‘आई एम डन टु’ लेख्दै निर्णयको विरोध
काठमाडौं:= नेपाल क्रिकेट संघ (क्यान)ले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित चार क्रिकेटरमाथि कारबाही गरेसँगै नेपाली क्रिकेटमा जगतमा तरंग आएको छ । क्यानको बुधबार बसेको बोर्ड बैठकले मल्ललाई कप्तान र ऐरीलाई उपकप्तानबाट पदमुक्त गर्ने निर्णय गरेपछि नेपाली क्रिकेटमा तरंग आएको हो ।
सम्भवतः नेपाली क्रिकेटको इतिहासमै क्यानले खेलाडीमाथि यति ठूलो कारबाही गरेको हो । कारबाहीपछि यो विषयलाई लिएर सामाजिक सञ्जाल तथा सार्वजनिक फोरमहरूमा विभिन्न टीकाटिप्पणी आइरहेका छन् भने कारबाहीमा परेका खेलाडी तथा जिम्मेवारी पाएका खेलाडीबाट कुनै औपचारिक प्रतिक्रिया आएको छैन । क्यानकै पदाधिकारीहरूले भने विभिन्न टीकाटिप्पणी गरेका छन् ।
नयाँ कप्तानको जिम्मेवारी सन्दीप लामिछानेलाई दिइएको छ । मल्ल र ऐरीसँगै सोमपाल कामी र कमल सिंह ऐरीलाई २०२२ को सेन्ट्रल कन्ट्याकमा सुरुको ६ महिना सहभागी नगराउने निर्णय क्यानले गरेको छ । उनीहरूलाई अनुशासन उल्लंघन गरेको पाइएपछि बोर्ड बैठकले उक्त निर्णय लिएको क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले बताउनुभयो ।
खेलाडीको केन्द्रीय सम्झौतालाई लिएर कप्तान मल्लसहित केही सिनियर खेलाडीले सार्वजनिक रूपमा गुनासो गर्नुभएको थियो । खेलाडीको वर्गीकरण वैज्ञानिक र व्यावहारिक नभएको मल्लसहित केही सिनियर खेलाडीको गुनासो थियो ।
‘क्यानले गठन गरेको छानविन समितिले खेलाडीहरूले अनुशासन उल्लंघन गरेको प्रमाणसहित पुष्टि गरेपछि हामीले विधिवत रूपमा छलफल गरी बोर्डबाट यो निर्णय गरेका हौँ,’ क्यान सचिव मल्लले भन्नुभयो, ‘यस निर्णयबाट आगामी दिनमा पनि खेलाडीहरूलाई अनुशासनको दायरा उल्लंघन नगर्न पाठ हुने विश्वास लिएका छौँ ।’
खेलाडीले मिडियामा क्यानविरुद्ध ग्रेडिङलगायत विषयमा बोलेको भन्दै क्यानले स्पष्टीकरण सोधेको थियो । जवाफमा खेलाडीहरूले हस्ताक्षरसहित उल्टै ११ बुँदे मागपत्र क्यानमा बुझाएका थिए । त्यहीँबाट खेलाडी र क्यानबीच तीक्ततापूर्ण सम्बन्ध सुरु भएको हो । लगत्तै क्यानले कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लको संयोजकत्वमा पाँच सदस्यीय खेलाडी अनुशासन छानविन समिति बनाएको थियो ।
उक्त समितिले छानविनपश्चात् तयार पारेको प्रतिवेदनमा खेलाडीहरूले अनुशासन उल्लंघन गरेकाले कारबाहीको सिफारिस बोर्ड बैठकलाई गरेको थियो । उक्त प्रतिवेदनका आधारमा बुधबार बसेको बोर्ड बैठकले ज्ञानेन्द्रसहितका खेलाडीलाई कारबाही गरेको हो ।
खेलाडीहरूमाथि कारबाही गर्ने निर्णय बहुमतका आधारमा लिइएको थियो । क्यान कार्यसमितिका १७ मध्ये ६ जनाले कारबाही गर्न नहुने पक्षमा आवाज उठाएका थिए । त्यसरी आवाज उठाउनेमा कार्यसमिति सदस्यहरू छुम्बी लामा, ऋषिराम गौतम, दाउद अन्सारी, करण मल्होत्रा र सञ्जय सिंह हुनुहुन्थ्यो ।
क्यानका कार्यसमिति सदस्य छुम्बी लामा आफूहरूको विरोधका बाबजुद क्यानको आजको निर्णय एकदमै अन्यायपूर्ण भएको बताउनुभयो । ‘नेपाली क्रिकेट यही गतिले कहाँ पुग्छ ? क्यानको अहिलेको भाषा भनेको क्रिकेट नखेल भनेको हो,’ लामाले भन्नुभयो, ‘हामीले बीचको बाटो राखौँ । अर्को समिति बनाएर जित–जितको स्थितिमा जाऔँ । कारबाही निकास होइन भनेका थियौँ । उहाँहरूले सुन्दै सुन्नुभएन ।’
कार्यसमिति सदस्य पाण्डेले खेलाडीसँग सम्बन्धित यति ठूलो निर्णय भर्चुअल माध्यमबाट गर्ने कुरामा आपत्ति जनाउनुभयो । ‘कारबाही समाधान होइन भनेर हामीले पटक–पटक भनेका हौँ,’ उहाँले भन्नुभयो, ‘खेलाडी नै भएन भने क्यानको के अस्तित्व भयो र ? यति ठूलो निर्णय भर्चुअल मिटिङबाटै गर्नुपर्ने होइन । टेबुलमै बसेर गर्नुपर्ने निर्णय थियो । अन्त्यमा उहाँहरूले आफूसँग बहुमत छ भन्दै निर्णय गर्नुभयो । यसमा हाम्रो असहमति रहृयो ।’
केही खेलाडीहरूले पनि क्यानको निर्णयको विरोध गरेका छन् । क्यान बोर्ड बैठकको निर्णयका तलपट्टि ‘आइएम डन टु’ (मलाई पनि पुग्यो) लेख्दै खेलाडीहरूले विरोध गरेका छन् । क्रिकेटरहरू करण केसी, कुशल भुर्तेल, अविनाश बोहरा, रोहित पौडेललगायत खेलाडीले सामाजिक सञ्जालमा ‘आइएम डन टु’ लेख्दै क्यानको निर्णयको विरोध जनाउनुभएको थियो ।
राष्ट्रिय टोलीका व्यवस्थापक विनोद दासले क्यानले कुनै पनि खेलाडीलाई खेल्नबाट वञ्चित नगरेको भन्दै खेलाडीले खेललाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । कसैले पनि कसैकाविरुद्ध तुष बोकेर बस्न नहुने र क्रिकेट विकासमा लाग्नुपर्ने उहाँको सुझाव छ ।
‘अब यसलाई अझै अगाडि बढाउनुको कुनै तुक छ भन्ने मलाई लाग्दैन । खेलाडीहरूलाई अझै पनि क्यानको निर्णय चित्त बुझेको छैन भने क्यानमा आएर उनीहरू प्रष्ट्याइदिन भन्न सक्छन्,’ उहाँले भन्नुभयो, ‘मनमा तुषचाँहि राख्नुहुन्न भन्ने जस्तो लाग्छ । बन्द प्रशिक्षण घोषणा भएको छ । सबैलाई बोलाइन्छ पनि । त्योबेला सबैजना एकै ठाउँमा बसेर राम्रो टिम बनेर खेल्नेमा म विश्वस्त छु ।’
खेलाडीहरूमाथिको कारबाहीको विषयलाई लिएर पूर्व-कप्तान पारस खड्काले यस विषयमा अहिले आफूले बोल्नु हतारो हुने टिप्पणी गर्नुभयो । ‘यो विषयमा खेलाडीहरू नै अगाडि आउनुपर्छ,’ उहाँले भन्नुभयो, ‘मैले अगाडि बोल्दा अनेक अर्थ लगाएर व्याख्या गरिन्छ, खेलाडी र क्यानबीच सौहार्दता हुनुपर्छ।’ टिममा ज्ञानेन्द्रसहित शरद भेषवाकर, विनोद भण्डारी, सोमपाल कामी जस्ता पुराना खेलाडीहरू छन्, जसलाई सन्दीपको नेतृत्व स्वीकार्न कठिन हुने क्रिकेटका जानकारहरू बताउँछन् ।




















