ग्लोबल आइएमई बैंकले बेलायती संस्थाबाट तीन अर्ब ऋण लिने।

काठमाडौं := ग्लोबल आइएमई बैंकले बेलायतको विकास वित्त संस्था सिडिसी ग्रुप (जुन निकट भविष्यमा ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट हुँदैछ) बाट २५ मिलियन अमेरिकी डलर अर्थात् करिब तीन अर्ब रुपैयाँ ऋण लिने सम्झौता गरेको छ । बुधबार बैंकमा आयोजित एक कार्यक्रमबीच ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा सिडिसी ग्रुपका कन्ट्री रिपे्रजेन्टेटिभ रवि रायमाझीले सम्झौतापत्र आदानप्रदान गर्नुभएको हो ।

सिडिसीबाट प्राप्त ऋणले बैंकको कर्जा प्रवाह क्षमता अभिवृद्धि गर्नुका साथै बैंकलाई नेपाल सरकारको प्राथमिकताका क्षेत्र जलविद्युत्, नवीकरणीय ऊर्जा र पूर्वाधार, निर्माण, उत्पादन, कृषि र पर्यटन क्षेत्रसम्बन्धी व्यवसायमा ऋण प्रदान गर्न सहयोग पुग्ने बैंकले जनाएको छ । साथै उक्त ऋणबाट बैंकलाई कोरोनापछिको आर्थिक पुनरुत्थान तथा रोजगारी सिर्जना गर्दै दिगो र समावेशी विकासमा लगानी बढाउन सहयोग पुग्ने बैंकले जनाएको छ ।

सिडिसी ग्रुपका प्रबन्ध निर्देशक तथा एसिया प्रमुख निना गाराजनले नेपाल सधैँ सिडिसीको प्राथमिकतामा रहेको भन्दै नेपालभर शाखा सञ्जाल पुगेको ग्लोबल आइएमई बैंकसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताउनुभयो । बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले विश्वका ७० भन्दा बढी देशमा सञ्जाल रहेको सिडिसीसँगको सहकार्र्यबाट प्राप्त ऋण सहयोगले बैंकको कर्जा लगानी क्षमता अभिवृद्धि हुने र प्राथमिकताका क्षेत्रमा लगानी बढाउन थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपालस्थित बेलायती राजदूत निकोला पोलिटले नेपालमा जलवायु परिवर्तनबाट पर्ने असर कम गर्न तथा कोरोनापछिको आर्थिक पुनरुत्थानमा बेलायत सरकारको सहयोग रहँदै आएको भन्दै सिडिसीले नेपालको वित्तीय संस्थालाई गरेकोे सहयोग बेलायत सरकारको साना तथा मझौला उद्यमलाई जलवायु परिवर्तनका असर न्यूनीकरणमा गरिएको सहयोग प्राप्त गर्न उनीहरूको संस्थागत क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास गर्नुभएको छ ।