविम्ब हो । १३औँ महाधिवेशनमै महामन्त्रीका आकांक्षी बन्नुभएका गगन थापाले पछिल्लो साढे पाँच वर्ष कांग्रेसभित्र र संसद्मा खेलेको भूमिकाको मूल्यांकन महाधिवशेन प्रतिनिधिहरूले गरेका छन् ।

थापा जस्तै कांग्रेस, राजनीति र देशलाई नै नवीन ढंगले अघि बढाउनुपर्छ भन्ने मान्यता बोकिरहने विश्वप्रकाश शर्मालाई जिताउन पनि कांंग्रेस महाधिवेशन प्रतिनिधिले गुट हेरेनन् । कांग्रेस प्रवक्ताका रूपमा दैनिकजसो कार्यकर्तामाझ पुगिरहने, टेलिभिजनमा समेत सामाजिक जागरण र उत्थानमा जोड दिने ‘ऐना’ जस्ता कार्यक्रमले पनि शर्माको लोकप्रियता बढाउन सघाउ पुग्यो । सरल र मिठो शैलीमा बोल्ने शर्मालाई झण्डै दुई हजार प्रतिनिधिले अमूल्य मतले सम्मान गरे ।

युवा हुँदाहुँदै पनि प्रदीप पौडेलको उम्मेद्वारी थापा र शर्माका अगाडि फिक्का हुन पुग्यो । अन्तिम समयमा सिटौला समूहबाट संस्थापन पक्षको उम्मेदवार बन्न पुग्नुभएका पौडेललाई देउवा खेमाले रुचाएको देखिएन । गुटको प्रभाव महामन्त्रीको चुनावमा मात्रै भत्किएन, कांग्रेसको उपसभापतिमा पनि उसैगरी भत्कियो । कोइराला प्यानलका धनराज गुरुङले विजय गच्छादार जस्तो संस्थापन प्यानलका बलिया उम्मेदवारलाई पराजित गर्दै आफूलाई सुरक्षित गर्नुभयो ।

नेविसंघको अध्यक्षदेखि कांग्रेस महामन्त्रीसम्म शर्माको यात्रा

विद्यार्थी जीवनबाटै राजनीतिमा होमिनुभएका विश्वप्रकाश शर्मा नेपाली कांग्रेसको केन्द्रीय महामन्त्री बन्न सफल हुनुभएको छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बिहीबार सम्पन्न मतगणनानुसार उहाँ महामन्त्रीमा निर्वाचित हुनुभएको हो । झापाको धुलाबारीमा ०२७ सालमा जन्मिनुभएका विश्वप्रकाश शर्माले मेची क्याम्पसदेखि विद्यार्थी राजनीति थाल्नुभएको हो । कक्षा आठमा पढ्दा नै नेविसंघको युनिट सभापति हुनुभएका उहाँ विद्यार्थी आन्दोलनका क्रममा हिरासत बस्नुभयोे । पछि मेची क्याम्पसको नेविसंघ सभापति हुनुभयो । ०४७ सालमा उहाँ नेविसंघको झापा सभापति हुनुभयो, त्यसको २० वर्षपछि १२औँ महाधिवेशनमा उहाँ पार्टी जिल्ला सभापतिमा चुनाव लड्नुभयो । तर, जिल्ला सभापति बन्न सक्नुभएन ।

०४८ पछि नेविसंघको केन्द्रीय सदस्य, महामन्त्री हुँदै विद्यार्थी राजनीतिमा उदाउनुभएका शर्मा ०५७ सालमा नेविसंघको केन्द्रीय अध्यक्ष बन्नुभयो । त्यही बेलादेखि आम विद्यार्थीमाझ लोकप्रिय बन्नुभएका शर्माले पार्टी राजनीतिमा आएपछि त्यो लोकप्रियतालाई कायम राख्नुभएको छ । तर, आमनिर्वाचनमा भने उहाँले मतदाताको मन जित्न सक्नुभएको छैन । उहाँ ०७० को संविधानसभा सदस्यको निर्वाचनमा झापा-१ बाट उम्मेदवार हुनुहुन्थ्यो । ०७४ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पनि उहाँ प्रत्यासी हुनुहुन्थ्यो, तर पराजित हुनुभयो । समाजशास्त्रमा स्नात्तकोत्तर गर्नुभएका उहाँले बुझेको समाज अन्य राजनीतिज्ञको दृष्टिकोणभन्दा फरक छ ।

नेविसंघको महामन्त्री हुँदै कांग्रेसको महामन्त्रीसम्म थापाको यात्रा

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को राजनीतिबाट उदाउनुभएका गगनकुमार थापा पार्टीको महामन्त्री पदमा निर्वाचित हुनुभएको छ । समाजशास्त्र तथा मानवशास्त्रमा स्नातकोत्तर अध्ययन गर्नुभएका थापाले २०५९ सालदेखि २०६१ सालसम्म नेविसंघको महामन्त्री भएर काम गर्नुभएको थियो । त्रिचन्द्र क्याम्पसमा पढ्न थालेपछि चाँहि उहाँ विद्यार्थी संगठनमा लाग्नुभयो । २०५१ सालमा उहाँ त्रिचन्द्र स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित हुनुभयो । त्यसपछि त्रिचन्द्रको स्ववियुमा सचिव हुँदै सभापति पनि बन्नुभयो । २०५५ सालमा स्ववियु सभापति भएपछि नेविसंघको केन्द्रीय राजनीतिमा उहाँको संलग्नता बढ्यो । नेविसंघको केन्द्रीय उपाध्यक्ष हुँदै महामन्त्रीसम्म बन्नुभयो ।

लोकतान्त्रिक आन्दोलनमा उहाँको प्रखर वक्तृत्व अनि लोकप्रिय छविको जताततै प्रशंसा भयो । दोस्रो सविधानसभामा कृषि तथा जलस्रोत समितिको सभापतिको प्रभावशाली भूमिका निर्वाह गर्नुभएका थापा नेपाली कांग्रेसका युवा नेता र सभासदको रूपमा सदा चर्चाको शिखरमा रहनुभयो । २०६७ सालमा भएको नेपाली कांग्रेसको १२औँ महाधिवेशनमा सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित हुनुभयो । त्यसैगरी, २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर-४ बाट अत्यधिक मतसहित विजयी बन्नुभयो । उहाँ प्रचण्ड प्रधानमन्त्री हुँदा २०७३ मा स्वास्थ्यमन्त्री बन्नुभएको थियो । नेपाली कांग्रेसको १३औँ महाधिवेशनमा महामन्त्री पदको लागि आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको थियो तर त्यसमा उहाँले पराजय बेहोर्नुपर्‍यो । यसपटक उहाँले करिब दुईतिहाइ मतले महामन्त्री जित्नुभएको छ ।