काठमाडौं:= नेपाल क्रिकेट संघ (क्यान)ले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित चार क्रिकेटरमाथि कारबाही गरेको छ । क्यानको बुधबार बसेको बोर्ड बैठकले मल्ललाई कप्तान र ऐरीलाई उपकप्तानबाट पदमुक्त गर्ने निर्णय गरेको हो । नयाँ कप्तानको जिम्मेवारी सन्दीप लामिछानेलाई दिइएको छ ।
मल्ल र ऐरीसँगै सोमपाल कामी र कमल सिंह ऐरीलाई २०२२ को सेन्ट्रल कन्ट्र्याकमा शुरुको ६ महिना सहभागी नगराउने निर्णय गरेको छ । खेलाडीको केन्द्रीय सम्झौतालाई लिएर कप्तान मल्लसहित केही सिनियर खेलाडीले सार्वजनीक रुपमा गुनासो गर्नुभएको थियो । खेलाडीको वर्गिकरण बैज्ञानिक र व्यवहारिक नभएको मल्लसहित केही सिनियर खेलाडीको गुनासो थियो ।
सोही विषयलाई लिएर क्यानले खेलाडीसँग स्पष्टिकरणसमेत सोधेको थियो । खेलाडीको स्पष्टिकरण चित्त बुझ्दो नभएको र खेलाडी आचार संहिता पालना नगरेको भन्दै क्यानले कप्तान मल्लसहित खेलाडीमाथि कारबाही गरेको हो ।
बैठकले खेलाडी आचार संहिता उल्लंघनमा मल्लसहित दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीलाई सन् २०२२ को केन्द्रीय सम्झौताबाट सुरुको ६ महिनाको लागि सहभागी नगराउने निर्णय गरेको छ ।
क्यानले राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण आगामी डिसेम्बर २१ देखि पोखरामा सञ्चालन गर्ने निर्णय गरेको छ । साथै नेपाल प्रशिक्षक संघलाई मान्यता प्रदान गर्ने र क्यानका पूर्व उपाध्यक्ष नरेश श्रेष्ठलाई सल्लाहकार समितिको सदस्यमा चयन गर्ने निर्णय पनि गरेको छ ।




















