कांग्रेस महाधिवेशनस्थलमा भएका फोहोर कार्यकर्ताद्वारा सरसफाइ।

काठमाडौं:= नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्रचारप्रसारका लागि टाँगिएका सामग्रीहरू हटाइएको छ । बुधबार १४आँै महाधिवेशनस्थल भृकुटीमण्डप परिसरलगायत काठमाडौं उपत्यकामा टाँगिएका प्रचारप्रसार सामग्रीहरू केन्द्रीय प्रचारप्रसार समितिले हटाएको हो ।

नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणमा भएको मतगणना र परिणाम सार्वजनिक भएसँगै प्रचारप्रसारका लागि टाँगिएका सामग्रीहरू हटाउनुका साथै प्रदर्शनीमार्गमा भएको फोहोरसमेत सफा गरिएको नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले बताउनुभयो ।

उहाँले प्रचारप्रसारका लागि टाँगिएका ब्यानरलगायत सामग्रीहरूको सरसफाइ थालिएको बताउनुभयो। पार्टीको प्रचारप्रसार समिति अन्तर्गतबाट निर्माण गरिएको स्वागत र शृंगार समितिका संयोजक गोविन्द पुडासैनीलाई टाँगिएका प्रचारसामग्री हस्तान्तरण गरेर सरसफाइ गरिएको हो ।

नेता शर्माले भन्नुभयो, ‘प्रचारप्रसार सामग्रीहरू जति हामीले टाँसेका थियौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको क्रममा प्रचारप्रसार भयो । केन्द्रीय प्रचारप्रसार समितिले उपत्यकाव्यापी जुन एकहप्ते प्रचार अभियान गरेको थियो ।

त्यसक्रममा टाँसिएका सामग्री जति छन्, ती सबै सामग्रीहरू केन्द्रीय प्रचारप्रसार समितिअन्तर्गत सबै साथीहरू मिलेर हामी सरसफाइ गर्ने क्रममा लागेका छौँ । प्रदर्शनीमार्गमा हामीले सबै सामग्री सफाइ गरेका छौँ ।’ मंसिर २४ गतेबाट सुरु भएको नेपाली कांग्रेसको १४औँ महाधिवेशन मंसिर २९ गते बुधबारबाट सकिएको छ ।